केही दिनअघि धनगढीको फाप्ला क्रिकेट मैदानमा ‘प्रधानमन्त्री टी–२० राष्ट्रिय महिला क्रिकेट’ प्रतियोगिता चल्दै थियो। सेमिफाइनलको खेल हेर्न दर्शकहरू मैदानमा पुगेका थिए। मेरो ध्यान मैदानको एक छेउमा बसेकी, हँसिलो मुहारकी एक महिलातिर गयो।
उनी रहिछन् धनगढी उपमहानगरपालिका–३ निवासी ३४ वर्षीया ललिता विष्ट। यहाँको मैदानमा क्रिकेट हेर्न आउने महिलाको संख्या नगन्य हुन्छ। यस्तै मध्येकी एक ललिता खेल हेर्नमा मग्न थिइन्। खेलकै क्रममा मैले उनीसँग सेतोपाटीका लागि केही बेर भलाकुसारी गरें।
तपाईंको जन्म कहाँ भएको हो?
मेरो जन्म बझाङमा भएको हो; अहिलेको जयपृथ्वी नगरपालिका, पडेस गाउँमा।
धनगढी बसेको कति भयो?
पहिलाको घर बझाङकै बित्थडचिर गाउँपालिका–७ मा थियो। अहिलेचाहिँ धनगढीको बोराडाँडीमा बसाइ छ। यहाँ बसेको १० वर्ष भयो।
बझाङबाट धनगढी किन आउनुभएको?
बित्थडमा हाम्रो गाउँ एकदम दुर्गम थियो। गाउँपालिकाको सबैभन्दा विकट ठाउँ हो। त्यहाँ पहिरो आउने समस्या थियो। बेलाबेलै सुख्खा पहिरो आउँथ्यो। एकएक गर्दै मानिसहरू बसाइँ सर्न थाले।
त्यहाँ बस्न सक्ने अवस्था नै भएन। केटाकेटी (छोराछोरी) को पढाइका लागि बसाइँ नसरी नहुने भयो। आफ्नो ठाउँ छोड्नै पर्ने भएपछि धनगढी नै आयौं। अलिअलि गर्दै घरजग्गा जोडेर बसेका छौं।
आफ्नो बाल्यकाल कसरी सम्झिनुहुन्छ?
मेरो बाल्यकाल राम्रो थियो। विद्यार्थी जीवन थियो, रमाइलो थियो। मैले केही वर्ष भलिबल खेलें। खेल्न थालेपछि खान पनि बिर्सन्थें।
कति वर्ष खेल्नुभयो?
२०६२ सालदेखि चार वर्ष जति खेलें। खेल्दै जिल्लास्तर र क्षेत्रीयस्तरसम्म पुगें।
२०६५ सालमा एउटा क्षेत्रीय प्रतियोगिता खेलें। त्यसपछि रोकियो।
तपाईंको समयको खेल कस्तो हुन्थ्यो?
अहिलेको जसरी घरबाट खासै सपोर्ट (सहयोग) पाइँदैन थियो। केटीले खेल्नु गाह्रो काम थियो। घर छोडेर जान दिँदैन थिए। घरमा धेरैपटक भनेपछि, स्कुलमा पनि कुरा गरेपछि मात्र क्षेत्रीयस्तरमा पुगेकी थिएँ। मसँग खेल्ने सबै केटीहरूको अवस्था त्यस्तै थियो।
पढाइ कहाँसम्म पुर्याउनुभयो?
ब्याचलर (स्नातक तह) सम्म पढें। त्यसपछि रोकियो।
त्यसपछि के गर्नुभयो?
पैसा कमाउने काम केही पनि भएन। घरकै काम र केटाकेटीको हेरचाहमा समय बितेको छ। जिन्दगी यस्तै होला जस्तो छ।
कति वर्षको उमेरमा बिहे भयो?
बिहे हुँदा बीस वर्षकी थिएँ। घरबाटै बिहे गरिदिएका हुन्।
बिहेपछिको जिन्दगी कस्तो रह्यो?
बिहेपछिको जिन्दगी सुखद् नै छ। मेरा घरका मान्छे शिक्षित छन्। श्रीमानको राम्रो सहयोग मिलेको छ। परिवारबाट दुःख भोग्नुपरेको छैन। परिवारका सबै साथ सहयोग छ। अहिलेसम्म खुसी छु।
बिहेपछि पनि पढ्नुपर्छ भन्ने सोच भएन?
बिहे भएपछि पनि पढ्नुपर्छ भन्ने थियो। घरकाले पनि पढ भनेका थिए तर केटाकेटी (छोराछोरी) भए। पढाइ गर्न पाइएन।
कति जना छोराछोरी छन्?
दुई जना, एक छोरा र एक छोरी। छोरो सात कक्षामा पढ्छ, छोरी चार कक्षामा।
भविष्यमा छोराछोरीले के गरून् भन्ने चाहनुहुन्छ?
धेरै पढेर राम्रो जागिर गरून् भन्ने चाहना छ। छोरो क्रिकेटर बन्न चाहन्छ। उसलाई क्रिकेट सिकाउन धनगढी क्रिकेट एकेडेमीमा भर्ना गरेका छौं। उसको चाहना हाम्रो (आमाबुबा) पनि हो।
म पनि कुनै समय खेलाडी भएकीले छोरो राम्रो क्रिकेटर होओस् भन्ने चाहन्छु। खेलमा राम्रो गरोस्, पढाइ पनि राम्रो होओस् भन्ने कामना छ।
तपाईं के काममा बढी रमाउनुहुन्छ?
म खेल भनेपछि हुरूक्कै हुन्छु। बाल्यकालमा जेसुकै भए पनि खेल्न पाउँदा खुब रमाउँथेँ। अहिले त आफू खेल्न सक्दिनँ तर सम्भव भएसम्म खेल हेर्न मैदानमै पुग्छु। मैदानमा पुग्न नपाए लाइभ भएको रहेछ भने टिभीमा हेर्छु। मोबाइलमै पनि लाइभ हेरेर रमाउँछु।
तपाईंलाई मनपर्ने खाना के हो?
सबभन्दा बढी मन पर्ने त दालभात नै हो। बासी भात भए पनि राम्रो लाग्छ। दालभात खेर फाल्न मन लाग्दैन। फलमा केरा मन पर्छ।
यतिबेला ठिकठिकै पैसामा के किन्न पाए हुन्थ्यो भन्ने लाग्छ?
अहिले खासै केही पनि किन्न मन छैन। सबै पुगेकै छ। बिहानबेलुका खान पाए भयो। शरीर ढाक्न लुगा हुनुपर्यो। यो पाए हुन्थ्यो, ऊ पाए हुन्थ्यो भन्ने चाहना छैन। अहिलेलाई मनमा सुन्तुष्टि भए पुग्छ।
तपाईं सबैभन्दा धरै खुसी कहिले हुनुभयो?
सधैं खुसी नै छु। छोराछोरी जन्मिँदा धेरै खुसी भएकी थिएँ।
धेरै चित्त दुखेको कुनै घटना छ कि?
म खेलाडी हुँदा छोरीलाई खेल्न रोक्ने कुरा हुन्थ्यो। एकपटक मलाई पनि छोरीले खेल्नु हुँदैन, खेल्न टाढा जानु हुँदैन भनेर रोक्ने कुरा भएको थियो। गाउँघरका मान्छेले पनि मेरा आमाबालाई छोरीलाई खेल्न टाढा पठाउनु हुँदैन भनेका थिए।
२०६५ सालमा क्षेत्रीय गेम खेल्न जाने बेला सबैतिरबाट मलाई रोक्ने प्रयास भएको थियो। घरमा विश्वास दिलाएर म गएरै छाडें। म खेल्न गएपछि धेरैले कुरा काटेका थिए। त्यति बेला साह्रै चित्त दुखेको थियो।
मन पिरोल्ने कुनै घटना छ कि?
अहिलेसम्म त्यस्तो केही पनि छैन। ढुक्क छ।
तपाईंको स्वास्थ्य अवस्था कस्तो छ?
अहिलेसम्म सब ठिक छ।
रातमा निद्रा कस्तो छ?
ठिक छ। मजाले निदाउँछु। आफू खेलाडी भएको समयमा खेल सकिएको दिन खुब निद्रा लाग्थ्यो। बिहान घरका मान्छेले उठ् भनेर कराउँदा पनि उठ्न मन लाग्दैन थियो।
मान्छेको जिन्दगी के रहेछ जस्तो लाग्छ?
मान्छेको जिन्दगी पिँडालुको पातको पानी जस्तै रहेछ। यता पनि पोखिन सक्छ, उता पनि पोखिन सक्छ, भरोसा नै हुँदैन।
आगामी दिनमा के गर्ने विचार छ?
मलाई नेता बन्ने सोच आएको छ। गाउँसमाजको हितमा केही काम गर्छु भन्ने लागेको छ। चुनावमा उठ्ने (उम्मेदवार हुने) चाहना छ। आउने चुनावमा वडाको महिला सदस्यमा भए पनि उठ्छु भन्ने लागेको छ।
ब्याचलर (स्नातक तह) सम्म पढेकी छु। उमेर छ, केही न केही राम्रो काम गर्छु भन्ने विश्वास छ। भविष्यको केही चाहना र योजना पनि छ।
नेता बन्छु भन्दा परिवारको सहयोग पाउनुहुन्छ त?
पाउँछु नि! यसमा कसैको रोकतोक हुँदैन।
तपाईंलाई आफ्नो गाउँसमाज कस्तो लाग्छ?
राम्रो लाग्छ, गाउँसमाज ठिक छ। हाम्रो गाउँका मानिस कुरा बुझ्ने खालका छन्। एकअर्कालाई सहयोग गर्ने चलन छ।
तपाईं नेता बन्छु भन्नुहुन्छ, देशको राजनीति कस्तो लाग्छ?
हाम्रो राजनीति त केही न कामको भयो। म धनगढी आएको १० वर्ष भयो। त्यति बेलादेखि नै फाप्ला क्रिकेट मैदान बन्छ भन्ने सुनेको हो, अहिलेसम्म बन्न सकेन। योजना आयो भनेको पनि सुनिन्छ तर काम भएको देखिँदैन।
यो मैदानको घेरबारा त टोलका हामी महिलाहरूले गरेको हो। मैदानका लागि आएको पैसा कहाँ जान्छ, थाहा हुँदैन।
देशमा तपाईंलाई मनपर्ने नेता को हो?
मलाई त कोही पनि मन पर्दैन। अहिलेसम्मको कोही पनि नेता मन परेको छैन।
अहिलेसम्म कतिपटक भोट दिनुभयो?
मैले त एकपटक पनि दिएको छैन। जितेर गएका कुनै पनि नेताले जनताका लागि काम गरेनन्। त्यस्तालाई भोट दिएर के गर्नु!
कस्ता नेतालाई भोट दिन चाहनुहुन्छ त?
अझै पनि भोट दिने कि नदिने भन्ने अन्यौलमा छु। यहीं धनगढीको हाम्रो टोलमा बाटोको नाली पनि बनेको छैन।
भोट माग्ने बेलामा सडक बन्छ, नाली बन्छ, खानेपानी आउँछ भनेका थिए। अहिलेसम्म केही पनि भएको छैन।
कसरी नेता छान्ने हो! कसलाई भोट दिने हो! म त अन्योलमा छु।
यति बेला सरकारले के काम गरोस् भन्ने चाहनुहुन्छ?
बस्तीमा खानेपानी, सडक, नाली, हुनुपर्यो। ठूला कुरा र ठूला काम मात्र गरेर भएन। सहरमा मात्र गरेर पनि भएन। मानिसका ससाना आवश्यकतामा ध्यान दिनुपर्यो। ससाना बस्तीहरूमा पनि सरकार देखिनुपर्यो।