लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
पाल्पा बेगनासकालीमा जन्मिएका कृष्णप्रसाद अर्याल बुटवल ४ संगमपथमा प्लाष्टिक सामग्रीको पसल चलाउँछन्। केही दिन पहिले पसलमा भेटिएका उनी ग्राहकलाई सामान देखाउन व्यस्त थिए।उनको व्यस्तता सकिएपछि हामीले उनीसँग गरेको कुराकानी:
कस्तो छ नि अहिलेको व्यापार?
अरू व्यापारभन्दा राम्रै छ। भारतबाट आयातित वस्तुसँग प्रतिस्पर्धा गर्दा अलि समस्या हुने गरेको छ। भारतबाट सस्तोमा सामान आउँछन्। हामीले कच्चा पदार्थ ल्याएर उत्पादन गर्दा लागत बढी पर्छ।
कति वर्ष भयो पसल चलाउनुभएको?
पसल सुरू गरेको ३० वर्षभन्दा बढी भइसक्यो।
तपाईंको पसलमा केके सामान पाइन्छ?
प्लाष्टिकको हरेक सामग्री पाइन्छ। सामान्य डोरीदेखि किसानलाई चाहिने दाम्ला, बोरा, भान्सामा प्रयोग हुने भाँडा, कुर्ची, टेबलसम्म पाइन्छन्।
आफै उत्पादन गर्नुहुन्छ कि अरू उद्योगबाट ल्याएर बेच्नुहुन्छ?
उद्योग पनि छ तर, सबै सामग्री आफ्नो उद्योगमा मात्र उत्पादन हुँदैनन्। अरू उद्योगबाट पनि ल्याउनुपर्छ।
तपाईंको उद्योगमा केके सामग्री उत्पादन हुन्छन्?
गमला, पिर्का, क्यारेम बोर्डका गोटी लगायत उत्पादन हुन्छन्।
कति वर्ष भयो उद्योग सञ्चालन गर्नुभएको?
उद्योग साझेदारीमा सञ्चालन गरेको हो। ५ वर्ष जति भयो।
यहाँबाट थोकमात्र बेच्नुहुन्छ कि फुटकर पनि दिनुहुन्छ?
थोक फुटकर, दुबै बिक्री गर्छौं। अहिलेको अवस्थामा फुटकर दिन्नँ भनेर नै हुँदैन।
कहाँ-कहाँ जान्छन् सामानहरू?
नेपालका १७ जिल्लाका फुटकर व्यापारीले यहाँबाट सामान लैजानुहुन्छ। पहाडी जिल्लाहरू गुल्मी, पाल्पा, स्याङ्जा,अर्घाखाँची, प्यूठान, बाग्लुङ, पर्वतसम्मका व्यापारीले लैजानुहुन्छ। पश्चिममा पनि रूपन्देहीदेखि महेन्द्रनगरसम्मका व्यापारीले लैजानुहुन्छ।
महिनामा कतिको कारोबार हुन्छ?
कारोबार हुन्थ्यो भन्नुपर्ने अवस्था छ। अहिले त त्यस्तो कारोबार छैन। पहिले त एकदिनमै सात/आठ लाखको कारोबार हुन्थ्यो, अहिले त्यति कारोबार गर्नलाई एक महिना कुर्नुपर्ने भएको छ।
तपाईंलाई व्यापारबाहेक अरू के गर्न मन लाग्छ?
मलाई मनपर्ने काम त सामाजिक क्षेत्र हो। रक्तदान, सरसफाइ जस्ता कार्यक्रममा सहभागी हुन मनपर्छ। मैले चाहे जति पढ्न पाइनँ, त्यसैले पनि शिक्षा क्षेत्रमा केही काम गर्न पाए हुन्थ्यो भन्ने लाग्छ तर गर्न पाएको छैन। नयाँनयाँ ठाउँ घुमफिर गर्न पनि मन लाग्छ।
रक्तदान कतिपटक गर्नुभयो?
पहिलोपटक मेरै दिदीलाई रगत चाहिएकाले रक्तदान गर्दा म १९ वर्षको थिएँ। अहिलेसम्म ४८ पटक गरिसकेको छु।
शिक्षा क्षेत्रमा काम गर्न मन लाग्छ भन्नुभयो, केही गरिरहनुभएको छ कि?
पहिले साथीहरूसँग मिलेर बोर्डिङ स्कुल चलाएका थियौं। गरिब विद्यार्थीहरूसँग चर्को फि उठाउने खेल बढी हुने रहेछ, मलाई त्यो मन परेन। मेरो आफ्नो स्वभाव त्यस्तो नभएर होला म त्यहाँ बस्न सकिनँ। शिक्षा क्षेत्रलाई व्यवसाय बनाउनु हुँदैन यसलाई सेवाको भावले सञ्चालन गर्नुपर्छ भन्ने मेरो धारणा थियो। पछिल्लो दुई कार्यकाल बुटवलको कान्ति माविको व्यवस्थापनमा रहेर पनि काम गरेँ।
सामुदायिक विद्यालयको व्यवस्थापनमा रहेर काम गर्नुभएको रहेछ, सामुदायिक विद्यालयहरूले पनि विभिन्न शिर्षकमा शुल्क लिने गर्छन् यसप्रति तपाईंको धारणा के छ?
सामुदायिक विद्यालय र सरकारका बीचमा तालमेल नमिल्दा यस्तो हुन पुगेको हो। सामुदायिक विद्यालयमा विद्यार्थीहरू संख्याको आधारमा शिक्षकहरूको व्यवस्था गरिदिनुपर्ने दायित्व सरकारको हो। तर ६ हजार विद्यार्थी भएको विद्यालयमा सरकारले १८ जना मात्र शिक्षक नियुक्ति गर्छ। त्यति संख्याका शिक्षकले ६ हजार विद्यार्थीलाई पढाउन सक्दैनन्। निजी स्रोतबाट शिक्षक नियुक्त गरेर पढाउनुपर्ने हुन्छ। उनीहरूलाई तलब भत्ता दिन विद्यार्थीबाट थोरै भए पनि शुल्क उठाउनुपर्ने बाध्यता सामुदायिक विद्यालयलाई छ। शुल्क उठाउनु विद्यालयको रहर होइन।
तपाईंलाई सबैभन्दा बढी के खान मन पर्छ?
मलाई सबैभन्दा मन पर्ने नेपाली खाना नै हो। दालभात तरकारी, मकै, भटमास, कोदो, फापर गाउँघरमा उब्जिने सबै चिज मन पर्छ।
घरमा कोको हुनुहुन्छ?
श्रीमती सीता, दुई छोरा र १ छोरी छन्।
छोराछोरीले कत्तिको सुख दिएका छन्?
उनीहरूको उमेर, योग्यता र क्षमता अनुसार राम्रै गरेका छन्। पढ्दै भएकोले छोराछोरीको कमाइ खाने बेला भएको छैन। छोराछोरीबाट सन्तुष्टि मिलेको छ।
तपाईंको स्वास्थ्य कस्तो छ?
अहिलेसम्म अरू बिमार भएर औषधी खानुपरेको थिएन। कोभिडको बेला संक्रमण भयो त्यसपछि औषधि खानुपर्यो। अहिले औषधि त खानुपरेको छैन तर, छिटो थकान लाग्ने, आलस्य हुने हुन्छ। धेरै चिसो हुँदा छाती अप्ठ्यारो हुन्छ।
निद्रा कत्तिको लाग्छ?
दिनभरि पसलमा व्यस्त हुने भएकोले थकानले होला राती राम्रोसँग निदाउँछु।
ठिक्क पैसामा यस्तो चिज किन्न पाए हुन्थ्यो भन्ने केही छ?
मैले मनमा ठूलो आशा अपेक्षा केही पनि राख्दिनँ। सानो तिनो चिज किन्नलाई पैसा भएन भन्ने पनि छैन।
तपाईं सबैभन्दा धेरै खुसी कहिले हुनुभएको थियो?
अलिकति देशको अवस्थाप्रति चिन्तित हुने र राजनीतिप्रति चासो राख्ने भएकोले होला, बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा धेरै खुसी भएको थिएँ। पढेको र युद्ध लडेर आएको व्यक्ति प्रधानमन्त्री भएपछि मुलुक परिवर्तन हुन्छ जनताले सुख पाउँछन् भन्ने लागेको थियो।
तपाईंले सोचे अनुसार काम भयो त?
काम भएको भए जनताको अवस्था अहिले यस्तो हुने थियो र! तर, किन भएन, किन गर्न दिइएन भन्ने कुरा जनतालाई प्रष्टसँग थाहा छ।
सबैभन्दा धेरै दु:खी कहिले हुनुभयो?
बुवा बितेको समय मेरो जीवनकै सबैभन्दा धेरै दु:खको क्षण थियो। २०५१ सालतिर म सिंगापुर गएको थिएँ। म गएको ९ महिनापछि घरमा बुवाको मृत्यु भएछ। अहिलेजस्तो फोनको सहज सुविधा थिएन। एक जना साथीले चिठी पठाएको रहेछ। चिठी मेरो हातमा पर्दा बुवा बित्नुभएको झण्डै एक महिना भइसकेको रहेछ। म पर्यटक भिसामा गएर बसेको थिएँ। भिसा प्रक्रिया मिलाउँदा सात महिनापछि बल्ल घर फर्किएँ। बुवाको जीवनको अन्तिम समयमा उहाँलाई भेट्न नपाएको क्षण मेरो लागि सबैभन्दा दु:खको क्षण हो। अहिले पनि बुवालाई सम्झिँदा आँसु झर्न थाल्छन् (यसो भनिरहँदा उनका आँखामा आँसु आइसकेका थिए)।
तपाईंको मनमा बसिरहेको वा पिरोलिरहेको कुनै कुरा छ, जुन यस्तो नभइदिएको भए हुन्थ्यो भन्ने?
त्यतिबेला म विदेश नगएको भए अन्तिम समयमा बुवासँगै हुने थिएँ भन्ने लाग्छ। म यहाँ भए पनि बुवाको मृत्युलाई त रोक्न सकिने थिएन तर बुवाको नजिक बसेर उहाँको सेवा गर्न त पाउने थिएँ भन्ने थकथकी भइरहन्छ।
तपाईंलाई आफ्नो टोलसमाज कस्तो लाग्छ?
टोल समाज राम्रै लाग्छ। सबै आफ्ना दैनिक दिनचर्यामा व्यस्त भए पनि अप्ठ्यारो, साँघुरो परेको बेला एक अर्कालाई सहयोग हुन्छ। राम्रै लाग्छ।
टोल समाजको सबैभन्दा मनपर्ने कुरा के हो?
अहिलेसम्मै नेपालीपन रहेको छ, त्यही नै मन पर्छ।
टोल समाजको केही सुधार गर्नुपर्ने कुरा छ कि?
नागरिकभन्दा बढी राजनीतिक कार्यकर्ता भएको नेपालमा त्यसको असर टोलसमाजमा पनि देखिने भइहाल्यो। राजनीतिक रूपमा विभाजित हुन थालेको देखिन्छ। त्यो सुधार गर्नुपर्छ।
तपाईंलाई नेपालको राजनीति कस्तो लाग्छ, ठिकसँग चलेको छ जस्तो लाग्छ?
यतिसम्म राजनीति बिग्रिएला भन्ने लागेकै थिएन। सबै दलका शीर्ष नेताहरू दलगत मात्र नभई पारिवारिक स्वार्थमा लाग्दा मुलुक तहसनहस भइसकेको छ। अहिलेका नेताहरूबाट देशले निकास पाउँदैन।
तपाईंलाई नेपालका नेताहरूमा सबैभन्दा मन पर्ने को हो?
मलाई त मन पर्ने फोटो राखौं भन्ने जस्तो नेता नै कोही छैन। अलिअलि आशा गरेको र त्यतै झुकाव राखेको भएकोले अरूभन्दा बाबुराम भट्टराई केही मन पर्छ।
गएको चुनावमा कसलाई भोट दिनुभयो?
कहिले एमालेलाई, कहिले माओवादीलाई, कहिले कांग्रेसलाई भोट दिनुपर्ने नेपालीको जस्तो बाध्यता छ मेरो पनि त्यस्तै बाध्यता छ। गठबन्धनबाट जो जो उम्मेदवार थिए तिनैलाई भोट दिइयो।
अहिले चुनाव भयो भने कसलाई भोट दिनुहुन्छ?
अब त सोच्नुपर्छ। कुन व्यक्ति उठ्छ हेरेर मात्र भोट हाल्ने हो।
सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
राज्य चलाउनेहरूले नीति बनाइदिए हुन्छ जनताका लागि अरू केही गर्नै पर्दैन। नीति राम्रो भयो भने जनताले आफ्नो लागि आफै गर्छन्।
हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्