(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
यसै साताको एक साँझ बुटवल, प्रगतिनगरमा सात जना महिला घरको पेटीमा बसेर गफ गर्दै थिए। त्यही समूहमा थिइन् ६२ वर्षीया राजकुमारी विश्वकर्मा। हामीले तिनै राजकुमारीसँग कुरा गरेका छौं।
के छ हालखबर, सन्चै हुनुहुन्छ?
अहिलेसम्म बाँचिएको छ।
के काम गर्नुहुन्छ?
के काम गर्नु र! छोराले कमाएर ल्याउँछन्, बुहारीले पकाउँछिन्, म खान्छु।
घरखर्च कसरी चलेको छ?
छोरा (दीपक विश्वकर्मा) सुन पसलमा काम गर्छन्। एक जनाको कमाइले दुःखसुख परिवार चलेको छ।
तपाईंलाई मनपर्ने काम के हो?
मलाई त सिलाइबुनाइ गर्न मन लाग्छ। आफूले लगाउने लुगा आफै सिउँछु। गाउन, पेटीकोट, मिड्डी सिउन जानेकी छु। घरमा हाते मेसिन छ, त्यही चलाउँछु।
सिलाइ पसल खोल्न मन लागेन?
मैले रहरले आफै मेसिन चलाएर सिउन जानेकी हुँ। पसल नै खोलेर व्यवसाय गर्छु भन्ने भएको भए अरू लुगा पनि सिउन सिक्थें होला। बाहिर कतै गएर सिकेको होइन। पसल खोल्नेतिर ध्यान गएन।
अहिले त उमेरमै सिलाइको काम सिकेर पसल खोलेको भए हुने रहेछ जस्तो लाग्छ। समय गइसकेपछि के गर्नु र!
तपाईंलाई के खान बढी मन लाग्छ?
खानेकुरामा सबैभन्दा मन लाग्ने लछ्छा–परौठा हो। जे खान हुँदैन त्यही खानेकुरा मन पर्ने रहेछ। लछ्छा–परौठा बनाउन धेरै घिउ चाहिन्छ, अहिले घिउ खानै हुँदैन।
म २५ वर्ष भारतको पञ्जावमा बसें। उता बस्दा धेरै घिउ तेल खाने बानी परेको थियो अहिले भुटुन नहालेको सादा दाल तरकारी खानुपर्छ।
तपाईंको स्वास्थ्यमा के समस्या छ?
म त डेढ महिना पहिले झन्डै मरेकी नि! तुरून्त अस्पताल नलगेका भए त मर्ने रहेछु।
के समस्या भएको थियो?
एक्कासि बेहोस भएर ढलेँ। तुरून्त बुटवलको मुटु अस्पतालमा लगेर उपचार गराए। उपचारले ज्यान त जोगियो तर सधैंभरि औषधि खानुपर्ने बोझ भयो। ऋणको भारी थपियो।
छरछिमेकी र मेरा दिदीबहिनीको सहयोगले उपचार त भयो तर दैनिक औषधि खानुपरेको छ। औषधि खान पनि (आर्थिक) गाह्रो भएको छ।
पहिले पनि मुटुको कुनै समस्या थियो कि?
पहिले त केही पनि थाहा थिएन। जँचाउन पनि कहिल्यै गएको होइन। एक्कासि बेस्सरी छाती दुख्यो, म त बेहोस भएर पल्टिएछु। अस्पताल लगेपछि मुटुको रोग (हृदयाघात) भएको भन्ने थाहा भयो।
अहिले महिनाको ६ हजार (रुपैयाँ) भन्दा बढीको औषधि खानुपर्छ। अस्ति भर्खर पनि अस्पतालमा मुटु जाँच गराएर आएकी हुँ। डाक्टरले मुटु राम्रो हुँदै गएको छ, नआत्तिनू भनेका छन्। दम पनि सुरू भएको छ। दमको पनि औषधि तान्नुपर्छ।
रातमा निद्रा कस्तो छ?
त्यति राम्ररी निद्रा लाग्दैन। मन डराएजस्तो भइरहन्छ। तिजभरि वरिपरि छिमेकमा मादल बजाएर गीत गाउँदा मलाई घरमा बस्दा पनि मन आत्तिएजस्तो भयो। मादल र गीत बजेको थर्कोले मेरो मुटु नै उफ्रिएजस्तो भयो। अलिकति ठूलो आवाज आयो भने पनि आत्तिन्छु। मुटु ढुकढुक हुन्छ, सास रोकिएजस्तो हुन्छ।
घरमा कोको हुनुहुन्छ?
एक छोरा, बुहारी र नातिनातिनी छन्। दुई वटी छोरीको बिहे भएर आफ्नै घरमा छन्। छोरीहरू तीन जना हुन् तर जेठी छोरी पनि २०७५ सालमा बितिन्। उनलाई मुटुकै समस्या (हृदयाघात) भएको थियो। श्रीमान (मंगलसिंह विश्वकर्मा) पनि २०५३ सालमै बित्नुभयो। भारतको पञ्जाबमा हुनुहुन्थ्यो। जम्मा ४२ वर्षको उमेरमा मुटुकै समस्या (हृदयाघात) भएर बित्नुभयो।
छोराबुहारीले कत्तिको खुसी दिएका छन्?
धेरै राम्रो गरेका छन्। छोराबुहारीकै स्याहारसुसारले बाँचेकी छु। सबै रेखदेख गरेका छन् र बरू म आफै कचकच गरिरहन्छु।
तपाईंलाई ठिक्क पैसामा यस्तो चिज किन्न पाए हुन्थ्यो भन्ने के छ?
किन्न मन छ नि!
के किन्न मन छ?
मर्ने बेलामा सुनपानी खानलाई भए पनि कानमा सुनको टप लगाउने ठूलो इच्छा छ। पहिले कानमा ठूला टप लगाएकी थिएँ। नाति १० कक्षामा पढ्दा स्कुलको फिस तिर्ने पैसा नभएर छोरालाई त्यही टप दिएँ। तीन वर्षअघि हो, छोराले टप बेचेर फिस तिर्यो।
अहिले बजारिया टप किनेर लगाएकी छु। मर्ने बेलासम्म सुनको टप लगाउन पाए अरू केही पनि चाहिने थिएन।
तपाईं सबैभन्दा धेरै खुसी कहिले हुनुभएको थियो?
खुसी भन्ने कुरा त मेरो नसिबमै थिएन जस्तो लाग्छ। माइतीमा छँदा कहिल्यै दुःख भोग्न परेन। बुबा ब्रिटिस आर्मीको लाहुरे, धन पैसाको अभाव भएन।
बिहेपछि दुःख सुरू भयो। म ३३ वर्षकी हुँदा श्रीमान बित्नुभयो। एक्लै भएपछि छोराछोरी कसरी हुर्काउने भन्ने भयो। श्रीमान बितेपछि आमाले दुई चार हजार (रुपैयाँ) दिएर सघाउनुहुन्थ्यो।
२०७२ सालमा आमा पनि बितेपछि सहारा गर्ने कोही भएन। हुनेखानेकी छोरी भए पनि बुबाआमा नभएपछि दाजुभाइले नहेर्ने रहेछन्। माइती हुनेखाने भए पनि मेरो त कमाउने मान्छे नै छैनन्।
श्रीमानले प्राइभेट कम्पनीमा काम गरेको भएर पेन्सन पनि भएन। एउटा छोराले कमाएर नातिनातिनीलाई पढाउनुपर्यो, पाँच जनाले खान पर्यो। त्यसैमा मेरो औषधि थपिएको छ। खुसी र सुखी भन्ने दिन त कहिल्यै आएन।
दुःखकै बीचमा भए पनि २०६१ सालमा छोराको बिहे भयो, ६२ सालमा नाति जन्मियो। त्यति बेला खुसी भएकी थिएँ।
केमा सबैभन्दा धेरै चित्त दुःखेको छ?
बैंसमै श्रीमान बित्नुभयो, छोरी मेरै अगाडि बितिन्। त्योभन्दा ठूलो दुःख के हुनु छ र!
कहिलेकाहीँ धेरै चित्त दुःखेको छ। एकपटक छिमेकी दिदीबहिनीसँग भारतको वैष्णुदेवी (तीर्थ) जाने सल्लाह भएको थियो, १०–१२ वर्षअगिाडि। मसँग पैसा थिएन। माइतमा भाइबुहारीसँग १० हजार (रुपैयाँ) ऋण मागेकी थिएँ।
छोरीहरूले दुईजोर कुर्तासुरूवाल किनिदिए, जुत्ताचप्पल पनि किनिदिए। भोलि बिहान हिँड्ने भनेर सबै चिज तयार पारेर भाइबुहारीसँग पैसा लिन जाँदा पैसा त सबै बैंकमा डिपोजिट गरेँ, साथमा कत्ति पनि छैन भनिन्। त्यतिबेला साह्रै चित्त दुख्यो। श्रीमान नभएर साँच्चै विधुवा भएको अनुभव भयो।
अप्ठ्यारो पर्दा अरूबाट कत्तिको सहयोग पाउनुभएको छ?
दिदीबहिनीबाट सहयोग हुन्छ। हामी ६ दिदीबहिनीमध्ये म माइली हुँ। दिदीबहिनीका छोराहरू विदेशमा छन्। उनीहरू कसैले २० हजार, कसैले १० हजार सहयोग गरेर उपचार गरेको हो।
तपाईंको मनमा गढेर बसेको कुनै पिर छ कि?
श्रीमान र छोरी बितेको दुःख भोगिसकेँ। अहिले आफू बिमार नपरेको भए हुन्थ्यो भन्ने लाग्छ। बरू उनीहरू जस्तै मलाई पनि कालले स्वाट्टै लगेको भए हुन्थ्यो, अहिले छोरालाई ऋणको भारी त थपिने थिएन!
तपाईंलाई आफ्नो टोल समाज कस्तो लाग्छ?
टोलसमाज त आफू अनुसार हुने हो। आफू गतिलो भए टोल समाज पनि गतिलो हुन्छ, आफू अगतिलो भए त्यो पनि अगतिलो हुन्छ। म टाढा कतै जाँदिनँ। नजिकका घरहरूमा जान्छु, वरिपरिका सबै ठिक छन्।
टोल समाजको सबैभन्दा राम्रो लाग्ने के हो?
सुखदुःखमा एकअर्कालाई साथ दिन्छन्, त्यही नै हो राम्रो कुरा।
सुधार्नुपर्ने कुरा पनि केही छ कि?
नगरपालिका, वडा कतै केही तालिम आए पनि हामी एकल महिलालाई कसैले थाहा दिँदैन। त्यसो गरेको मन पर्दैन। टोलमा आएको कुरा त सबैले थाहा पाउनुपर्ने हो नि तर हामीलाई थाहै हुँदैन।
चुनाव आएको बेला यहाँ भोट हाल्नु भन्दै पर्चा बोकेर घरघरमा आउँछन्। अरू बेला सबै तर्केर हिँड्छन्। यस्तो गरेको मन पर्दैन।
तपाईंलाई नेपालको राजनीति कस्तो लाग्छ?
नेपालको राजनीति त फोहोरी लाग्छ। अहिलेसम्म राजनीतिमा कोही राम्रा मान्छे आएजस्तो लाग्छ र तपाईंलाई! फटाइँगिरी नगरी राजनीति नै हुँदैन। राम्रो मान्छेलाई टिक्न दिँदैनन्, बैमानहरूले जित्छन्। पैसा दिएर भोट किन्ने राजनीति कस्तो होला, तपाईं आफै भन्नुहोस् त!
नेपालका नेताहरूमा को मन पर्छ?
मनपर्ने नेता त बालेन शाह हुन्। अरू त सबै उस्तै हुन्।
गएको चुनावमा कसलाई भोट दिनुभयो?
भोट त विष्णु पौडेललाई दिएको हो। सुख्खानगरमा हुँदा हामी छिमेकी थियौं। उनले बुटवलमा विकास पनि गरेका छन्। उनलाई भोट नदिए त पाप लाग्छ।
अहिलेको अवस्थामा चुनाव भए कसलाई दिनुहुन्छ?
अहिले चुनाव भए पनि उनैलाई दिने हो। जहिलेसम्म उनी उठ्छन्, भोट अरूलाई नदिने।
यति बेला सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
सरकारले हामीजस्ता एकल महिलालाई खानेबस्ने व्यवस्था गरिदिए हुन्थ्यो। सबै एकल महिलालाई घरपरिवारले राम्रो व्यवहार गरेका नहुन सक्छन्। त्यस्ता महिलालाई लाउनेखाने र दबाई पानीको व्यवस्था सरकारले गरिदिए हुन्थ्यो।