(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ— सम्पादकीय नोट)
हामी आममान्छे
रूपन्देहीको तिलोत्तमा नगरपालिकाको कार्यालय प्रवेश गर्नेबित्तिकै भर्याङमुनि 'हेल्लो तिलोत्तमा' लेखिएको टोल फ्री नम्बर सहितको बोर्ड टाँगिएको थियो। बिहीबार ११ बजेतिर म नगरपालिकाको कार्यालय पुग्दा ७४ वर्षीय दामोदर घिमिरे त्यही टोल फ्री नम्बर लेखिएको बोर्डमुनि बसेर दुई वर्षकी नातिनी मनुको गतिविधि नियालिरहेका थिए। तिनै दामोदरसँग सेतोपाटीका लागि गरिएको भलाकुसारी।
तपाईं नगरपालिकामा केही सेवा लिन आउनुभएको थियो कि?
मेरो लागिभन्दा पनि भित्र बुहारी गीताले तालिम लिइरहेकी छन्। मैले बाहिर बसेर नातिनी हेरेको छु। नातिनीलाई घरमै बसेर पनि हेर्न त सकिन्थ्यो तर, बुहारीलाई स्कुटरमा राखेर ल्याउन पनि पर्यो। नातिनीलाई पनि ल्याएपछि उनी पनी यतै खेल्छिन् भनेर यतै लिएर आएको हो।
घर कहाँ हो नि?
घर त पहाड गुल्मीको इश्मा गाउँपालिका घमिर हो। अहिले तिलोत्तमा नगरपालिका वडा नं. ११ शिवपुरमा बस्छु।
तिलोत्तमा बस्न थाल्नुभएको कति वर्ष भयो?
यहाँ बस्न थालेको २० वर्ष भयो।
दिन कसरी बिताउनुहुन्छ?
मैले पूजापाठ गराउने र चिना हेर्ने पनि काम गर्छु। कहिलेकाहीँ तिनै काममा हिँड्छु। घरमा भएको बेला नातिनीसँग खेल्दा दिन बित्छ।
पहिले अलि युवा उमेरमा के काम गर्नुभयो ?
पहिले पनि पूजापाठ गराउने, चिना हेर्ने, खेतीपातीको काम गर्ने गरेर बित्यो। कतै जागिर खान पनि पाइएन। अरूका देशमा काम गर्न पनि गइएन।
घरमा को को हुनुहुन्छ?
अहिले त म, नातिनी, कान्छो छोरा र बुहारी छन्। जेठो छोराले आफै ज्यान फाल्यो। जेठी बुहारी कपिलवस्तु बसेर पढाउँछिन्। दुई वटी छोरी हुन्। उनीहरूको विवाह भएर आफ्नै घरमा छन्। श्रीमतीलाई दमको रोग थियो १० वर्ष पहिल्यै मलाई एक्लै छाडेर भगवानको काखमा गइन्।
छोराबुहारीले कत्तिको खुसी दिएका छन्?
उनीहरूले त खुसी दिएका छन्। छोराको आँखाको दृष्टि छैन। तर पनि मास्टरसम्म पढेर अहिले सरकारी शिक्षक छन्। टीकाराम घिमिरे हो छोराको नाम। धेरै वर्ष रेडियोहरूमा काम गर्यो। दुई वर्ष पहिले शिक्षकमा नाम निकालेर मर्चवारतिरको स्कुलमा पढाउँछन्। छोराले मेहनत गरेर नाम निकाले पनि सरकारले दुर्गम ठाउँमा पठाइदिएको छ। आँखा नदेख्ने मान्छे त्यहाँ एक्लै बस्न पनि गाह्रो। दिनदिनै घरबाट आउने-जाने गर्छन्। उनलाई धेरै दुख भएको छ। सरकारले नजिकको स्कुलमा पढाउने व्यवस्था गरिदिए हुन्थ्यो।
तपाईंलाई के काम गर्न मन लाग्छ?
अब त के काम गर्ने हो र! यिनै नातिनीसँग खेल्ने यस्तैमा रमाइलो लाग्न थालेको छ।
तपाईंलाई सबभन्दा बढी के खान मन पर्छ?
खानेकुरामा सबभन्दा बढी मनपर्ने गहुँको सुख्खा रोटी र दाल हो। मलाई त बाक्लो दाल र भुक्क फुलेको तातो सुख्खा रोटी पाए अरू केही चाहिन्न। साँझमा धेरैजसो रोटी नै खान्छु।
तपाईंको स्वास्थ्य कस्तो छ?
अहिलेसम्म केहीको औषधि नियमित खान परेको छैन। त्यही भएर स्वास्थ्य राम्रै छ भन्नुपर्यो तर, हातखुट्टा झमझमाउने, टाउको दुख्ने हुन्छ।
कति समय भयो यस्तो समस्या भएको?
हातखुट्टा झमझमाउन थालेको तीन चार वर्ष भयो। अहिले कान दुम्म हुन्छन्, टाउको पनि धेरै दुख्न थालेको छ।
डाक्टरलाई जँचाउनु भएको छैन?
केही दिन पहिले पनि अस्पताल गएर डाक्टरलाई जँचाएको केही छैन भनेर पठाइदिए। अस्ति राति पनि त्यस्तै भयो। जँचाउँदा डाक्टरले केही छैन भन्छन् तर, शरीरमा सन्चो छैन।
रातिमा निद्रा कत्तिको लाग्छ?
आजभोलि निद्रा पनि त्यति धेरै लाग्दैन। दुई-तीन भयो निद्रा नलागेर जागै रात बित्छन्।
निद्रा नलाग्दा मनमा के कुरा खेल्छन्?
धेरै कुरा खेल्छन् नि! छोरा हिम्मतिलो भए पनि उसैलाई सहयोगी चाहिने छ। म बुढो भएँ। बुढी पहिले नै बितिन्। मेरा दिन कसरी बित्लान्, अझै दिन बित्दै जाँदा दु:ख पाइने हो कि भन्ने लाग्छ। दु:ख नपाइकन सुटुक्क भगवानको काखमा जान पाए त हुन्थ्यो भन्ने सोच्छु।
तपाईंलाई ठिक्क पैसामा यस्तो चिज किन्न पाए हुन्थ्यो वा कहीँ जान पाए हुन्थ्यो भन्ने केही छ?
मन त के के छ के के। मन भएर के गर्ने पैसा छैन।
पैसा भए के गर्नुहुन्थ्यो?
पक्की घर बनाउने थिएँ। अहिले टिनको छानो हालेको छ। हावाहुरी लाग्दा उडाउँछ कि भन्ने डर छ। पैसा भए त टिन फालेर ढलान गर्नुहुन्थ्यो।
तपाईं सबभन्दा धेरै खुसी कहिले हुनुभयो सम्झिनुहुन्छ?
मेरो जीवन पीडाले भरिएको छ। तर पनि दु:खी भएर बसिनँ। श्रीमती साथमा हुँदा जस्तो परिस्थिति पनि पार गर्न सकिने रहेछ। श्रीमती छँदा खुसी थिएँ। म कहीँ गएर आउँदा खाना पकाएर खान दिन्थिन्। म कतै पूजापाठको लागि बाहिर गएको छु भने नआउँदासम्म रातिसम्म पनि मलाई पर्खिएर नखाई बस्थिन्। कहिलेकाहीँ मैले उतै खाएर आएँ भने पनि म आएपछि बल्ल खान्थिन्। ती दिन धेरै खुसीका र रमाइला थिए।
तपाईं सबभन्दा धेरै दु:खी कहिले हुनुभयो?
बुढीले छोडेर जाँदा नै भएँ धेरै दु:खी त। घरमा दृष्टिविहीन छोरा छ। आफ्नो पनि केही कमाइ-धमाइ छैन। कहिलेकाहीँ पूजापाठमा गएर दुई-चार सय दक्षिणाले के हुन्थ्यो। घरमा खाना पकाउने कि बाहिरतिर जाने। बुढी बितेपछि धेरै दु:ख पनि भयो। अहिले बुहारी ल्याएपछि बल्ल अलि सुखका दिन आएका छन्।
तपाईंको मनमा पिरोलिरहेको कुनै पीर वा यस्तो नभइदिएको भए हुन्थ्यो भन्ने केही छ?
त्यही श्रीमती त्यति छिटो नबितेको भए हुन्थ्यो भन्ने लाग्छ। ऊ बित्दा भर्खर ५३ वर्षकी थिइन्। अहिले ६३ वर्षकी हुने थिइन्। अलि छिटो बितिन्। उसले पनि जीवनभरी धेरै पिर र चिन्ताले दिन बिताइन्। अहिले बाँचेकी भए छोराले विवाह गरेको, नातिनी जन्मिएको देख्ने थिइन् भन्ने लाग्छ। तर, आफूले भनेजस्तो के नै हुन्छ र!
तपाईंलाई आफ्नो टोल समाज कस्तो लाग्छ?
टोल समाज ठिकै छ। आफू अनुसार पनि होला। म पनि त्यति धेरै अरूको घरमा जाने गर्दिनँ। टोल समाजको काम पर्दा सहभागी हुने गर्छु।
तपाईंलाई नेपालको राजनीति कस्तो लाग्छ?
राजनीति पहिले ठिकै लाग्थ्यो, दुई चार वर्ष भयो ठिक लाग्न छोड्यो।
किन ठिक लाग्न छोड्यो?
राजनीतिले जनतालाई के गर्यो भन्नु त। मेरै छोरालाई हेरौं दिनमा एकसय किलोमिटर जति ओहोरदोहोर गरेर स्कुल पढाउन जान्छ। दृष्टिविहीन मान्छेलाई दुई तीन वटा गाडी फेरेर भारतको सिमानामा रहेको स्कुलमा पढाउन जाँदा कति गाह्रो भएको छ होला। चुनावमा भोट दिएर जिताएकाहरूलाई अलि नजिकैको स्कुलमा सरूवा गर्ने व्यवस्था मिलाइदिनुस् भनेर धेरैपटक भनेँ। तर कसैले पनि हाम्रो कुरा सुनेनन्। जनतालाई समस्या पर्दा सहयोग गर्न नसक्ने राजनीति, नेता किन चाहियो।
तपाईंलाई नेपालको नेतामध्ये सबभन्दा मनपर्ने को हो?
मलाई मनपर्ने नेपालमा कोही पनि नेता छैनन्। हामीलाई मन परेर के गर्ने उनीहरूले हामीलाई मन पराउँछन् र!
तपाईंले गएको चुनावमा कसलाई भोट दिनुभयो?
भोट त पहिलेदेखि नै एमालेलाई दिँदै आएको। गएको चुनावमा पनि त्यसैलाई दिएँ।
अहिलेको अवस्थामा चुनाव भयो भने कसलाई भोट दिनुहुन्छ?
अब त भोट दिन नै जान्नँ। भोट दिएर के गर्ने चुनाव जितेपछि हाम्रो भोटको कदर नै गर्दैनन्। चुनावका बेला नमस्कार गर्दै भोट माग्नेहरूले जितेपछि कहिल्यै हाम्रो कुरा सुन्दैनन्। त्यस्तालाई के भोट दिने!
तपाईंलाई सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
सरकारले गरिब, दुखीहरूलाई सहयोग गर्नुपर्यो। को गरिब छ, कसलाई सहयोग चाहिएको छ हेरेर सहयोग गरे हुन्थ्यो। सरकारले विभिन्न जातभातको नाममा कसैलाई सहयोग गर्ने कसैलाई नगर्ने गर्न हुन्न। यहाँ त दलित भनेपछि सम्पन्न र धनीले पनि विभिन्न सुविधा पाएको हुन्छ, ब्राह्मण क्षेत्रीहरू जति गरिब भए पनि सहयोग पाएको हुँदैन। अब यो जात, त्यो जात भनेर होइन को कति धनी र गरिब छ त्यो हेरेर वर्गको आधारमा सरकारले सहायता गर्नुपर्छ।
'हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्