(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
जनकपुरधाम उपमहानगरपालिका–८, दशरत तलाउको किनारमा चौतारामा बसेर गफिँदै थिए ६० वर्षीय जिवछ भगत। उनको घर पनि यहीँ तलाउको नजिकै छ। उनी दिनहुँजसो यही चौतारामा आउँछन् र साथीहरूसँग गफ गर्छन्। गफका विषय अनेक हुन्छन्– समाज, राजनीति, खेलकुद, उपमहानगरको गतिविधि इत्यादि। उनै जिवछसँग हामीले कुराकानी गरेका छौं:
तपाईं के काम गर्नुहुन्छ?
म खेलकुदमा कराते प्रशिक्षक थिएँ। अवकाश पाइसकेको छु, दुई वर्ष भयो। अहिले कराते महासंघको प्रदेश उपाध्यक्ष हुँ।
खेल जीवनको उपलब्धि कस्तो रह्यो?
प्रशिक्षकका हिसाबले सफल नै भएजस्तो लाग्छ तर हाम्रो देशमा स्रोत साधनको अभाव र सरकारको उदासिनताका कारण धेरै प्रगति देखिएन। नेपालमा खेलकुदमा सरकारको एक पक्ष के राम्रो थियो भने खेलाडीको अनुपातमा धेरै कोच बहाली गरेको थियो तर तलब स्केल धेरै कम।
मलाई त खेलकुदमा अहिलेको भन्दा राम्रो काम पञ्चायतकालमा भएको थियो जस्तो लाग्छ।
अहिले कस्तो छ खेलकुदको अवस्था?
अहिले अवस्था खस्किएको छ। रोजगारीका लागि खाडी मुलुक खुला भएपछि खेल्ने उमेरका युवाहरू उतै गए। यही कारणले नेपालको खेलकुद खस्किँदै गयो। देशमा बेरोजगारी धेरै छ, युवाहरू विदेश गए। अहिलेको खेलकुद स्कुलमा मात्रै सीमित हुन थाल्यो। स्कुलमा पनि खेलकुद कम छ।
स्कुलमा किन खेलकुद कम भयो?
मधेसमा यसका पछाडिको कारण सरकार पनि हो। सरकारको कमजोरी छ, स्कुलको पनि कमजोरी छ। स्कुलले पढाइमा मात्रै ध्यान दिन्छ। खेलकुदले अनुशासन बढाउँछ, विकृति घटाउँछ भन्ने कुरा शिक्षकहरू मान्दैनन्। प्रिन्सिपल र शिक्षक खेलकुदमा रूचि राख्ने खालका छन् भने मात्र स्कुलमा खेलकुद हुन्छ नत्र हुँदैन।
खेलकुदमा आएको ह्रासले समाजमा कस्तो प्रभाव परेको छ?
खेल क्षेत्र विकास भयो भने स्वास्थ्य अवस्थामा सुधार आउँछ, अनुशासनमा सुधार हुन्छ। बच्चैदेखि खेलकुदमा लाग्दा स्वास्थ्य राम्रो हुन्छ। स्कुलमा कम्तीमा एक घण्टी खेलकुद गर्ने हो भने यति धेरै हस्पिटल पनि खोल्नु पर्ने थिएन।
खेलकुदप्रति युवाको आकर्षण किन घटेको होला?
एउटा राम्रो खेलाडी बनाउन पाँच वर्ष लाग्छ। आर्थिक स्थिति लगायतका कारणले एक दुई वर्षमै खेलाडीले खेल छोड्छ र विदेश जान्छ। समस्या समाधानका लागि सरकारसँग एजेन्डा नै छैन। सरकारले खेलाडीको आय आर्जनका लागि केही व्यवस्था नै गर्दैन।
क्रिकेट खेल्न पनि ब्याट, बल सबै आफै किन्नुपर्ने स्थिति छ तर सबैको आर्थिक क्षमताले भ्याउँदैन। उद्योगपति र पुँजीपतिका छोराछोरी खेलकुदमा लाग्दैनन्।
आजकाल तपाईंको समय कसरी बित्छ?
अध्यात्ममा लागेको छु। योग अभ्यास र ध्यानसाधना गर्छु। घुमफिर गर्छु। म एकीकृत समाजवादी पार्टीमा लागेको छु। पार्टीमा पनि समय दिन्छु।
तपाईंलाई के काममा सबैभन्दा धेरै मजा आउँछ?
मलाई त खेलकुदमा सबैभन्दा धेरै मजा आउँछ।
मनोरञ्जनका लागि के गर्नुहुन्छ?
म न्युज सुन्छु। भारतीय टिभीहरू आजतक, एबिपी न्युज, न्युज १८ लगायतका च्यानल हेर्छु। त्यसमा रमाइलो लाग्छ।
खानपिनमा सबैभन्दा धेरै के मनपर्छ ?
दाल, रोटी र सब्जी धेरै मनपर्छ। सधैँ यस्तै खान्छु।
छोराछोरी कतिजना छन्?
चार जना छन्, दुई छोरा र दुई छोरी। एउटी छोरीले एलएलबी पढेकी छन्। दुईजना छोरा इन्जिनियरिङ पढ्दै छन्। अर्की छोरी पनि बिआइटी पढ्दै छिन्। सबैलाई राम्ररी पढाइरहेको छु।
मेरो लक्ष्य नै सबैलाई राम्रो पढाउने हो। जग्गाजमिन किन्ने, धेरै सम्पत्ति जोड्न सोच कहिल्यै सोचै भएन। मैले सबै पैसा छोराछोरीमै लगानी गरें।
खेलकुदमा लाग्दा राम्रो आर्जन हुँदैन भन्नुभयो, छोराछोरी पढाउने खर्च कसरी जुटाउनुभयो?
लक्ष्य राखेपछि जसरी पनि पूरा हुन्छ। मैले अनावश्यक खर्च गरिनँ, होटलमा गएर खाइनँ। चाहना भयो भने नामुमकिन (गर्न नसकिने) केही पनि छैन।
छोराछोरीबाट कति सुख पाउनुभएको छ?
ठिकै छ। अहिले त सबै बाहिर छन्।
परिवारमा मेलमिलाप कस्तो छ?
परिवारमा ६ जना छौं। मेलमिलाप राम्रै छ।
तपाईंको स्वास्थ्य अवस्था कस्तो छ?
एकदम राम्रो छ। दन्तरूस्त छु।
निद्रा कतिको पर्छ?
मस्त निद्रामा सुत्छु। कुनै समस्या छैन। अहिले नै मन लाग्यो भने तुरून्त निदाइदिन्छु।
हातमा ठिक्कको पैसा आयो भने के किन्न मन छ?
मैले त्यस्तो कुनै इच्छा पालेको छैन। जरूरतको हिसाबले केही किन्छु। मन त चारैतर्फ दौड्छ तर सबै इच्छा पूरा हुँदैन। अहिले केही सामान किन्नु छैन।
सबैभन्दा धेरै खुसी कहिले हुनुभएको थियो?
जानकी नवमीको दिन सबैभन्दा धेरै खुसी हुन्थें। अहिले पनि जानकी नवमीमा मलाई बचपनको याद आउँछ।
म बच्चा हुँदा बाह्र बिघा (मैदान) मा घोडा र टायरगाडाको दौड हुन्थ्यो। हामी धेरै रमाइलो गथ्र्यौं। नवमीमा डोला निस्कँदा छेउछाउमा भएका आँप टिप्थ्यौँ। आजकाल दिनदिनै त्यस्तो कार्यक्रममा ह्रास हुन थालेको छ।
अनि कहिले मन धेरै दुखेको थियो?
मैले बच्चा बेला यति भागदौड गरेको छु कि त्यसपछि मलाई दुःख महसुस नै भएन। म सानै हुँदा आमाबुबा बित्नुभयो। एक्लो छोरो थिएँ, दुईजना दिदी हुनुहुन्थ्यो। बच्चैमा यति दुःख देखें कि त्योभन्दा ठूलो दुःख अर्को केही पनि लागेन।
म १६ वर्षको उमेरमा रेल चढ्न इन्डिया पुग्थेँ। पाँच सय रूपैयाँमा धेरै दिन घुम्थें। जहिले जहाँ पैसा सकिन्थ्यो त्यहीँ चारपाँच वटा काम गरेर पैसा कमाउँथेँ।
तपाईंको मनमा पिरोलेर बसेको केही कुरा पनि छ कि?
आजकालको मान्छे समाजका लागि काम गर्न चाहँदैन। कोहीबाट कोही पनि सिक्न चाहँदैन। काठमाडौंका मेयर बालेन शाहबाट सबैले सिक्नुपर्छ। उनको स्टाइलमा काम गर्नुपर्छ।
विहारमा पनि पहिलेभन्दा धेरै रूपान्तरण भएको छ, त्यहाँबाट पनि हामी सिक्नुपर्छ।
भारतमै २०१४ बाट जिडिपी (कुल गार्हस्थ उत्पादन) कसरी बढेको छ, त्यस सिक्नुपर्ने हो। अरूबाट सिकेर यहाँ पनि राम्रो काम गर्ने हो भने देश छिटो विकास हुने थियो। यो देशजस्तो राम्रो देश त विश्वमा कुनै छैन। प्राकृतिक हिसाबले सुन्दर छ, विविधता छ।
यस्तो देश सबै थोकमा विदेशमा निर्भर भएको मलाई पटक्कै मन परेको छैन।
तपाईंलाई आफ्नो टोलसमाज कस्तो लाग्छ?
राम्रो लाग्छ। पहिलेभन्दा समाजमा सुधार हुँदै गएको छ। मान्छे शिक्षित भएका छन्। सबैले छोराछोरी पढाउन थालेका छन्।
देशको राजनीति कस्तो लाग्छ नि?
राजनीति पनि मलाई राम्रो लाग्छ। देश राजनीतिले नै चल्छ। स्वच्छ मनले राजनीति गर्ने हो भने निकै राम्रो हुन्छ तर अहिले मान्छेले यसलाई गन्दा (फोहर) बनाइदिएको छ। यो गलत भएको छ।
तपाईंलाई देशमा सबैभन्दा धेरै को नेता मनपर्छ?
मलाई माधव नेपाल मनपर्छ। उनको काम, बोलाइ मनपर्छ।
गत संसदीय चुनावमा कसलाई भोट दिनुभयो ?
यहाँ गठबन्धन थियो। लोसपाका अनिल झालाई भोट दिएँ।
आगामी चुनावमा कसलाई भोट दिनुहुन्छ?
अब कलम छापमा दिन्छु।
यति बेला सरकारले के काम गरिदिनुपर्छ जस्तो लाग्छ?
शिक्षामा आमूल परिवर्तन गर्नुपर्छ। समाजवादी शिक्षा हुनुपर्छ। सरकारले अहिले १२ कक्षासम्म निःशुल्क पढाइ भन्छ तर सरकारी कलेजले पनि पैसा लिइरहेको छ। पढ्न योग्यका लागि मेडिकल शिक्षा पनि निःशुल्क हुनुपर्छ।
स्कुलमा हाम्रो सनातन संस्कृतिको बारेमा पढाउन जरूरी छ। अरू देशका संस्कृति हाम्रो किताबमा पढाइन्छ, त्यो रोकेर हाम्रो संस्कृतिको बारेमा पढाइ हुनुपर्छ।
उद्योगका लागि कच्चा पदार्थ देशमै उत्पादन गर्नुपर्छ। हाम्रो देशका उद्योगले कच्चा पदार्थ बाहिरबाट मगाउनुपर्ने भएकाले उत्पादित वस्तु महँगो पर्छ। यस कारणले यहाँका उद्योग टिक्न सकेका छैन।