(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ— सम्पादकीय नोट)
हामी आममान्छे
आरती बर्मा बुटवल–७ दिपनगरस्थित शिवालय मन्दिरको गेटैमा ठेलामा फलफूल बिक्री गरिरहेकी थिइन्। हरेक सोमबार साप्ताहिक हाटबजार लाग्ने दिपनगरमा लत्ताकपडासँगै तरकारी र फलफूलको सानोतिनो व्यापार भने दैनिक हुने गर्छ। ४५ वर्षीय आरती पनि दैनिक रूपमा ठेलामा फलफूल राखेर बिक्रीको लागि पुग्ने गर्छिन्। आरतीले मन्दिरको गेटै अगाडि ठेला राखेर फलफूल बिक्री गरिरहँदा उनका श्रीमान ओमप्रकाश गुप्ता मन्दिरको पारीपट्टि ठेलामै फलफूल राखेर बिक्री गरिरहेका थिए। ठेलाभरी फलफूल राखेर उभिएकी तिनै आरतीसँग सेतोपाटीको लागि गरिएको कुराकानी।
फलफूलको व्यापार कस्तो छ, एकदिनमा कतिको बिक्री हुन्छ?
त्यति धेरै व्यापार छैन। दुई जनाको गरेर दिनमा कहिले पाँचहजार, कहिले सात हजारको व्यापार हुन्छ।
श्रीमान श्रीमती दुबै जनाले बिक्री गर्दा दिनमा कति नाफा निस्किन्छ?
नाफा त मलाई थाहा हुँदैन। श्रीमानलाई सोध्नुपर्छ। मण्डीबाट फलफूल ल्याउने श्रीमानले गर्नुहुन्छ। कतिमा ल्याउनुभएको हो मैले सोधिखोजी गर्दिनँ। यो फलफूल यति रुपैयाँमा बिक्री गर्नुपर्छ भन्नुहुन्छ मैले त्यही अनुसार बिक्री गर्छु। कहिलेकाहीँ ग्राहकले धेरै मोलमोलाई गर्नुभयो भने दुई चार रुपैयाँ घटाएर पनि दिने गर्छु। महंगो भनेर कुहाएर राख्नुभन्दा थोरै नाफा राखेर भए पनि छिटो छिटो बिक्री गर्दा राम्रो हुन्छ।
फलफूलको व्यापार सुरू गर्नुभएको कति वर्ष भयो?
अहिले पाँच वर्ष जति भयो।
पहिले के काम गर्नुहुन्थ्यो?
पहिले त सुख्खानगरमै कपडा सिलाउने पसल थियो। १८ वर्षभन्दा बढी सिलाइ पसल चलायौं। त्यो छोडेर ठेलामा फलफूलको व्यापार सुरू गरेको हो।
१८ वर्षसम्म गरेको सिलाइ पसल किन छोड्नुभयो?
कोरोनाको बेलामा दुई तीन वर्ष कपडा सिलाउने मान्छे नै आएनन्। सटर भाडा तिर्न गाह्रो भएपछि पसल बन्द गरेर बस्यौं। कोरोनाको संक्रमण कम हुँदै गएपछि ठेलामा फलफूल राखेर बिक्री गर्न थालेका थियौं त्यसपछि यतै लागियो।
कपडा सिलाउने काम सजिलो रहेछ कि फलफूलको व्यापार गर्न?
फलफूलको व्यापार नै ठिक रहेछ। कपडा सिलाउँदा ग्राहक चित्त बुझाउनै गाह्रो हुन्छ। कहिले सानो भयो भन्छन्, कहिले ठूलो भयो मिलेन भन्छन्। कहिले यस्तो डिजाइन भनेको अर्कै भएछ भन्छन्। जसो गरे पनि चित्त बुझाउनै सकिन्न। फलफूलको व्यापार गर्न ठेलामा राखेर हाटबजार आयो। ग्राहकलाई चित्त बुझे रोजेर लैजानुहुन्छ, चित्त नबुझे त्यसै जानुहुन्छ गुनासो सुन्नुपर्दैन।
तपाईंको घर कहाँ हो?
घर त पश्चिम नवलपरासीको परासी हो।
बुटवलमा बस्न थाल्नुभएको कति वर्ष भयो?
२२/२३ वर्षभन्दा बढी भयो बुटवलमा बसेको।
घरमा कोको हुनुहुन्छ?
हामी श्रीमान श्रीमती, दुई वटा छोरी र एउटा छोरा छन्।
छोराछोरीले कत्तिको सुख दिएका छन्?
अहिले त सानै छन्। आफै पढ्दै छन्। काम गर्ने भएपछि सुख देलान्। अहिले पनि घरको काममा सघाउँछन्। छोराछोरीबाट म धेरै खुसी छु।
अरू हाटमा पनि जानुहुन्छ?
जाँदैनौं। यहीँ मात्र आउँछौं। बस्ती बाक्लो भएकोले सानो तिनो बजार सधैंभरी लाग्छ यहाँ।
तपाईंलाई व्यापार बाहेक अरू के गर्न मन लाग्छ?
व्यापार गर्नै मन लाग्छ। साँझ बिहान घरको काम गर्दा ठिक्क हुन्छ। दिउँसो १२/१ बजेपछि बल्ल फलफूल लिएर आउँछु। साँझ ७ बजेसम्म यही ठेलामा हुन्छ। अरू काम गर्ने फुर्सद नै हुँदैन।
तपाईंलाई सबभन्दा बढी के खान मन लाग्छ?
खानेकुरा त नेपाली खाना दालभात तरकारी नै मन पर्छ। माछामासु खान त्यति धेरै मन पर्दैन। सिजन अनुसारको फलफूल खान पनि मन पर्छ।
तपाईंको स्वास्थ्य कस्तो छ?
अहिलेसम्म त कुनै विमार छैन स्वास्थ्य राम्रो छ। बिरामी भएर कहिल्यै औषधि खानु नपरे हुन्थ्यो भन्ने चाहना छ।
तपाईंलाई निद्रा कत्तिको लाग्छ?
निद्रा त धेरै लाग्छ। दिनभरी घाम पानी नभनी ठेला लिएर हिँड्ने हो। रातिको खाना खाएर सुत्दा ११ बजिहाल्छ। बिस्तारमा पुगेपछि निद्रा लागिहाल्छ।
तपाईंलाई ठिक्क पैसामा यस्तो चिज किन्न पाए हुन्थ्यो भन्ने केही छ?
पैसा भए यस्तो गर्नुहुन्थ्यो भन्ने त धेरै छन् नि। अहिलेसम्म एउटा घडेरी किन्न पनि सकिएको छैन। पैसा भए गाउँतिरै सानो टुक्रा भए पनि घडेरी किन्न हुन्थ्यो। सिलाई पसल चलाएर कमाएको दुई तीन लाख रुपैयाँ थियो कोरोनाको बेलामा सबै सकियो। फलफूल बिक्री सुरू गरेपछि चार पाँच सय रुपैयाँ गर्दै सुप्रिम सहकारीमा साढे दुई लाख रुपैयाँ बचत गरेका थियौं। सहकारीका सञ्चालकले खाएर सबै डुबाइदियो।
सुप्रिम सहकारीमा बचत गर्नुस् भनेर कसले भनेको थियो?
बजार बजार डुल्दै आउँथे मान्छेहरू। धेरै ब्याज दिन्छ दिनमा जति रुपैयाँ बचत हुन्छ, त्यति जम्मा गर्न पाइन्छ भनेर आएका थिए। उनीहरूको कुरा पत्याएर दु:ख गरेको पैसा सबै बुझाइयो नि।
तपाईं सबभन्दा धेरै खुसी कहिले हुनुभयो?
छोराछोरी स्कुलको परीक्षामा पास हुँदा खुसी लाग्छ।
तपाईं सबभन्दा धेरै दुखी कहिले हुनुभयो?
सहकारीमा पैसा डुबेपछि धेरै दु:ख लाग्यो। चार पाँच वर्षसम्म आफूले मिठो नखाएर, राम्रो नलगाएर बचत गरेको पैसा डुब्दाखेरी धेरै दु:ख लाग्यो नि। त्यही पैसाले गर्दा मनमा तनाव भएको छ।
तपाईंको मनमा गढेर बसेको वा पिरोलिरहेको कुनै पिर छ, जुन यस्तो नभइदिएको भए हुन्थ्यो भन्ने केही?
छ नि! नचिनेको, नजानेको मान्छेको कुरा पत्याएर सहकारीमा पैसा नबुझाएको भए हुन्थ्यो भन्ने लाग्छ। बुझाइहाले पनि अब फिर्ता भए हुन्थ्यो भन्ने छ।
तपाईंलाई आफ्नो टोल समाज कस्तो लाग्छ?
टोल समाज त राम्रो लाग्छ। आफ्नो घर नभए पनि सुख्खानगरमै भाडामा बसेको २०/२२ वर्ष भयो। सबै जनासँग मिलेर बसेका छौं। राम्रो छ।
तपाईंलाई नेपालको राजनीति कस्तो लाग्छ, ठिकसँग चलेको छ भन्ने लाग्छ?
राजनीति मैले धेरै बुझेकी छैन। राम्रै त चलेको होला।
तपाईंलाई नेपालको मनपर्ने नेता को हो?
नेताहरू त मैले चिनेको छैन। को नेता, कस्तो छ केही पनि थाहा छैन। दिनभरी घरभित्र र यही ठेलामा हुन्छु। नेता, राजनीति केही पनि थाहा छैन।
भोट हाल्न जानुहुन्छ?
भोट हाल्न त जान्छु।
गएको चुनावमा कसलाई भोट दिनुभएको थियो?
भोट कसलाई दिएँ त्यो त थाहा छैन तर, कमलको फूलमा छाप लगाएको हो। कमलको फूल कसको चिह्न थियो थाहा भएन।
अहिलेको अवस्थामा चुनाव भयो भने कसलाई भोट दिनुहुन्छ?
चुनाव हुने बेलासम्म घरका मान्छेले कसलाई भोट हाल्न भन्छन् उसैलाई त दिने होला।
तपाईंको विचारमा सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
सरकारले आफ्नो जग्गा जमिन नभएकोलाई एक टुक्रा भए पनि जग्गा दिए हुन्थ्यो। गरिबहरू जग्गा किनेर घर बनाउन सक्दैनन्। जग्गा भयो भने बारेर भए पनि बस्ने छाप्रो बनाउन हुन्थ्यो।
'हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्