(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
बुटवल–बेलहिया ६ लेन सडकखण्डको योगिकुटीस्थित आकासेपुलको पश्चिमतर्फको मुखैमा छ ४२ वर्षीया लक्ष्मी पौडेलको भाँडा पसल। म पुग्दा उनी पसल बाहिर मुढामा बसेकी थिइन्।
उनैसँग हामीले गरेको कुराकानी:
पसल चलाएको कति भयो?
पसल चलाएको सात वर्ष भयो। पहिले यहीँ बाटोपारि थियो, वारि सरेको चार वर्ष भयो।
व्यापार कस्तो छ?
अहिले त व्यापार नै छैन। हाम्रो मात्र होइन, कसैको पनि राम्रो छैन। बाटोपारि पसल हुँदा बजारको माहोल राम्रो भएर हो कि व्यापार पनि अलिक राम्रो थियो। वारि सरेपछि व्यापार घटेको छ।
तपाईंको पसलमा केके सामान पाइन्छ?
भान्सा कोठामा चाहिने भाँडाकुँडाका सबै सामान पाइन्छ।
पसल कति समय खुल्छ?
श्रीमान बिहान सात बजेतिर आएर खोल्नुहुन्छ। म बिहानको खाना खाइवरि नौ–दश बजेतिर आउँछु। दिउँसो खाजा बनाउन घर जान्छु। त्यस बेला पनि श्रीमान बस्नुहुन्छ। घर (शान्तिचोक) मा पनि भाँडा पसल छ। आलोपालो गरेर दुईतिर हेर्छौं। बुबाआमा (सासूससुरा) पनि सघाउनुहुन्छ।
तपाईं व्यापार बाहेक अरू के गर्न मन पराउनुहुन्छ?
पूजाआजाका लागि मठमन्दिर जान्छु। पर्यटकीय ठाउँहरू घुम्न पनि मन पर्छ।
कहाँ-कहाँका मन्दिर जानुभएको छ?
यहाँ (बुटवल) वरिपरिका सबैजसो मन्दिरमा गएकी छु। अहिले सबैको नाम त सम्झिन्नँ तर धेरै मन्दिरमा पुगेकी छु।
तपाईंलाई खाने कुरामा केके मनपर्छ?
यस्तो महँगो समयमा पनि यो मिठो र यो नमिठो भनेर हुन्छ र! खान मिल्ने सबै चिज मन पर्छ। नेपालीले खाने दालभात, तरकारी, रोटी, फलफूल सबै मन पर्छ। खानेकुरामा यो धेरै मन पर्ने र यो मन नपर्ने भन्ने छैन।
घरमा कोको हुनुहुन्छ?
सासूससुरा, दुई छोरा, एक छोरी अनि हामी श्रीमान–श्रीमती छौं।
परिवारमा मेलमिलाप कस्तो छ?
मेलमिलाप राम्रो छ। हामी बुढाबुढी (श्रीमान–श्रीमती) दिनभरि पसलमा खट्नुपर्छ। घरको पसल सासूससुरा पनि हेर्नुहुन्छ। खाना पकाउने काम पनि सघाउनुहुन्छ। अहिलेसम्म राम्रो छ।
छोराछोरीबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ?
अहिले छोराछोरी पढ्दै छन्। पढेर जागिर खाएपछि हामीलाई पनि सुख होला। छोरी एमबिए पढ्दैछिन्। उनको बिहे पनि भइसक्यो। ठूलो छोरा इन्जिनियरिङ पढ्दै छ। कान्छो छोरो पनि ११ कक्षामा छ। छोराछोरीबाट अहिलेसम्म सन्तुष्ट छौं।
तपाईंको स्वास्थ्य कस्तो छ?
अहिलेसम्म स्वास्थ्य ठिक छ। औषधि खानुपर्ने कुनै समस्या छैन। त्यस्तो समस्या नदेखियोस् पनि।
निद्रा कस्तो छ?
निद्रा पनि राम्रै छ। दिनभरि घर र पसलको काममा व्यस्त भएर होला साँझ खाना खाएपछि निद्रा लागिहाल्छ।
तपाईंसँग यति बेला ठिक्कको पैसा भए के किन्नुहुन्छ?
अहिले नै किन्न मन लागेको केही पनि छैन। अहिलेसम्मलाई दुई चार पैसा नभएर मन मारेर बस्नुपरेको छैन। मन लागेपछि किनिहाल्छु।
तपाईं सबैभन्दा धेरै खुसी कहिले हुनुभएको थियो?
खुसी त सधैं भइरहन्छु। सम्झिनै पर्दा सात वर्षअघि छोरीले प्लस टु (१२ कक्षा) मा कलेज टप गरेर पास हुँदा सबैभन्दा धेरै खुसी लागेको थियो। सन्तानको सफलतामा बाआमालाई धेरै खुसी लाग्दो रहेछ।
सबैभन्दा धेरै चित्त दुःखेको पनि सम्झना छ कि?
२०७२ सालमा बुवा बित्नुभयो। त्यस बेला धेरै दुःख लाग्यो। उमेर त त्यति धेरै भएको थिएन, ७० वर्षको हुनुहुन्थ्यो। बिरामी भएपछि निको हुनुभएन।
यस्तो नभइदिएको भए हुन्थ्यो भनेर तपाईंको मनमा बसिरहेको कुनै पिर छ कि?
त्यस्तो केही छैन। व्यापार व्यवसाय ठिकै छ। छोराछोरीले राम्रो पढेका छन्। सबै कुरा आफूले चाहेजस्तो त कहाँ हुन्छ र!
तपाईंलाई आफ्नो टोलसमाज कस्तो लाग्छ?
धेरै राम्रो छ हाम्रो टोलसमाज। सबै मिलेर बसेका छौं। सबै सहयोगी छन्।
टोलसमाजको सबैभन्दा राम्रो लाग्ने कुरा के हो?
सरसफाइ सबैभन्दा राम्रो छ। हामी सबै मिलेर नियमित रूपमा सरसफाइ गर्छौं। घरबाहिर सार्वजनिक स्थानमा कसैले पनि फोहोर फाल्नुहुन्न।
टोल समाजको मन नपर्ने कुरा पनि केही छ कि?
मन नपर्ने कुरा त केही पनि छैन।
तपाईंलाई नेपालको राजनीति कस्तो लाग्छ?
राजनीति ठिकसँग चलेको छैन। ठिक चलेको भए जनताले किन दुःख पाउनुपर्ने थिएन। व्यापार व्यवसाय राम्रो चल्ने थियो। सबै रोजगारीमा हुने थिए। युवाहरू स्वदेशमै हुन्थे। अहिले २० वर्ष कटेका युवाहरू गाउँमा भेटिँदैनन्। सबै विदेशमा छन्। यहाँ भएकाहरू पनि विदेश जाने तयारीमा छन्।
तपाईं पनि छोराछोरी विदेश पठाउने सोचमा हुनुहुन्छ?
विदेश पठाउने विचार छैन। विदेश नपठाउने भनेरै धेरै खर्च गरेर पढाउँदै छौं। सकभर विदेश जाने होइन, आफ्नै देशमा काम गर्नुपर्छ। पछि के हुन्छ, अहिले नै के भन्न सकिन्छ र!
तपाईंलाई नेपालका नेताहरूमा को मन पर्छ?
नेता त मलाई कोही पनि मन पर्दैन। राम्रो काम गर्ने कोही भए पो मन पर्नु!
गएको चुनावमा कसलाई भोट दिनुभयो?
भोट त रूखमा दिएको हो।
अहिले चुनाव भयो भने कसलाई भोट दिनुहुन्छ?
चुनाव हुने भएपछि थाहा होला। अहिले नै त कसलाई दिने भन्नु र! कुन पार्टीले कस्तो मान्छेलाई टिकट दिन्छन्, हेरेर दिने हो।
यति बेला सरकारले के गरिदिए हुन्थ्यो जस्तो लाग्छ?
सरकारले सबैलाई रोजगारीको व्यवस्था गरे हुन्थ्यो। जागिर गर्नेलाई जागिरको व्यवस्था गरिदिने र स्वरोजगार हुन चाहनेलाई पनि अवसर दिने काम गर्नुपर्छ। सरकारले उद्योग, व्यापार र व्यवसाय गर्ने वातावरण पनि बनाइदिनुपर्छ। सरकारले जनतालाई पैसा ल्याएर दिनुपर्दैन, वातावरण बनाइदिए हुन्छ।