(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
हामी मेघौलीस्थित थारू सामुदायिक होमस्टेमा बसिरहेका थियौं। सोमकुमारी महतो एक प्लास्टिक भुरा माछा समातेर आइपुगिन्। उनले खेतमा धान गोड्न जाँदा माछा समातेकी रहिछन्। केहीबेरमा त्यसको खाजा तयार पारेर होमस्टेका पाहुनालाई खुवाइन्। हामीलाई महतोसँग गफ गर्न मन लाग्यो। तर सुरूमा उनी तर्किइन्। श्रीमानले थारू भाषामा केही कुरा भनेपछि बल्ल उनी हामीसँग गफ गर्न तयार भइन्।
उनीसँगको कुराकानी :
माछा मार्न सधैं जानुहुन्छ?
सधैं त जाँदिनँ। खेतमा गएको बेलामा सकेसम्म माछा पनि लिएर आउँछु। पाहुनाले मन पराउनुहुन्छ।
समात्न गाह्रो हुन्छ होला नि?
हामीलाई बानी परिसक्यो। सुरूमा गाह्रो हुन्थ्यो। सिक्दै गएपछि जुन काम पनि सजिलो लाग्न थाल्छ।
कति जमिनमा खेती गर्नुहुन्छ?
८ कट्ठा बारी, साढे ३ कट्ठा खेत छ। १० कट्ठा ठेक्कामा पनि गर्छौं।
होमस्टे र खेतको काम आफै कसरी गर्नुहुन्छ?
समय मिलाएर गर्ने गरेका छौं। पाहुना नहुँदा, कम हुँदा खेतको काम गर्छौं। पाहुना धेरै हुँदा होमस्टेकै काम भ्याइनभ्याई हुन्छ। नभ्याउँदा खेताला लगाउँछौं।
खेतबारीमा के लगाउनुहुन्छ?
धान, मकै, तोरी, तरकारीहरू लगाउँछौं।
भनेपछि काम गर्ने जाँगर राम्रै चलेको छ?
जाँगर त चलाउनै पर्यो नि। यति जाँगर चलाएन भने त गाउँमा बसेर कसरी खान सकिन्छ र!
उमेर कति भयो तपाईंको?
खोई कति भयो कति थाहा छैन। नागरिकता हेर्यो भने ४५ पुगिस् भन्छ।
परिवारमा को को हुनुहुन्छ?
श्रीमान, सासू, २ छोरी, १ छोरा छौं।
जिन्दगीमा सुख, दुःख कस्तो भइरहेको छ त?
सुखै छ भन्छु। छोरा छोरीले पढेर सके। जागिर गरिरहेका छन्। जेठी छोरीको बिहे भइसक्यो। फार्मेसीमा काम गर्छे। कान्छी छोरी एकाउण्टेण्टको काम गर्छे। छोरो ल्याबमा गर्छ। हामी श्रीमान, श्रीमती यतै कहिले खेतमा, कहिले होमस्टेमा काम गरिरहेका छौं। जिन्दगी राम्रै चलेको छ। मिलेर चलाउँछौं सबै।
छोराछारीबाट राम्रो भएको छ?
हामीलाई त धेरै राम्रो छ। घरमा आउँदा छोरा मेरो कपडा पनि धोइदिन्छ। छोरीहरूले पनि राम्ररी सहयोग गर्छन् घरमा आउँदा। यहाँभन्दा के चाहियो र हामीलाई।
तपाईंहरूको आम्दानी कस्तो हुन्छ?
होमस्टेबाट महिनामा ४०–५० हजार बचाउन सकिएको छ। घरखर्च, व्यवहार सबै यसैबाट चलेको छ।
छोराछोरीले पनि आर्थिक सहयोग गर्छन् होला नि?
श्रीमान पहिले १० वर्ष मलेसिया बसेर काम गर्नुभयो। त्यहीँको कमाइले छोराछोरीलाई पढाइयो। श्रीमानको कमाइजति सबै उनीहरूलाई पढाउने र घर खर्च गर्ने गरेरै सकियो। मैले यता हाँस, कुखुरा पाल्थें। रक्सी पार्थें। ती बेचेर पनि अलिअलि कमाइ हुन्थ्यो। ६ वर्षदेखि होमस्टे चलाइरहेका छौं। हाम्रो कमाइले हामीलाई पुगेको छ। छोराछोरीलाई आफूले कमाएको आफैले बचत गर भनिदिएका छौं।
श्रीमानले कत्तिको सघाउनुहुन्छ? मेलमिलाप कस्तो छ?
मिलेर काम गरेका छौं। श्रीमान, श्रीमतीको कहिलेकाहीँ त झगडा भइहाल्छ। झगडा प्रायः कामको बेलामा पर्छ, कसले गर्ने भनेर। काम गरेन भने झगडा भइहाल्छ। काम गरिरहेको बेलामा करायो भने मैले जितिहाल्छु। काम त बढी मैले नै गर्ने हो।
पाहुना कतिको आउँछन् होमस्टेमा?
प्रायःजसोदिन पाहुना हुन्छन्। कहिलेकाहीँ त धेरै भएर अरूमा पठाउँछौं।
तपाईंलाई मनपर्ने काम के हो?
मलाई जे काम गर्यो त्यही मनपर्छ। पहिले खेतबारीमा मात्रै गर्दा त्यही मन पर्थ्यो। अहिले होमस्टेमा पनि सबै काम गर्छु। यही राम्रो, सजिलो छ।
मनोरञ्जनतिर कत्तिको रूचि छ?
रमाउने इच्छा त सबैको भइहाल्छ नि। मलाई पनि गीत गाउन, नाच्न रमाइलै लाग्छ। थारू समुदायको साँस्कृतिक कार्यक्रमहरूमा सहभागी हुन्छु। मुख्य गायकले गाउने गीतलाई पछ्याउने भूमिका मेरो हुन्छ। यसबाट आम्दानी पनि हुन्छ। जम्मा भएको पैसा समूहकाले बाँडेर लिने हो। चाडपर्वहरू जितियामा झाम्टा, फागु पूर्णिमामा होली, लाठी नाच पनि नाच्छौं। त्यसबाहेक नेपाली, हिन्दी गीतहरू पनि मन पर्छ। अल्ली अघि हाम्रो गाउँमा मेघौली कि बेहुली फिल्म खिचेका थिए। त्यसमा हाम्रो पनि खिचेका छन्। फिल्ममै पनि देखिन्छ होला अब।
कुनै फिल्म हेर्नुभएको छ कि छैन?
हलमा गएर हेरेको छैन। मोबाइलमा हेरेको छु अलिअलि। हेर्न लाग्यो पाहुना आइहाल्छन् आधामै छोडेर कामतिर लाग्नुपर्छ। पूरै हेर्नै पाउँदिनँ।
तपाईंलाई के खान मनपर्छ?
मलाई मनपर्ने त साग, आलु हो। बजारतिरको खासै मन पर्दैन। बजार जाँदा कहिलेकाहीँ परौठाहरू खान्छु। ठीकै लाग्छ।
स्वास्थ्य कस्तो छ तपाईंको?
स्वास्थ्य ठीकै छ। पहिले हात झमझमाउँथ्यो। थारूका गुरौहरूलाई देखाएँ, अस्पताल गएर औषधि पनि खाएँ। ठीक भएन। आगोले पोलेजस्तो हुन्थ्यो खुट्टा। गाउँका मान्छेले परमेश्वर पिताले ठीक गर्छन् भनेर प्रार्थनातिर गएँ। त्यसबाट बिस्तारै निको भयो। अचेल ठीक छ। अचेल प्रार्थना गर्न बाहिर जान्नँ। आफ्नो स्वास्थ्यका लागि मात्रै घरमै बसेर गर्छु।
पहिले खाएकै औषधिले काम गरेको हो कि?
खोइ त्यो त थाहा भएन। खाएको धेरै समयसम्म निको भएन।
निद्रा कत्तिको लाग्छ?
निद्रा मज्जाले लाग्छ। काम सकेर सुतिहाल्छु। तनाव छैन, निद्रा लागिहाल्छ।
ठिक्क पैसाको के किन्न मन छ?
मलाई खाने, लगाउने कुरामा रूचि छैन। लगाउने कुरा जति पनि घरमै छ। छाराछोरीले पनि ल्याइदिन्छन्। पैसा भयो भने घर अल्लि ठूलो बनाउन मन छ।
तपाईंलाई सम्झना छ, अन्तिम पटक तपाईं कहिले धेरै खुसी हुनुभएको थियो?
म सधैं खुसी छु। यही कारणले खुसी भएँ भन्ने याद छैन।
दुःखी भएको याद छ?
श्रीमान विदेश हुँदा दुःख लाग्थ्यो। यता छोरा छोरी पढाउने बेला पनि त्यही थियो। त्यो समयमा धेरै दुःख गरें मैले।
तपाईंको मनमा बसिरहेको, पिरोलिरहेको वा तपाईंले आशा गरिरहेको यस्तो भएदेखि हुन्थ्यो भन्ने केही छ?
सबैको भलो भए हुन्थ्यो। अरू त के भनौं र खोई।
आफ्नो समाज वा टोल छिमेक कस्तो लाग्छ, के कुरा मन पर्छ, के मन पर्दैन?
यही टोलमा बसेर यतिको भयौं। राम्रै छ भन्छु। नराम्रो केही छैन।
देशको राजनीति बुझ्नुहुन्छ?
राजनीति भनेको सुनेको छु। सबैले यस्तो राजनीति भयो, उस्तो भयो भन्छन्। तर के हो थाहा छैन।
नेता, राजनीतिक दलहरू चिन्नुभएको छ?
बुढाले समाचार सुनेको बेलामा सुन्छु म पनि। समाचारले सबैले नराम्रो गरेकोमात्रै सुनाउँछ। एमालेले बुढाबुढीलाई भत्ता दिने बनायो भनेको सुनेकी थिएँ। त्यसबाहेक अरूले राम्रो गरेको थाहा छैन। अचेल धेरैतिर बालेन शाहको चर्चा भएको छ। त्यो एक्लो मान्छेले कति दिन गर्न सक्ला र। पछि त ऊ पनि उस्तै हुने होला।
गत चुनावमा कसलाई भोट हाल्नुभयो?
मैले त सधैं कांग्रेसलाई भोट हालेको छु।
कांग्रेसका नेता को चिन्नुहुन्छ?
गाउँमा मायाराम महतो हुनुहुन्छ। माथि पहिले गिरिजा भन्ने थे। अरू चिन्दिनँ।
कांग्रेसले गरेको के काम राम्रो लाग्यो?
काम त केही गरेको छैन। पहिलेदेखि त्यसमा हालेको अन्त हाल्न मन लाग्दैन भोट।
अब चुनाव भयो भने कसलाई भोट दिनुहुन्छ?
कांग्रेसलाई नै दिने हो फेरि।
सरकारले के गरे राम्रो हुन्थ्यो भन्ने लाग्छ तपाईंलाई?
नेपालतिरै धेरै उद्योगहरू खोलेर जागिर दियो भने बच्चाहरू जागिर भनेर विदेश जान पर्थेन। आफ्नै देशमा परिवारसँग बसेर काम गर्न पाउँथे। दुःख कम हुन्थ्यो जस्तो लाग्छ।