एभरेष्ट बैंकका ग्राहकले बैंकको मोबाइल एपमार्फत फोनपको क्युआरबाट भुक्तानी गर्दा दश प्रतिशतसम्म वा बढीमा सय रुपैयाँसम्म छुट पाउने भएका छन्।
फोनपे र एभरेष्ट बैंक बीचमा ग्राहकलाई यस किसिमको सुविधा प्रदान गर्ने सम्झौता भएको हो।
सम्झौतापत्रमा एभरेष्ट बैंकका डिजिटल बैंकिङ प्रमुख शंकर पोखरेल र फोनपेका तर्फबाट बिजनेस डेभलपमेन्ट अफिसर लक्ष्मण महर्जनले हस्ताक्षर गरेका हुन्।
यो योजना असोज ७ गतेदेखि १४ गतेसम्म र कार्तिक २ गतेदेखि ६ गतेसम्म सञ्चालन हुनेछ।
नेपालीहरूको महान चाड दसैंमा किनमेल गर्न केही सुलभ होस् भन्ने उद्देश्यले यो योजना ल्याइएको बताइएको छ।
फोनपेले आफ्ना मर्चेन्ट तथा प्रयोगकर्तालाई लक्षित गर्दै विभिन्न योजना सञ्चालन गर्दै आइरहेको छ।
यसै बीच फोनपेले दसैंलाई लक्षित गर्दै 'चाडवाडमा जीवन सहज बनाऔँ, नगद छाडौँ, फोनपे गरौँ' योजना सुरू गरेको छ।
यस योजनाअन्तर्गत हरेक दिन फोनपे क्युआर गर्ने, फोनपे डाइरेक्ट गर्ने र अनलाइन भुक्तानी गर्ने मध्ये एक जना ग्राहकले दैनिक एक लाख रुपैयाँ जित्न सक्नेछन्।
यसैगरि क्युआरमार्फत भुक्तानी लिने मर्चेन्टले दैनिक सामसङको फोन जित्न सक्नेछन्।
यो योजना असोज ४ गतेदेखि असोज १३ गतेसम्म लागु हुनेछ भने मर्चेन्टहरूले कात्तिक १२ गतेसम्म हरेक दिन मोबाइल जित्न सक्नेछन्।
फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्था तथा विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाइल एपबाट सहजै क्युआरमार्फत भुक्तानी गर्न सकिन्छ।
देशभर ३९ हजार १६७ डेलिभरी च्यानल, १० हजार ९८ आन्तरिक शाखा भएको एभरेष्ट बैंकसँग १५ हजार ७१९ व्यापारिक घराना आवद्ध रहेका छन्।
यसका साथै बैंकका दुई अन्तर्राष्ट्रिय शाखा र देशभर १३ हजार ३५० एटिएम बुथ रहेका छन्।