नेप्से घट्ने क्रमले आइतबार पनि निरन्तरता पाएको छ।
साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २३.८३ अंकले घटेको छ।
आज नेप्से १.३० प्रतिशतले घटेर १८१५.१३ बिन्दुमा पुगेर बन्द भएको छ।
फेरि नेप्से यसअघिकै न्यूनतम विन्दु नजिक आएको छ। बजारले फेरि १८ सय अंकको मनोवैज्ञानिक तह परीक्षण गर्न सक्ने देखिएको छ।
यसअघि पनि बजार १८ सयको बिन्दु नजिक आएर फर्किएको थियो ।
यस दिन २२८ वटा धितोपत्रको १ अर्ब ७ करोड २४ लाख ८० हजार ९७ रुपैयाँ बराबरको कारोबार भएको छ।
नेप्से परिसूचक घटेपनि आज कारोबार रकम भने बढेको छ। बिहीबार ६५ करोड ५७ लाख ५ हजार १६९ रुपैयाँ बराबरको सेयर खरीद–बिक्री भएको थियो।
आइतबार अभियान लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।
कम्पनीको आजदेखि कारोबार सुरू भएको हो। ३१६ रुपैयाँमा कारोबार खुला भएको कम्पनीको सेयर १० प्रतिशतले वृद्धि भएर ३४७ रुपैयाँ ६० पैसामा बन्द भएको छ।
त्यस्तै, नबिल इक्विटी फण्डको इकाई मूल्य २.९४ प्रतिशतले बढेको छ। उक्त फण्ड इकाई मूल्य ८ रुपैयाँ ७५ पैसा पुगेको छ।
यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा तेह्रथुम पावर कम्पनी रहेको छ। कम्पनीको सेयर मूल्य ७.९० प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३५२ रुपैयाँमा झरेको छ।
त्यस्तै, कुमारी धनवृद्धि योजनाको इकाई मूल्य ७ प्रतिशतले घटेर प्रति इकाई मूल्य ७ रुपैयाँ ७१ पैसा कायम भएको छ।
यस दिन सर्वाधिक सेयर खरिद–बिक्री लक्ष्मी बैंकको भएको छ। कम्पनीको २ करोड ६० लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।
कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा २.६६ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य १९३ रुपैयाँ कायम भएको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा नबिल बैंक रहेको छ। उक्त कम्पनीको ७५२ रुपैयाँ ९० पैसामा ४ करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यस दिन लगानी समूहको परिसूचक सर्वाधिक २.८२ प्रतिशत र दोस्रोमा वित्त समूहको परिसूचक २.५७ प्रतिशत, र तेस्रोमा जलविद्युत समूहको परिसूचक २.५४ प्रतिशतले घटेको छ।
त्यस्तै, व्यापार, विकास बैंक, उत्पादन तथा प्रशोधन, अन्य र लघुवित्त समूहको परिसूचक १ प्रतिशतभन्दा धेरैले घटेको छ।