दक्षिण कोरियास्थित नेपाली दूतावासले हाल कोरियामा बढ्दै गएको जि–१ (शरणार्थी) भिसा प्रवृतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
हाल नेपालीहरूले उचित योग्यता तथा आधार बिना झुठा कागजात तयार गरी गलत तरिकाले शरणार्थी भिसाका लागि आवेदन दिने क्रम बढ्दै गएको पाइएको दूतावासले जनाएको हो।
‘कोरिया आउन चाहने नेपालीहरूलाई लक्षित गर्दै केही व्यक्ति तथा समूहहरू टिकटक, फेसबुक, युटुब लगायतका सामाजिक सञ्जालमार्फत जि–१ भिसा सम्बन्धी भ्रामक, गैरकानुनी र प्रलोभनपूर्ण विज्ञापनमार्फत अवैध भिसा व्यापारमा सक्रिय भएको सूचनाप्रति दूतावासको गम्भीर ध्यानाकर्षण भएको छ,’ एक सूचना जारी गर्दै दूतावासले भनेको छ।
यसरी विभिन्न बहानामा पैसा असुलेर नेपालीलाई शरणार्थी बन्न उक्साउने गतिविधि भइरहेकाले यसमा सचेत हुन दूतावासले आग्रह गरेको छ।
यस्तो भिसा नलिन समेत दूतावासले अनुरोध गरेको छ।