लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
महोत्तरीको लोहरपट्टी नगरपालिका, महदैया गाउँकी ३४ वर्षीया सविता ठाकुर जनकपुरमा भेटिइन्।
उनैसँग गरिएको कुराकानी :
गाउँबाट जनकपुर किन आउनुभयो?
मलाई पढ्ने रहर थियो। त्यही भएर बिहेपछि बिएड (शिक्षाशास्त्रमा स्नातक) पढ्न जनकपुर आएँ। एक वर्षपछि बच्चा जन्मियो म गाउँ गएँ। पढाइ रोकियो। तीन वर्षपछि फेरि जनकपुर आएर बिएड पढें।
कक्षा १० सम्म गाउँमै पढें। त्यसपछि महोत्तरीकै गौशालामा पढें। बाह्र कक्षा पास गरेपछि २०६७ सालमा बिहे भयो।
छोरी मान्छे भएर पढ्न तपाईंलाई सजिलो वा गाह्रो के भयो?
न धेरै सजिलो थियो न धेरै गाह्रो, ठिकै थियो। गाउँमा आमाले काम गरेर परिवार चलाउनुभएको थियो। मलाई पढाउनुभयो। आमाले सिलाइको काम गरेर हामीलाई हुर्काउनुभयो, पढाउनुभयो। बुबा बिरामी परेर कमै उमेरमा बित्नुभएको थियो त्यसैले आमालेमात्र हामीलाई हुर्काउनुभयो।
आजकाल तपाईं के गर्नुहुन्छ?
दुई छोरी र एक छोरा छन्। यिनै बालबच्चा पढाउँछु, आफू पनि पढ्छु। घरपरिवारको काम हुन्छ। अहिले शिक्षक सेवा आयोगको परीक्षा तयारीमा लागेकी छु।
तपाईंका श्रीमान् के गर्नुहुन्छ?
जनकपुरमै बैंकमा जागिर गर्नुहुन्छ।
गाउँको बसाइ र जनकपुरको बसाइमा के फरक पाउनुहुन्छ?
गाउँमा बस्दा तनाव हुँदैन। कामको बोझ पनि धेरै हुँदैन। घरमा काम बाँडिन्छ। यहाँ (जनकपुरमा) त घरको सबै काम एक्लै गर्नुपर्छ।
तपाईं के काममा बढी रमाउनुहुन्छ?
म सबै काम मनैदेखि गर्छु। म सरकारी सेवामा काम गर्न चाहन्थें। पहिलो पेपरमा नाम निस्कियो। त्यसपछि चारपटक नायब सुब्बामा लिखित परीक्षा दिएँ, खरिदारमा पनि दिएँ तर पास गर्न सकेको छैन।
परिवार चलाउने, बालबच्चा हुर्काउने काम गर्नुपर्यो। लोकसेवाको परीक्षा पास गर्न धेरै मिहिनेत गर्नुपर्छ।
अहिले शिक्षक सेवा आयोगको तयारी गर्दै छु। पोहोर साल पहिलो पत्रमा नाम निस्कियो तर दोस्रोमा निस्केन। यसपालि पनि पहिलो पत्रमा नाम निस्केको छ, दोस्रो पत्रको परीक्षा राम्रो भएको छैन। नाम निस्किने उम्मिद छैन तर हार मानेको छैन।
तपाईंका श्रीमान् बैंकमा जागिरे हुनुहुँदो रहेछ, परिवारमा कति समय दिनुहुन्छ?
उहाँले समय नदिँदा म कहिलेकाहीँ रिसाएर बोल्छु तर एकछिनपछि त्यसो भन्नु नहुने थियो भन्ने महसुस हुन्छ।
उहाँको पनि मजबुरी हुन्छ। आफ्नो ठाउँमा उहाँ पनि ठिक रहनुहुन्छ, म पनि आफ्नो ठाउँमा ठिक रहन्छु। बैंकमा कहिले बिहान नौ बजे नै बोलाइहाल्छ, कहिले बेलुका सात बजेसम्म काम गर्नुपर्छ।
श्रीमानको व्यस्त जागिरले पारिवारिक जीवनमा कस्तो प्रभाव परेको छ?
नराम्रो केही छैन, सबै ठिक छ। जागिर नगरी हुँदैन। उहाँले मलाई तनाव दिनुभएको छैन। आफ्नो आफिसको तनाव आफै झेल्नुहुन्छ।
तपाईं सबैभन्दा धेरै खुसी कहिले हुनुभएको थियो?
पहिलो छोरी जन्मिँदा धेरै खुसी भएकी थिएँ।
आजसम्ममा सबैभन्दा धेरै दुःखी भएको घटना के हो?
मेरा बुबाको मृत्यु हुँदा सबैभन्दा धेरै मन दुखेको थियो। हरेक वर्ष ‘फादर्स डे’ मा मलाई धेरै तखलिफ (कष्ट) हुन्छ। बुबाको यादले सताउँछ अनि रून्छु।
मेरा बुबा मलाई धेरै माया गर्नुहुन्थ्यो। म एक कक्षामा पढ्दा एक दिन कसैलाई केही पनि नभनी बुबा घरबाट निस्कनुभयो। त्यसपछि पाँच वर्षसम्म आउनुभएन। गाउँका सबैले उहाँ मरिसकेको ठानेका थिए। कतिले त किरिया गर्न पनि दबाब दिएका थिए तर आमाले मान्नुभएन।
बुबा नभएको समयमा घरमा धेरै तनाव भयो। पाँच वर्षपछि बुबा आउनुभयो। मुम्बई जानुभएको रहेछ।
बिहेअघि तपाईंको समय कस्तो थियो?
बुबा बितेपछि आमालाई विधवा भनेर समाजले हेप्थ्यो। बिहेबारीमा जाँदा पनि मान्छेले नराम्रो ठान्थे, कुरा काट्थे। मेरो बिहेका बेला पनि कतिपय आफन्तहरूले नराम्रो भने त्यसले साह्रै चित्त दुख्थ्यो।
मेरी आमाले मेरो बिहेका लागि धेरै तनाव लिनुभएको थिएन तर आफन्तहरूलाई तनाव हुन्थ्यो। उनीहरू मलाई बोझ ठान्थे। म स्कुल गएर पढेको पनि उनीहरूलाई मन पर्दैनथ्यो। श्रीमान् छैन, गरिब छौ, छोरीलाई किन पढाउनुपर्यो भन्थे तर आमाले कसैका कुरा सुन्नुभएन।
मैले जति सुख भोगें, बाल्यकालमै भोगें। मलाई बुबाले सात वर्ष काठमाडौंमा राख्नुभयो। गाउँमा सबैभन्दा पहिले मेरा बुबा नै काठमाडौं जानुभएको थियो। काठमाडौंमा कपाल काट्ने काम गर्नुहुन्थ्यो।
मेरो बुबा एकदमै उदार मनका हुनुहुन्थ्यो। आफूले लगाएको लुगा पनि अर्कोलाई दिनुहुन्थ्यो।
आजकाल तपाईंको मन के कुराले पिरोलिन्छ?
जागिरका लागि पढ्दै छु, मिहिनेत गर्दै छु। जागिर हुन्छ कि हुँदैन भन्ने कुराले मन पिरोलिन्छ। श्रीमानको सहयोग पनि पाएकै छु तर आफ्नै जागिर भए हुन्थ्यो भन्ने लाग्छ।
कमाउन त जागिर नभए पनि कमाउँछु। कपडा सिलाइको काम जानेकी छु। अहिले पनि छरछिमेकीका लुगा सिउने गरेकी छु।
किन सरकारी जागिर नै चाहनुहुन्छ?
सिलाइको काम बिहेअघि नै सिकेकी हुँ। ससुराल (श्रीमानको घर) मा पनि सिलाइको काम गर्थें तर मान्छेहरूले कुरा काटे। फलानाकी बुहारी यति पढेर पनि सिलाइ नै गर्छे, यस्तै गर्नु थियो भने किन पढ्नु परेको भने।
त्यस्तो कुराले मेरो मनमा चोट लाग्यो। जति कमाए पनि समाजमा जागिरकै भ्यालु (मान) रहेछ भन्ने लाग्यो। जनकपुर आएर बिएड पढेपछि जागिरका लागि प्रयास गर्दै छु।
मलाई त खरिदार, सुब्बा, अधिकृत भन्ने पनि थाहा थिएन। शिक्षक बन्न के गर्नुपर्छ भन्ने पनि थाहा थिएन। यहीं (जनकपुर) आएर थाहा पाएँ। लोकसेवाको तयारी गरें, परीक्षा दिएँ तर मेरो मिहिनेत पुगेन होला।
मनोरञ्जनका लागि के गर्नुहुन्छ?
पुराना हिन्दी गीत सुन्छु। गीत सुन्दै काम गर्छु।
खानपिनमा सबैभन्दा धेरै के मनपर्छ?
सबै मनपर्छ। च्याउको तरकारी र न्युरोको साग बढी मन पर्छ। खसीको मासुसँग भात खान सबैभन्दा धेरै मनपर्छ।
परिवारमा मेलमिलाप कस्तो छ?
धेरै राम्रो मेलमिलाप छ। मेरा देवरानीहरू असल छन्। म धेरैजसो जनकपुरमै बस्छु, चाडपर्वमा गाउँ जान्छु। म जाँदा देवरानीहरू खुसी हुन्छन्।
तपाईंको स्वास्थ्य अवस्था कस्तो छ?
एकदमै स्वस्थ छु।
निद्रा कस्तो छ?
निद्रा त मज्जाले आउँछ। जुनसुकै बेला निदाइहाल्छु।
यति बेला हातमा ठिक्कको पैसा अउँदो हो त किन्नुहुन्छ होला?
केही लालसा छैन। परिवार सुखी रहोस्। अर्काका सामु हात फैलाउनु नपरोस्। यति भए पुग्छ।
गाउँको र जनकपुरको समाजमा कस्तो भिन्नता देख्नुहुन्छ?
गाउँमा पनि सजिलो छैन। आजकाल कोहीसँग कोही मतलब राख्दैन। आपत् विपद् पर्दा सहयोग गर्ने परम्परा पनि कम हुँदै छ। कुरा काट्ने र कुरा लगाउने धेरै हुन्छन्। सकारात्मक कुरामा गाउँ अगाडि छैन। श्रीमान् विदेशमा भएका महिलाहमाथि हिंसा हुन्छ, ती महिलाका पक्षमा बोल्ने कोही पनि हुँदैन।
यता जनकपुरमा मान्छेलाई कुरा लगाउने, कुरा काट्ने फुर्सद हुँदैन। सबै आआफ्नो काममा व्यस्त हुन्छन्।
देशको राजनीति कस्तो लाग्छ?
राजनीति त मन नै पर्दैन। राजनीति गर्न केही योग्यता तोकेको भए राम्रो हुन्थ्यो होला। लेखपढ गर्न पनि नजान्ने मान्छे नेता भएको छ। पैसाको बलमा चुनाव जितेर सांसद हुन्छ तर संसदमा बोल्न जान्दैन, के बोल्नुपर्छ भन्ने थाहा हुँदैन।
पढेलेखेको र असल मान्छले चुनाव जित्दैन। त्यस्तो मान्छेलाई जित्नै दिँदैनन्। जनतालाई मासु र रक्सी खुवाउनेले चुनाव जित्छ।
तपाईंलाई मन पर्ने नेता को हो?
मलाई त बालेन शाह मन पर्छ। उनले काम गरेर देखाएका छन्। अरू नेताजस्तो चिच्याउँदैनन्। न्युजमा सबैतिर बालेनप्रति पोजेटिभ भ्यु (सकारात्मक दृष्टि) देख्छु। अब युवाहरू राजनीतिमा आउनुपर्छ।
गएको संसदीय चुनावमा कसलाई भोट दिनुभयो?
त्यो त याद नै छैन। कोको उम्मेदवार थिए भन्ने पनि बिर्सें।
अब हुने संसदीय चुनावमा कसलाई भोट दिनुहुन्छ?
चुनावकै बेला सोच्छु। राम्रो उम्मेदवार हेरेर मात्र भोट दिन्छु।
यति बेला सरकारले के काम गर्नुपर्छ जस्तो लाग्छ?
सबैभन्दा पहिले स्कुल सुधार गर्नुपर्यो। स्कुलमा निरीक्षण र अनुगमन बढाउनुपर्यो। राम्रो नपढाउने र राजनीति गर्ने शिक्षकलाई कारबाही गर्नुपर्यो।
स्वास्थ्य चौकीमा दबाई दिनुपर्यो। डाक्टर पठाउनुपर्यो। गरिब र निमुखालाई औषधिउपचार र खाद्यान्नमा सहयोग गर्नुपर्यो।
सरकारले गर्नै नपर्ने काममा बजेट दुरूपयोग गरेको छ। गाउँको बाटोमा नाला बनाएको छ तर पानीको निकास छैन, नालामै पानी जमेर गनाउँछ। नालाबाटै मच्छर (लामखुट्टे) फैलिन्छ। नालामा ढक्कन छैन।
खानेपानीको राम्रो व्यवस्था गर्नुपर्यो। ठाउँठाउँमा सार्वजनिक शौचालय बनाउनुपर्यो।
चुनावका बेला नेताहरू स्मार्ट सिटी बनाउने, स्मार्ट गाउँ बनाउने भन्छन् तर स्मार्ट सिटिजन बनाउने कुरा गर्दैनन्। स्मार्ट सिटिजन भए सबैतिर स्मार्ट हुन्छ।
हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्