(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
दाङको तुलसीपुर उपमहानगरपालिका–९ बेलुमामा केहीदिन अघि हामी दिउँसोपख पुगेका थियौं। ५५ वर्षीया द्रोर्णाकुमारी दमाई आफ्नै घरको कोलियामा बसिरहेकी थिइन्। कोठाभित्र उनका ६२ वर्षीय पति भिकेन्द्र दमाई कपडा सिलाउँदै थिए। आफ्नै श्रीमानसँग गफमा मस्त थिइन्।
उनै द्रोर्णाकुमारीसँग गरिएको कुराकानी:
के छ खबर, सञ्चै हुनुहुन्छ?
सञ्चै छ भनौं। आज धेरै काम छैन। बुढाले सिलाउँदै हुनुहुन्छ, उहाँलाई एक्लै बोर नहोस् भनेर म कुराकानी गरिरहेकी छु।
कति वर्ष भयो तपाईंहरूले यो काम गर्न थालेको?
वर्षौं भयो, हाम्रो पुर्ख्यौली पेसा हो। बाउ बाजेबाटै सिकेका हौं।
तपाईं पनि सिलाउन जान्नु हुन्छ?
जान्दछु। म ब्लाउज, पेटीकोट सिलाउँछु। बुढालाई सघाउँछु। काम नहुँदा उहाँले सिलाएका कपडाहरू आइरन गर्छु। आज काम छैन। यो कोलियामा हावा चल्छ शितलो हुन्छ। उहाँलाई टिनको मुनि बस्न गाह्रो हुन्छ।
यो भाडामा हो कि आफ्नै घर हो?
आफ्नै घर हो। आफ्नै घरको अगाडि टिनको छाना हालेर यहीँ काम गर्छौं, त्यसै बसेर के गर्नु। जानेको इलम त गर्नुपर्यो हैन र?
यो घर कहिले बनाउनु भाथ्यो?
२०५४ सालमा यो घर बनाएका हौं। योभन्दा पहिला हाम्रो घर तुलसीपुर बजारमा थियो। त्यो बेचेर यता आएका हौं।
बजार आउनुभन्दा पहिला तपाईंको घर कहाँ थियो?
त्योभन्दा पहिला साविक टरिगाउँ गाविस– ५ गौरीगाउँमा थियो। अहिले तुलसीपुर – १० मा पर्छ। त्यहाँ १५ कठ्ठा जति हाम्रो जग्गा जमिन थियो। त्यो बेचेर २०४९ सालतिर बजारमा घर बनाएका थियौं। हाम्रो जग्गा जमिन सल्यानको फालावाङमा पनि थियो। गर्मी दिनमा हामी त्यही जान्थ्यौं। त्यो जग्गा झन्डै ८ वर्ष पहिले कान्छो छोराको बिहे गर्दा बेच्यौं।
बजारको घर किन बेच्नु भयो नि?
त्यतिखेर हाम्रो घर वरिपरि धेरै ड्राइभरहरू बस्थे। उनीहरूको संगतले मेरो बुढा अलि धेरै जाँड रक्सी खाने। खाएर बिग्रन नै थाल्नुभएको थियो। त्यतिखेर म सुत्केरी थिएँ। कान्छो छोरा जन्मेको थियो। बुढाले खाएको रक्सीको पैसा तिर्न घरकै सामान बेच्नुपर्ने अवस्था आउन थालेपछि मैले नै त्यो घर बेच्न लगाएकी हुँ।
अहिले तपाईंको श्रीमानले जाँडरक्सी खानु हुन्छ कि?
कहिलेकाहीँ खानु हुन्छ। तर, पहिले जस्तो छैन। यहाँ आएपछि उहाँमा ठूलो सुधार आयो। वरपरको समाज र साथीहरूको संगतको कारण पनि मानिसको जीवनमा ठूलो असर हुँदो रहेछ।
तपाईं पनि जाँड रक्सी खानु हुन्छ कि?
कहिलेकाहीँ खान्छु, उहाँलाई साथ दिन। विशेष गरी चाड पर्वमा। बाहिरबाट ल्याएको खाँदैनौं। म आफैले घरमै बनाएको मात्रै खान्छु। खाएको दिन हामी सपरिवार रमाइलो गर्छौं। गीत गाउँछौं, अनि नाच्छौं।
त्यस्तो बेला झगडा हुँदैन?
हुँदैन। हामी बीचमा कहिल्यै झगडा भएको वा कुटाकुट भएको रेकर्ड छैन। मेरो बुढा मेरो लागि भगवान जस्तै हुनुहुन्छ। मेरो खुसी एकदमै ख्याल गर्नु हुन्छ। अहिलेसम्म मैले जे भन्यो त्यो उहाँले पूरा गर्दै आउनु भएको छ। म साह्रै खुसी छु। मैले पनि अहिलेसम्म उहाँलाई गाग्रीबाट पानी सारेर खान लगाएकी छैन। मेरा बुहारीहरू बुवालाई धेरै माया गरी बिगार्नु भाछ भन्छन्। मैले– आफ्ना प्राण प्यारालाई माया नगरी कस्लाई गरौं भनिदिन्छु।
परिवारमा को–को हुनुहुन्छ?
जेठो छोरा सन्तोष बजारमा सिलाइको काम गर्छ। कान्छो डम्मर घरमै छ। छोरीहरू बिहे गरेर गए। जेठा छोराका दुई छोरी र एक छोरा छन्, कान्छाको एक छोरा। हामी छोराहरूसँग एउटै घरमा बस्छौं। तर छुट्टी भिन्दै छौं। कोठा बाँडेका छौं। छोरा बुहारीहरू आफ्नो खुसीमा रमाऊन्, स्वतन्त्र भएर बाँचून् भन्ने ठानेर कोठा बाँडिदिएका हौं।
मेलमिलाप चाहिँ राम्रो छ। हामी मिलेको देखेर समाज पनि अचम्मै मान्छन्।
तपाईंहरूको बिहे कसरी भएको थियो?
हाम्रो मागी विवाह हो। न मैले देखेकी थिएँ, न उहाँले मलाई। म १२ वर्ष पनि पुगेकी थिइनँ। त्यो बेला तुलसीपुर सेन्टर माविमा कक्षा २ मा पढ्दै थिएँ। उहाँ १८ वर्षको हुनुहुन्थ्यो। २०३८ सालमा हाम्रो बिहे भएको हो। माइती घर गौलौरा हो।
त्यतिखेर कन्यादान दिने चलन थियो। बुवा–आमाले दिएपछि मैले उहाँहरूको आज्ञा पालना गरेँ। छोरी मान्छे अर्काको घरमै गरी खानुपर्छ भन्ने जात हो भन्नु हुन्थ्यो।
बच्चाबच्ची कति वर्षपछि भए?
बिहे गरेको दुई वर्षपछि २०४० सालमा छोरी जन्मिइन् र बितिन्। त्यसपछि २०४४ सालमा छोरा जन्मियो र बित्यो। अनि तीन छोरी दुई छोरा मात्रै बाँचे। मलाई हात हेराउनेले अघिल्ला दुई सन्तानको माया नगर्नू भनेका थिए। त्यस्तै भइदियो।
जन्म दिएको बच्चा गुमाउनु पर्दा एउटी आमाको मनमा कसरी पहिरो जान्छ नि, त्यो कुरा भन्न/बोल्न सम्भवै हुँदैन रहेछ। म पिरमा परेपछि मेरो बुढाले ‘क्राँक्राको फल केही सानैमा चुँडिन्छन् नि हो ती पनि त्यस्तै हुन्’ भनेर सम्झाउनु भयो। अनि मैले आफूलाई सम्हालेँ। त्यसरी म थप बाँच्न सकेकी हुँ।
तपाईं श्रीमान– श्रीमतीको बीचमा कत्तिको प्रेम छ?
अगाधै छ। किन ढाँट्नु र! मैले १२ वर्ष नपुग्दै उहाँसँग बिहे गरेकी हुँ। गर्मीमा उहाँले मलाई पहाड घर सल्यान फलावाङ लैजानु हुन्थ्यो। हामी हिँड्दै जान्थ्यौं। त्यो पहाडको बाटो...ओहो, हामी आपसमा हात समाउँदै, गफ गर्दै हिड्थ्यौं। उहाँ मेरो खुसीको लागि टेपरिकर्डमा गीत बजाउँदै हिँड्नु हुन्थ्यो। उहाँले मलाई कुनै दिन र कुनै पल नराम्रो गरेको याद छैन। मेरो दिन त रमाइलै रमाइलोमा बिते। उहाँकै मायामा परेर मैले दुनियाँ भुलेँ भन्दा हुन्छ। त्यति मात्रै हैन, पहाड फलावाङमा जाँदा उहाँकी आमा, दिदी सबैले मलाई छोरीभन्दा बढी माया गर्नुहुन्थ्यो। घाँस दाउरा गर्न कहिल्यै दिनु भएन। म त धेरै भाग्यमानी हो।
कहिल्यै झै-झगडा भएन?
नाइँ। हामी दुईको कारणले कहिल्यै भएन। तर, अचेल कहिलेकाहीँ नाति नतिनाको कारणले हुन्छ। हामीले सिलाइकटाइ गर्ने ठाउँमा नातिनातिना आई बिठ्याँइ गरिदिन्छन्। त्यतिखेर उहाँले ‘तेरो नाति नातिनाले यस्तो बिठ्याँइ गर्दा पनि किन केही हेर्दिनस्’ भन्नु हुन्छ। त्यतिखेर मैले ‘उनीहरू मेरा मात्रै हैनन्, तपाईंका पनि त नातिनतिना हुन् भन्छु’। त्यसपछि उहाँ मलाई पुलुक्क हेरेर हाँस्नु हुन्छ। बस् योभन्दा बढ्ता हाम्रो बीचमा केही छैन।
माइतीमा कत्तिको जानु हुन्छ?
मेरो बुवा गोरे दमाईका ७ श्रीमती थिए रे। मेरी आमा कालिका सबैभन्दा कान्छी हुनुहुन्छ। बुवा २०४३ सालमा र आमा २०५३ सालमा बित्नु भो। हाम्री आमाबाट म र मेरो भाइ प्रेम मात्रै हौं। उसले पनि कपडा सिलाउने काम गर्थ्यो। पछिल्लो समय उसलाई प्यारालाइसिस भएको छ। भाइको माया लाग्छ। तर, सत्य आमाबा बितेपछि माइती घर बिरानो हुँदो रहेछ। बुहारीले थोरै पनि टस्याकटुसुक गरेको मन पर्दैन।
म माइती घर जाँदिनँ भने पनि भयो।
तपाईंको स्वास्थ्य ठिक छ?
म रोगी भएकी छु। दम छ, थाइराइड पनि छ। कहिलेकाहीँ हातमा करेन्ट लागे जस्तै हुन्छ। त्यस्तो बेला सिलाउने काम गर्न गाह्रो हुन्छ। तीन वर्षजति भो प्रेसरको दबाई खान्छु। प्रेसरको दबाई रूपैडिहाबाट ल्याएर खाने हो। महिनामा १० हजार बढी त मेरो औषधिमै खर्च हुन्छ।
रातिमा निद्रा मज्जाले लाग्छ?
कहिलेकाहीँ लाग्दैन।
मलाई मेरोभन्दा पनि बुढाको बढी चिन्ता लाग्छ। गएको पुसदेखि उहाँको एउटा हात काँधदेखि तलसम्मै दुख्न थालेको छ। डाक्टरले हड्डीको समस्या छ भन्छन्। उहाँलाई केही भयो भने म के गरूँली भन्ने चिन्ता लाग्छ। छोराको पनि चिन्ता लाग्छ। कान्छी बुहारी खोकिरहन्छिन्, उनको पनि चिन्ता लाग्छ।
अब तपाईंको चाहना के छ?
म बुढाभन्दा अलि बढी रोगी भइगएँ। अब एउटै चाहना छ, उहाँभन्दा पहिलै मर्न पाऊँ। यत्तिकै माया गर्ने मान्छेको काखमा सदाको लागि निदाउन पाए हुन्थ्यो भन्ने मनमा छ।
तपाईं खुसीका पलहरू सम्झनु पर्दा के सम्झिनुहुन्छ?
सानै उमेरमा बिहे गरे पनि एकदमै माया गर्ने श्रीमान पाउनु मेरो अहोभाग्य हो भन्ने लाग्छ। एउटी नारीलाई सन्तान जन्मिँदा पनि खुसी लाग्दो रहेछ। आफ्नो मात्रै हैन नातिनातिना जन्मिँदा पनि उस्तै खुसी भएँ। तीन छोरीहरूको आफ्नै हातले बिहे गर्न पाउनु खुसीका क्षण थिए।
घरमा चरी मासु पाक्दा छोरा बुहारीलाई खान बोलाउँछु। त्यो बेला पनि मलाई खुसी लाग्छ। कुनैदिन नसक्दा बुहारीलाई खाना पकाउन बोलाउँछु उनीहरू आउँछन्, त्यतिखेर पनि खुसी लाग्छ।
तीन छोरी र दुई छोराका गरी मेरा ११ नातिनातिना छन्। उनीहरूबाट ६ नाति र ५ नातिनी छन्। उनीहरू सबै भेला हुँदा मेरो खुसीको सीमा नै हुँदैन। चाड पर्वमा हामी आपसमा निकै रमाइलो गर्छौं, त्यो पनि मेरो खुसी हो।
के कुराले सबभन्दा बढी दु:ख लागेको थियो?
आमाबुवा बित्दा साह्रै दुःखी भएकी थिएँ। पहिलेका एक छोरा र एक छोरी बित्ने बेलाको त कुरै नगरौं। त्यो त सुल झैं छातीमै गढेको छ।
बढी हैन ठिक्कको पैसा भए यस्तो गर्थेँ, यस्तो किन्थेँ भन्ने केही छ मनमा?
यो घरको तल्ला थप्थेँ। भान्सा बनाउँथेँ। माथि सितलमा बस्थेँ, सितलमा सुत्थेँ। हामीले काम गर्ने यो टिनको टहरोमा मुनि बसेर काम साह्रै गर्मी हुन्छ। म त बस्नै सक्दिनँ।
तपाईंलाई के खान मन पर्छ?
मलाई दूध, दही, बगाले च्याउको तरकारी, हरियो सागपात, ढिँडो, मकैको रोटी अति नै मन पर्छ। माछा मासुमा उति रूचि जाँदैन।
तपाईंको मनमा गढेर बसेको केही कुरा छ?
यति राम्रो जोडा हुनुहुन्छ। छोराछोरी सबै छन्। अब म बुढाभन्दा पहिलै मर्न पाए हुन्थ्यो भन्ने एउटै चाहना छ।
तपाईंलाई समाज कस्तो लाग्छ?
आफू राम्रो भए सबै राम्रो हुने हो। हामी सबैसँग मिल्छौं। समाजमा सबै मिलेर बसेका छन्। तर एउटा कुरो भने अचम्मै लाग्छ कहिलेकेहीँ केही पर्दा आसपासका मानिसहरू टाढैबाट हेर्छन्। हाम्रो घरमा भने आउँदैनन्।
तपाईंलाई मन पर्ने नेता को हो ?
काठमाडौंका मेयर बालेन। पहिला सबैभन्दा मनपर्ने राजा थिए। त्यस्तो राजालाई मारे। राजालाई जत्ति जनताको माया कसैलाई हुन्न भन्ने लाग्छ।
गएको चुनावमा भोट हाल्नु भएको थियो?
मैले भोट हाल्न थालेको त वर्षौं भयो। पाएको अधिकार किन छोड्नु भन्ने लाग्छ। गत वर्ष घन्टीलाई भोट हालेकी थिएँ। अहिले आएर गलत गरिए छ भन्ने पछुतो लाग्छ। हामी बुढाबुढी सल्लाह गरी भोट हाल्छौं। कहिले रूखलाई, कहिले सूर्यलाई र कहिले माओवादीलाई पनि भोट हालेका छौं।
देश बनाउँछन् कि भनेर भोट दियो तर उनीहरूले हामीले सोचे जस्तो देश बनाएनन्।
अहिले चुनाव भए कसलाई भोट हाल्नु हुन्थ्यो?
व्यक्ति हेरेर हाल्छु। जो राम्रो उम्मेदवार हुन्छ उसैलाई।
राज्यले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
बाटाघाटा राम्रा बनाइदिए हुन्थ्यो। खोलामा पुलहरू भनेजति छैनन्। नजिकमा राम्रो अस्पताल छैनन्। ठूला उद्योगहरू खोलिदिए किन दुनियाँका छोराछोरी ज्यानको बाजी थापेर विदेश जानु पर्दो हो र? शिक्षा र स्वास्थ्य साह्रै महंगा भए। गरिबलाई थोरै शुल्कमा उपचार गर्ने व्यवस्था भए हुन्थ्यो। निजी बोर्डिङहरूमा बच्चा पढाउनै नसक्ने अवस्था छ। त्यो पनि राज्यले हेर्नुपर्छ भन्ने लाग्छ। आज आएर कपडा सिलाउने सीप सबै जातजातिले सिके। हाम्रो पेसा पनि संकटमा पर्न थालेको छ। यहाँनेर राज्यले अब हामीलाई थप विशेष सीपको व्यवस्था गरे हुने।