लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
केही समयअघि बझाङको सदरमुकाम अस्पतालमा ४८ वर्षीया कला धामीसँग हाम्रो भेट भयो। जिल्लाको केदारस्युँ गाउँपालिका–७ काँडाचौरकी रहिछन्। उनी उपचारका लागि अस्पताल आएकी थिइन्।
उनै कलासँग गरिएको कुराकानी:
तपाई के काम गर्नुहुन्छ नि?
अहिले खासै केही काम गर्दिन बसिराख्छु, बिरामी छु।
स्वास्थ्यमा के समस्या छ?
दमको बिमारी छु। त्यसैमाथि त दाँतको समस्या छ। दाँतको दुखाइले पनि हैरान छ। दमका कारण सास फेर्न, बोल्न समेत धेरै गाह्रो हुन्छ।
उपचार कहाँ–कहाँ गराउनुभएको छ?
धेरै ठाउँमा गराए उपचार, धनगढी, काठमाडौंका धेरै अस्पतालमा।
डाक्टरले के भनेका छन्?
डाक्टरको सल्लाहमा औषधि खाइरहेकी छु। सास बन्द भएको बेला वाफ दिन्छन् त्यसले ठिक हुन्छ।
औषधि उपचार गर्न कत्तिको गाह्रो छ?
उपचारमा त धेरै खर्च हुन्छ। महिनाको १० हजार जति। श्रीमानले उपचारमा सहयोग गरिरहनु भएको छ।
अहिलेसम्म कति खर्च भयो होला तपाईको उपचारमै?
धेरै नि। एक करोड जति पुग्नै लाग्यो। हामीजस्ता सामान्य परिवारका मान्छेलाई उपचारमा करोडौं खर्चिनुपरेको छ।
बिरामी देखिएको कति समय भयो?
१७ वर्षदेखि निरन्तर उपचार गराइरहेकी छु। खर्च करोड पुग्नै लाग्यो होला।
तपाईको श्रीमान् के काम गर्नुहुन्छ?
गाउँमा पसल छ। त्यही पसल चलाउनुहुन्छ। त्यसैको कमाइले मेरो उपचार भइरहेको छ। उपचार गर्न कठिनाई नै छ। जसोतसो अहिलेसम्म उहाँले चलाइरहनु भएको छ।
उपचार गर्न के कुरा सरकारबाट सहयोग भएको भए हुन्थ्यो लाग्छ?
औषधि उपचार सस्तो भए राम्रो हुन्थ्यो। हाम्रो जिल्ला अस्पतालमै सबै सेवा सुविधा पाएको भए झन् राम्रो हुन्थ्यो। अहिले त हामीले जिल्लाबाट बाहिर गएरै उपचार गराइरहेका छौं। किनकी यहाँ राम्रो सेवा सुविधा छैन त्यसैले।
तपाईको बाल्यकाल कसरी बित्यो?
सानोमा घाँस, दाउरा गरेको सम्झना मात्रै छ। आमाबाले हातमा हँसिया दिए, कापी कलम दिएनन्। अहिले लाग्छ उ बेला स्कुल पढ्न पाएको भए हामी पनि केही बन्थ्यौं। हाम्रो जिन्दगी पनि अहिलेका मान्छेको जस्तो राम्रो हुन्थ्यो।
चार बहिनी र दुई बहिनी थियौं हामी, म भन्दा जेठो दाजुले कक्षा १२ सम्म पढ्नुभयो। अरूले पढ्न पाएनन्। केटा मान्छे स्कुल जान्थे। केटी जान्नथे। मेरो साथीभाइ कोही पनि पढेका छैनन्।
उहिले घाँस काट, भैँसी पाल भन्थे। भाँङ खेती गरिन्थ्यो। भाँङको काण्डबाट धागो निकालेर राडीपाखी बनाएर बिक्री गर्थ्यौं।
मेरो १४ वर्षको उमेर बिहे भयो। १० दिनसम्म माग्न आएका थिएँ। घरबाट बिहे गरिदियो परिवारले। श्रीमान् २१ वर्षका थिए। म भन्दा जेठो हुनुहुन्थ्यो।
बिहेपछिको जिन्दगी कस्तो भयो?
राम्रै भयो। परिवारले सुख नै दिए। सासु पनि राम्री थिइन्। श्रीमानले पनि माया गर्नुभयो। उ बेला श्रीमान् विदेश गएर कमाएर आउँथे। नुन, तेल, चामल लिएर आउनुहुन्थ्यो। श्रीमान् त मेरो राम्रो माया गर्ने छन्। राम्ररी पाल्नुभयो। बिरामीका कारण मात्रै दु:ख भयो मलाई। छोराछोरी पनि राम्रै छन् मेरा। सासुससुरा अझ झन् राम्रो हुन् मेरा।
कति वटा छोराछोरी छन् तपाईको?
चार वटा छन्। दुई छोरा र दुई छोरी।
के काम गर्छन्?
एउटा छोरा कक्षा १० मा पढ्छ। जेठो छोराले कक्षा १२ सम्म पढेर अहिले गाडी चलाउने काम गर्छ। छोराबाट एक नाती एक नातिनी छ।
एउटा छोरीले एसईई पछि बिहे गरिन्। एउटा छोरी स्नातक पढेर काम गर्छिन्। छोरीहरूको पनि बिहे भइसक्यो।
छोराछोरीबाट कत्तिको सुख पाउनुभएको छ?
छोराछोरीले सुख दिएकै छन्।
उनीहरूले के गरोस् भन्ने तपाईको चाहाना छ?
छोराछोरीको स्थायी जागिर होस् भन्ने कामना छ। उनीहरू सबै आ–आफ्नो काममा लागेको भए म धेरै खुसी हुन्थेँ।
तपाईको मनपर्ने काम के हो मनोरञ्जन वा काम मध्ये?
मलाई मनपर्ने काम भनेको साथी भाइसँग कुराकानी, पढेलेखेका मान्छेका कुरा सुन्न पनि मन पर्छ। नयाँ-नयाँ मान्छेसँग भेटघाट गर्न मनपर्छ। धेरै रमाइलो लाग्छ। म त सबैमान्छे आफ्नै जस्ता मान्छु।
तपाई जिन्दगीमा सबैभन्दा बढी खुसी के कुराले कहिले हुनुभएको थियो?
म खुसी नै छु। श्रीमान् माया गर्दा धेरै खुसी मिल्छ। खुसी त सँधै छु म।
तपाईलाई जिन्दगीमा सबैभन्दा बढी के कुराले चित्त दुखेको छ?
बिरामी हुँदा मनमा साह्रै चित्त दुखिरहेको छ। बिमारका कारण दुःख छ नि त।
के कुराले मन खाइरहन्छ? यसो भइदिएको भए हुन्थ्यो भन्ने के छ?
बिरामी ठिक भएर बच्चाहरू खुसी हेर्न पाएको भए हुन्थ्यो लाग्छ। बिरामीको कारणले धेरै चिन्ता लाग्छ।
राति कत्तिको निन्द्रा लाग्छ?
निन्द्रा त लाग्छ। निदाउँछु राति।
तपाईले जिन्दगीमा के–के काम गर्नुभयो?
मैलेँ भैसी, बाख्रा, गाई गोरू पालेँ। खेतीपातीको काम गरेँ।
मनपर्ने खाना के हो?
सबै राम्रो लाग्छ। दही, दुध, मह राम्रो लाग्छ।
अन्तिम पटक कहिले खानुभएको मनपर्ने खाना?
एक हप्ता भन्दा बढी भयो। मासु पनि खान्छौं। मिलाएर खान्छौं। सानोमा धेरै बिरामी भएँ। दादुराको बिरामी भएँ, उपचार पाएन। मेरो बाबाले सुरूमा घरमै राख्नु भएको रहेछ। साह्रै थला परेँ। पछि बुवाले काठमाठडौं लगेर बचाउनुभएका रहेछ। अहिले त पनि बिरामी नै छु। खाना मिलाएर खानुपर्छ।
ठिक ठिकै पैसाको तपाईलाई के किन्न मन छ?
मलाई त केही छैन। त्यसो किन्ने इच्छा छैन।
तपाईलाई हाम्रो गाउँ, समाज कस्तो लाग्छ?
राम्रो लाग्छ हाम्रो गाउँ समाज रमाइलो छ। समाज भएर त हामी बाँचेका छौँ नि! गाउँमा अहिले १० सम्म पढ्ने स्कुल छ, बोर्डिङ छ। अहिले बाटो पुगेको छ गाउँमा। सोल्टा, भट्ट, मास, भाङबाट बनेको धागो बिक्री हुन्छ। अहिले फलाएको दाल, तरकारी बिक्री हुन्छ। राम्रो छ सबैसँग कुराकानी गर्न हुन्छ। मर्दा/ पर्दा समाज चाहिन्छ।
हाम्रो देशको राजनिति कस्तो लाग्छ?
बुझे कै छैन राजनीति त मैले कस्तो भन्ने।
देशको मनपर्ने नेता को हुन्?
म नेतालाई चिन्दैन।
गएको चुनावमा कसलाई भोट हाल्नुभएको थियो?
कांग्रेसलाई।
किन?
सबैले हालेका थिए भोट मलाई पनि त्यही हाल्नु भने। पहिल्यैदेखि कांग्रेसलाई नै दिएको हो।
तपाईले भोट दिएर जिताएका नेताले के काम गरेको देख्नुभएको छ?
बाटो, बिजुली बत्तिको सुविधा दिएको छ।
आगामी चुनावमा कसलाई भोट दिनुहुन्छ?
अब कसलाई हुन्छ हेरौं। अहिले कसलाई भन्ने।
सरकारले के काम गरोस् भन्ने सुझाव छ?
सामाजिक सुरक्षा भत्ता दिएको छ। घरघरमा सडक, बाटो पुगेको छ। अब रोजगारी दिनुपर्छ। सरकारले सबै गरिब मान्छेलाई हेर्नुपर्छ।
हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्