नेपाल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागबीच अनुसन्धान सम्बन्धी कार्यमा सहकार्य गर्ने विषयमा बुधबार सम्झौता भएको छ।
सम्झौतापत्रमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागका निमित्त विभागीय प्रमुख सहप्राध्यापक नवराज अधिकारी र नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत होमबहादुर खड्काले हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीहरूले नेपाल बैंकमा इन्टर्नसीप गर्न पाउने र सो विभागका विद्यार्थीहरू र प्राध्यापकहरू मार्फत नेपाल बैंकले आर्थिक तथा बैंकिङ क्षेत्रमा आफ्ना अनुसन्धानात्मक कार्यहरू सञ्चालन गर्नेछ।
बैंकको अनुसन्धानसम्बन्धी कार्यका लागि व्यवस्थापन विभागले विषय विज्ञको रूपमा प्राध्यापकहरूको सूची बैंकलाई उपलब्ध गराउनेछ।
सूची अन्तर्गतका प्राध्यापकहरूलाई आवश्यकताअनुसार बैंकले अनुसन्धानका लागि विषय विज्ञका रूपमा नियुक्त गर्नेछ।
त्यसैगरी, बैंकले गरेका अनुसन्धानसम्बन्धी कार्यमा व्यवस्थापन विभागमा सञ्चालित शैक्षिक कार्यक्रमहरू एमबिए र एमबिएममा अध्ययनरत विद्यार्थीहरूलाई ग्राजुएसन रिसर्च प्रोजेक्ट (जीआरपी) अन्तर्गत शोधपत्र लेखनका लागि छात्रवृत्तिस्वरूप न्यूनतम पाँच जना विद्यार्थीहरूलाई प्रति विद्यार्थी नगद ३० हजार रुपैयाँ प्रदान गर्ने बैंकले बताएको छ।
बैंकले व्यवस्थापन विभागमा एमबीए इन कर्पोरेट लिडरसीपमा अध्ययन गरेका एक जना छात्र र एक जना छात्रा गरी दुई जना सर्वोत्कृष्ट विद्यार्थीहरूलाई प्रत्येक शैक्षिक सत्रमा नगद र मेडलसहित ‘नेपाल बैंक कर्पोरेट लिडरसिप अर्वाड’ समेत प्रदान गर्ने जनाइएको छ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले त्रिविसँगको सहकार्यले नेपाल बैंकको अनुसन्धानसम्बन्धी कार्यमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे।
त्रिवि व्यवस्थापन केन्द्रीय विभागका निमित्त विभागीय प्रमुख अधिकारीले नेपालको पहिलो बैंकसँग आफ्ना विद्यार्थी र प्राध्यापकहरूले अनुसन्धानात्मक कार्यमा सहकार्य गर्न पाउने खुसीको विषय रहेको बताए।