(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
धनगढी उपमहानगरपालिका–३ की बासिन्दा द्रोपती भट्ट ४८ वर्षकी भइन्। गत साताको एकदिन साँझपख उनकै घरमा हामीले उनका जिन्दगीका सुखदुखका कुराकानी गरेका छौं।
तपाईंको जन्म कहाँ भएको हो?
बैतडीको दोगेडाकेदार, अहिले श्रीकोट गाउँपालिकामा पर्छ। आमाबुबा किसान, ८–१० वटा भैंसी पाल्नुहुन्थ्यो। एक हल गोरु, १५–२० वटा बाख्रा हुन्थे। तिनै जनावरको हेरचाह, घाँसपानी र खेतीपातीको काम हुन्थ्यो।
खेतीको अन्नले खान पुग्थ्यो कि पुग्दैनथ्यो?
आधा वर्षलाई पुग्थ्यो, बाँकी आधा वर्ष किनेर खानुपर्थ्यो। ठूलो परिवार थियो। हजुरबाआमा, ठूलाबाआमा, बाआमा, काकाकाकी, पाँच जना फूपु हुनुहुन्थ्यो। हाम्रा बाआमाका हामी ६ जना सन्तान, तीन बहिनी, तीन भाइ।
तपाईं छोराछोरीहरू स्कुल जानुभयो होला नि?
छोरी स्कुल गएनौं। दुई जना दादा ६ कक्षा पढेर भारत गए। एक दादाले १२ कक्षासम्म पढ्नुभयो, स्कुलमा पढाउनुहुन्छ।
छोराहरू स्कुल जानुभएछ, छोरीहरू किन जानुभएन त?
उः बेला त्यस्तै थियो। चेली (छोरी) मान्छेले स्कुल जानुहुँदैन भन्थे। चेलीले घरको काम गर्नुपर्छ, वस्तुबाख्रा हेर्नुपर्छ भन्थे। छोरी स्कुल गए भने घरमा नराम्रो हुन्छ भन्थे।
तपाईंलाई स्कुल जान मन लाग्थ्यो कि लाग्दैनथ्यो?
दादाहरू गएको देखेर मलाई पनि जान मन लाग्थ्यो नि तर समाज जस्तो छ त्यस्तै हुँदोरहेछ। म दुई महिना स्कुल गएँ। समाजको वातावरणले गर्दा जान छोडेँ।
स्कुल छाड्नुको खास कारण के थियो?
गाउँमा स्कुल जाने छोरी मान्छे नहुने, घरको काम छोरीले गर्नुपर्ने। घरमा कान्छा बुबाकी सानी छोरी थिइन्। उहाँका छोराछोरी जन्मिने तर नबाँच्ने हुँदो रहेछ। बाँचेकी एउटी बहिनीको हेरचाह गर्ने जिम्मा मलाई दिए। छोरीले हेरचाह गर्दा बाँच्छे कि भन्ने आशा गरे।
मेरी आमाले पनि तैँले हेरचाह गर्दा बहिनी बाँच्छे कि भन्नुभयो। मैले स्कुल छोडेर बहिनीको हेरचाह गर्नुपर्यो। गाउँमा साथीहरू पनि स्कुल नजाने, म पनि गइनँ। मैले हेरचाह गरेकी बहिनी पनि गइन। ऊपछिकी बहिनी चाहिँ स्कुल गई।
दुई महिना स्कुल जाँदाको के के सम्झना छ?
हामीले सर (शिक्षक) हरूका लागि एउटा गीत बनाएका थियौं।
‘यो बाटो का झान्या रहेछ पानगोरखा झान्या गैरी डोटी; हरिकृष्ण्या, नारायणान्या, चन्नर्या, कृष्णाय’ भनेर सरहरूको नामको यस्तो गीत थियो।
घरको कामम के के गर्नुहुन्थ्यो?
गाईभैंसी, बाख्रा हेर्ने, घाँस काट्ने, वन खेत जाने; यस्तै काम हुन्थ्यो। यस्तै गर्दागर्दै १७ वर्षको उमेरमा बिहे भइगयो। बिहेपछि आफ्नो घरको जीवन सुरू भयो।
बिहे हुँदाको समय कसरी सम्झिनुहुन्छ?
मागी बिहे भएको हो। केटा माग्न आएको थाहा पाएर म लुकेकी थिएँ। मेरा श्रीमान र ससुरा हेर्न हाम्रो घर आउनुभएको रहेछ। म भैंसी चराउन गएकी थिएँ। मलाई हेर्न आएको थाहा पाएपछि भैंसी गोठमा बाँधेर गोठमै कसैले नदेख्ने गरी लुकेँ। त्यसदिन त्यतिकै भयो। कुण्डली मिलाएछन्। बुबाले ‘हुन्छ’ भन्नुभएछ।
मलाई मागेको दुई वर्षपछि मात्रै बिहे भयो। कुरो टुंगिए पनि उः बेला अहिले जस्तो भेटघाट हुन्थेन। अहिलेजस्तो भए त हाई हेलो हुन्थ्यो होला।
राति बिहे भयो। भोलिपल्ट दिउँसो बिदाइ गरे। बिहेको दिन बेहुली तयार पार्दा खोला गएर साथीहरूले कपाल कोरिदिन्थे। त्यसपछि घरमा लुगाकपडा लगाइदिन्थे। भगवानको पूजा गर्न लगाउँथे। भोलिपल्ट बिदा गर्दा गाउँमा रूवाबासी चल्थ्यो।
बिहेपछिको जिन्दगी कस्तो भयो?
घर गरेर खान अलिअलि दुःख त हुने नै भयो। छोरीले बाआमाको इज्जत राख्नुपर्छ, दुःखसुख खटेर घरमा गरिखानुपर्छ भन्थे। आफ्नो दुःख दुनियाँलाई सुनाउनुहुँदैन भन्थे। आफ्नो दुःख दबाउनु पथ्र्यो, सहनु पर्थ्यो।
सासुससुराको डर; लोग्नेको डर; जेठाजूजेठानी र घरका सबैको डर मान्नुपर्थ्यो। मलाई दुःख भएको कुरा श्रीमानले थाहा पाउनुहुन्थ्यो। उहाँ कुरा बुझ्ने हुनुहुन्थ्यो। बिहेपछि परिवारसँग १२ वर्ष काटें, त्यसपछि श्रीमानले आफूसँग लैजानुभयो।
श्रीमान के काम गर्नुहुन्थ्यो?
शिक्षक हुनुहुन्थ्यो, अहिले पनि पढाउनुहुन्छ। बिहे हुँदा ११ कक्षामा पढ्नुहुन्थ्यो। बिहे भएको पाँच वर्षपछि करारमा पढाउन थाल्नुभयो। त्यसको नौ वर्षपछि स्थायी हुनुभयो। उहाँले मलाई डेढ वर्ष डडेल्धुराको बगरकोटमा राख्नुभयो। मैले श्रीमानलाई म यसरी खाली बस्नु हुँदैन, शरीरमा ताकत भएका बेला काम गर्नुपर्छ, म गाईभैंसी पाल्छु भनें।
म गाईभैंसी पालेर हुर्केकी, मेरो कुरामा श्रीमान पनि सहमत हुनुभयो। त्यही बेला बगरकोटबाट जोगबुढामा श्रीमानको सरूवा भयो।
जोगबुढामा एक जनाको जमिन अँधियामा लियौं। तीन रोपनी जमिन र एउटा छाप्रो थियो। त्यही छाप्रोमा दुःखले दुई वर्ष काटेपछि ११ कठ्ठा जमिन किन्यौं। त्यहाँ पनि पत्थरले छाएको सानो घर थियो।
त्यहाँ गाईभैंसी र बाख्रा पालें। मामाघरका गोरु ल्याएर जोताउँदै खेती गरें। छोराछोरी पनि ठूला हुँदै गए। त्यही ठाउँमा नौ वर्ष जिन्दगी काटेर धनगढीमा जमिन किन्यौं, घर बनायौँ।
जिन्दगीमा धेरै दुःख खटें। अहिलेका मान्छे तनाव भयो, डिप्रेसन भयो भन्छन्। मलाई त दुःख भयो, तनाव भयो भन्ने सोच कहिल्यै पनि आएन। दिन फर्केला, राम्रो दिन आउला भनेर आशा राखें। अब त धनगढीमा बसेको पनि १० वर्ष भयो।
घर बनाउन कतिको संघर्ष गर्नुपर्यो?
श्रीमानले पनि धेरै दुःख गर्नुभयो। मैले गाईभैंसी पाले, खेती गरें, केटाकेटी हुर्काएँ। धनगढीमा बसेर श्रीमानले एक्लै घर बनाउनुभयो, म आउन पाइनँ। जोगबुढाको घरजग्गा बेचेपछि मात्रै धनगढी आएँ।
धनगढी आएपछि के काम गर्नुभयो?
धनगढीमा हाम्रो घरबास मात्रै हो। गाईभैंसी, बाख्रा पाल्न, खेती गर्न आफ्नो जमिन छैन। अहिले घरभित्रकै काममा जीवन बितिरहेको छ।
छोराछोरी हुर्काउन कत्तिको दुःख भयो?
हाम्रा एक छोरा र एक छोरी हुन्। छोराछोरीको पालनपोषणमा श्रीमानले पनि दुःख गर्नुभयो। मैले गाईभैंसी पालें; दही, दुध, घिउ बेच्थें। घाँस लिन धेरै टाढा जानुपर्थ्यो। उः बेला घिउ धेरै बिक्री हुन्थ्यो। खसी पनि बेच्थें।
मेरो कामले छोराछोरी पढाउन सजिलो भयो। छोराछोरीलाई सरकारी स्कुलमा पढायौं।
छोराछोरीबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ?
दुबै जनाले मेहनत गरेर पढे। छोरीले त खानेबाटो गरिसकिन्। छोराको पढाइ चल्दैछ। उसले पनि राम्रो गर्छ भन्ने आशा छ।
अहिलेको दिनचर्या कस्तो छ?
अहिले पनि एउटा भैंसी पाल्ने थिएँ जस्तो लाग्छ तर ठाउँ छैन। उचित वातावरण पनि छैन। अहिले त घरको मात्रै काम गर्छु। घर बनाउँदा कर्जा लाग्यो। अहिले आधा घर भाडामा छ त्यहाँबाट पनि खर्च चल्छ। श्रीमान जोगबुढामै पढाउनुहुन्छ।
तपाईंलाई मर्ने काम के हो?
मलाई त भजनकीर्तनमा जान मन पर्छ। सानी छँदा भजनकीर्तनमा जान्थें। म ठूलो परिवार हुर्केकी, बेलुका भजनकीर्तन हुन्थ्यो। गाईभैंसी पाल्ने काम पनि राम्रो मान्थें तर यहाँ छैन। काम गर्न गाह्रो मान्दिनँ।
तपाईंलाई मनपर्ने खाना के हो?
भैंसी ब्याएको बेलाको बिगौता खान खुब मनपर्थ्यो। अझै पनि खान मन लाग्छ तर कहाँ पाउनु र!
बिगौता नखाएको कति भयो?
धेरै भयो, २५ वर्ष भइसक्यो। अब त खान चाहेर पनि पाइँदैन। आफू भैंसी पाल्न सकिँदैन।
पारिवारिक मेलमिलाप कस्तो छ?
धेरै राम्रो छ। केही समस्या छैन।
तपाईंको स्वास्थ्य अवस्था कस्तो छ?
कहिलेकाहीं घुँडा दुख्छन्। कहिलेकाहीँ पनि टाउको दुख्छ। औषधी खानुपर्छ।
तपाईंको निद्रा कस्तो छ?
ठिकै छ, निद्रा कम हुँदै छ। बिहान तीन–चार बजे नै निद्रा खुल्छ।
तपाईं कहिले धेरै खुसी हुनुभयो?
यही वर्ष छोरी शिक्षक सेवा आयोग पास गरेर शिक्षक हुँदा धेरै खुसी लाग्यो। कहिल्यै नबिर्सिने खुसी यही हो। धनगढीमा घर बनाउँदा पनि धेरै खुसी भएकी थिएँ। सधैंको खुसी भनेको श्रीमानको साथ हो। उहाँको साथले मलाई हरेक दिन खुसी दिन्छ।
माया नै माया छ हाम्रो। पहिलो भेटमा जस्तो माया थियो त्यस्तै छ अहिले पनि। छोराछोरीले पनि हामीलाई हेरेर भन्छन्- तपाईंहरूजस्तो जोडि त संसारमै नहोला।
जिन्दगीमा धेरै चित्त दुःखेको केही छ कि?
स्कुल जान पाइनँ। पढ्न नपाउँदा चित्त दुखेको छ।
यसो भइदिएको भए हुन्थ्यो तर भएन भनेर मनमा गढेर बसेको केही चिन्ता छ कि?
छोरीले जागिर पाएजस्तै छोराले पनि पनि पढाइ पूरा गर्नासाथ जागिर पाए हुन्थ्यो। त्यसपछि बुहारी भित्र्याएर छोराको घरजम गरिदिन पाए पुग्यो। मनमा केही पनि चिन्ता छैन।
यति बेला तपाईंसँग ठिकठिकै पैसा भए के किन्नुहुन्थ्यो होला?
नौगेडी लगाउने मन छ। त्यही किन्ने थिएँ।
तपाईंलाई आफ्नो टोलसमाज कस्तो लाग्छ?
ठिकै लाग्छ। आफ्नो चलन र रितिरिवाज मानेको, मेलमेलिाप भएको, बाँडीचुँडी खाएको, एकअर्कालाई सहयोग गरेको राम्रो लाग्छ। साथीहरू सबै राम्रा छन्।
समाज भनेको आफूमा पनि भर पर्छ। समाजमा आफूले राम्रो गरे राम्रो र नराम्रो गरे नराम्रो हुने हो।
राजनीतिमा कत्तिको चासो छ?
राजनीति त खासै बुझ्दिनँ। आफूले मनबाट जानेको भए पो बुझ्नु! धनगढीमा मेयर गोपाल हमालको तारिफ छ। तारिफ पाएअनुसार काम गरेको देखिन्छ।
तपाईंलाई देशमा मनपर्ने नेता को हो?
म नेताका बारेमा केही पनि जान्दिनँ। काम जसले राम्रो गरेको छ उही नेता मन पर्ने हो। राम्रो काम गरेको छ भने फेसबुकमा पनि देखिन्छ। बालेनको र गोपाल हमालको चर्चा राम्रो छ। मैले अरू नेता चिनेको छैन। हाम्रो नेता गोपाल हमाल नै हो।
यति बेला सरकारले के काम गरिदिए हुन्थ्यो जस्तो लाग्छ?
सरकारले पहिलाभन्दा राम्रो काम गरेको छ। पहिला पानी ल्याउन टाढा जानुपर्थ्यो। अहिले घरघरमा धारा छन्, बिजुली छ, बाटो छ। यत्तिले मात्र पुग्दैन। देशमा सबैलाई रोजगारी हुने काम गर्नुपर्छ।
अहिलेसम्ममा कति पटक भोट दिनुभयो?
चार पटक भयो। पहिला जोगबुढा हुँदा सबैले आँसी–हतौडा (हँसिया–हतौडा) मा भोट हाल्न भने, मैले पनि त्यसमै हालिदिएँ।
गएको चुनावमा कसलाई भोट दिनुभयो?
गएको चुनावमा स्वतन्त्रका उम्मेदवार गोपाल हमाललाई।
पहिला पार्टीलाई भोट दिनुभएको रहेछ, पछि किन स्वतन्त्र उम्मेदवारलाई दिनुभएको?
गोपाल हमालले काम गर्छन् भन्ने सबैले आशा भएकाले उनलाई जिताउन मैले पनि भोट दिएकी हुँ। उनले राम्रो काम गरेका छन्।
आउने चुनावमा कसलाई भोट दिनुहुन्छ?
जसले चित्त बुझ्ने काम गरेको हुन्छ, उसलाई दिने हो। स्थानीयदेखि केन्द्रसम्मको चुनावमा काम हेरेर मात्र भोट दिने हो।