(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
महोत्तरीको जलेश्वर नगरपालिका–८ का वीरेन्द्र ठाकुर सुर्खेत बस्न थालेको ६ वर्ष भयो। सैलुनको काम गर्ने वीरेन्द्र यसअघि १६ वर्ष धनगढी बसेका थिए। धनगढीमै उनले सैलुनको काम सिकेका हुन्।
उनले आफ्नो सैलुन भने खोलेका छैनन्। सुर्खेतमा आफन्तले खोलेको सैलुन उनले चलाएका हुन्।
उनै वीरेन्द्रसँग सेतोपाटीको 'हामी आममान्छे' शृंखलाका लागि कुराकानी गरेका छौं।
तपाईंंको पेसा, व्यवसाय कस्तो चलेको छ?
राम्रो चलेको छ। परिवारको खर्च र छोराछोरीको पढाई खर्च पुर्याएको छु।
सुर्खेत बस्न थालेको कति भयो?
६ वर्षअघि सुर्खेत आएको हो। यहाँ आफ्नो पसल छैन। अरूको सैलुन चलाएर बसेको छु।
परिवारमा को को बस्नुहुन्छ? मेलमिलाप कस्तो छ?
हामी श्रीमान, श्रीमती अनि चार जना छोराछोरी छौं। एक जना जेठी छोरीको बिहे भइसक्यो। परिवारमा खटपट कहिल्यै भएको छैन।
तपाईंलाई के गर्दा मज्जा लाग्छ, काममा होस् या मनोरञ्जनमा?
म कहिलेकाहीँ साथीभाइसँग तास खेलेर रमाउँछु। तर त्यो मलाई त्यति मजा लाग्ने कुरा होइन। म गीत सुन्न बढी मन पराउँछु। आफ्नो नियमित कामबाहेक फुर्सद हुँदा गीत सुनिरहेको हुन्छु।
खाने कुरामा के मनपर्छ?
यस्तो, उस्तो खानेकुरा मनपर्ने भन्ने छैन। म दिउँसो खाजा पनि खाँदिनँ। बिहान एक गिलास चिया खाएर दिउँसो खाना खान्छु। त्यसपछि बेलुकाको खाना खाएर आराम गर्छु।
तपाईंको स्वास्थ्य कस्तो छ? मजाले निद्रा पर्छ?
अहिलेसम्म दीर्घरोग छैन। नियमित काम गर्न सकेको छु। बेलुका ९ बजे सुतिसकेको हुन्छु। बिहान साढे पाँच बजे उठ्छु। राम्रो निद्रा लाग्छ।
आफ्नो लागि होस् वा अरूलाई उपहार दिन होस्, यस्तो कुरा किन्न पाएको भए हुन्थ्यो भन्ने लागेको केही छ?
त्यस्तो केही पनि छैन। आफूले किनेर अरूलाई त्यसै त किन दिनु भन्ने लाग्छ। आफ्नो लागि पनि यही कुरा भए हुन्थ्यो भन्ने सोखको कुरा केही छैन।
जीवनमा तपाईं एकदम खुसी भएको कहिले हो? के कुराले खुसी हुनुभएको थियो?
पहिलो सन्तान जन्मिँदा निकै खुसी भएको हुँ। त्यही छोरीको बिहे गरिदिँदा पनि खुसी भएको थिएँ।
जीवनमा एकदमै चित्त दुखेको चाहिँ के कुराले हो?
म खासमा नेपाल प्रहरीमा जागि गर्न चाहन्थेँ। धेरै पहिले विज्ञापन खुलेका बेला म जान चाहन्थेँ। तर मसँग एक हजार रूपैयाँ भाडा नभएर जान सकिनँ। नभए अहिले जागिर खाइसकेको हुन्थेँ होला। त्यही कुराले अहिले पनि चित्त दुख्छ।
यही कुरा गर्न पाएको भए हुन्थ्यो भन्ने लागेको वा नसकेर मन पिरोलेको केही कुरा छ?
नियमित काम गरेकै छु। सीप छँदैछ, सीप अनुसारको काम पाएकै छु। यसबाहेक यही कुरा गर्न पाएको भए हुन्थ्यो भन्ने केही छैन।
अहिलेसम्मको जीवनमा सम्झिन लायक कुरा केही छ तपाईंको?
म यही काम गर्न १६ वर्ष धनगढी बसेँ। त्यहीँ हो यो काम सिकेको पनि। धनगढी बस्दा सुरूमा मैले एक जना प्रहरीको दारी काटेको थिएँ। त्यति बेला मैले जानेको छैन, ब्लेडले काट्न सक्छ भनेर उहाँलाई भनेको थिएँ।
उहाँले कोट पनि केही हुँदैन भनेर कर गर्नुभयो। मैले दारी काट्न लाग्दा उहाँको घाँटीको छाला काटियो। म त्यति बेला डराएर भागेको थिएँ। पछि आफैले बोलाएर मलाई नडराउन भन्नुभयो। यो कुरा चाहिँ सम्झिरहन्छु।
देशको राजनीति कस्तो लाग्छ तपाईंलाई?
मलाई त राजनीति मनैपर्दैन। चुनावमा भोट चाहिँ हाल्छु।
तपाईंलाई आफ्नो समाज वा टोल कस्तो लाग्छ? समाज-टोलको के कुरा मनपर्छ?
समाज ठीक छ। कहिलेकाहीँ सहयोग गर्छ। तर बिहेमा दाइजो लिने, दिने चलन मलाई मनपर्दैन।
देशको नेतामा को मन पर्छ?
नेतालाई भेटेकै छैन। को मनपर्छ भन्नु!
सरकारले के काम गरिदियोस् भन्ने लाग्छ?
सरकारले गर्नुपर्ने काम त कति छ कति! तर सोचे अनुसार काम भएकै छैन। गरिबीको अन्त्य, श्रमको सम्मान हुने व्यवस्था सरकारले गर्नैपर्छ नि!
गएको निर्वाचनमा कसलाई भोट दिनुभएको थियो?
जनमत पार्टीलाई मत दिएको हो।
अब निर्वाचन भयो भने कसलाई भोट दिनुहुन्छ?
अब हुने निर्वाचनमा यहीलाई भोट दिन्छु भन्न सक्दिनँ। त्यस बेला को व्यक्ति आउँछन् र कस्तो कुरा गर्छन्, हेर्नुपर्ला।
'हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्