गत साता सेयर बजारमा कारोबार रकम ५९ प्रतिशतले वृद्धि भयो। अघिल्लो साता २० अर्ब ४१ करोड रूपैयाँको कारोबार हुँदा गत साता ३२ अर्ब रूपैयाँको कारोबार भएको हो।
साताभरमा भएको कारोबारमा एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन रि–इन्स्योरेन्स, शिवम सिमेन्ट, नेपाल पुनर्बीमा, राधि विद्युत, ङादी हाइड्रो, नेपाल लाइफ इन्स्योरेन्स, बन्दिपुर केबलकार, हिमालयन डिस्टिलरी र बरूण हाइड्रो अग्रस्थानमा छन्।
साताभरमा यी कम्पनीको ६४ करोडदेखि दुई अर्ब रूपैयाँसम्म सेयर कारोबार भएको छ।
विगत चार साताको कारोबार केलाउने हो भने चार कम्पनी कारोबार रकमको आधारमा मुख्य १० मा पर्दै आएका छन्। यिनमा एनआरएन, शिवम सिमेन्ट, नेपाल पुनर्बीमा र राधि जलविद्युत कम्पनी हुन्।
पछिल्लो तीन साताको तथ्यांक हेर्दा भने बरूण हाइड्रो पनि धेरै कारोबार हुने १० भित्र अटाउँदै आएको छ।
धेरै समयदेखि नै एनआरएन, शिवम सिमेन्ट र नेपाल पुनर्बीमा कम्पनी भने कारोबार रकमको आधारमा अग्रस्थानमा छन्।
एनआरएन इन्फ्रास्ट्रकरले हालै ४० प्रतिशत बोनस दिएको र हकप्रद सेयर निस्कासन गर्ने प्रक्रियामा रहेकाले पनि यसमा लगानीकर्ताहरू आकर्षित देखिँदै आएका छन्।
शिवम सिमेन्टले पनि हालै लाभांश दिएको छ। चुक्तापुँजी वृद्धिको तयारीमा रहेकाले नेपाल पुनर्बीमा कम्पनीमा पनि लामो समयदेखि लगानीकर्ता आकर्षित छन्। राधि र बरूण हाइड्रोमा भने पछिल्लो समय आकर्षण बढ्न थालेको हो।
कात्तिकको सुरूदेखि राधि विद्युत कम्पनीको कारोबार बढ्न थालेको छ। त्यस्तै, मंसिर ३ गते एक्कासीिउच्च कारोबार हुने प्रमुख कम्पनीमा बरूण हाइड्रो देखापर्यो। त्यसपछि केही शिथिल देखिए पनि कारोबार रकम फेरि बढ्न थालेको छ।
यी कम्पनीमा केही लगानीकर्ताहरू प्रवेश गरेसँगै कारोबार रकम बढ्न थालेको ब्रोकरहरू बताउँछन्।
कस्ता छन् त यी कम्पनी?
पहिले चर्चा गरौं, राधि विद्युतको।
मंसिरयता मात्रै राधिको सेयर मूल्य ८ सय १३ रूपैयाँसम्म पुगेर अहिले भने घट्दो क्रममा छ।
कम्पनीले हालै पहिलो त्रैमास (साउनदेखि असोज) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। गत वर्ष तीन करोड रूपैयाँ नाफा कमाएको यस कम्पनीले यो वर्ष २७ करोड रूपैयाँ नाफा कमाएको छ।
राधिको नाफा बढेकाले यसप्रति लगानीकर्ताको आकर्षण बढेको हो। त्यसबाहेक कम्पनीले अन्य विभिन्न आयोजनामा लगानी गर्दै आएको छ।
यसले कुशुवा खोला हाइड्रो, युनिभर्सल पावर, दोर्दी खोला जलविद्युत लगायतमा लगानी गरेको वार्षिक वित्तीय विवरणबाट देखिन्छ। त्यस्तै, दीर्घकालीन ऋण चुक्ता गर्न र सहायक कम्पनीमा लगानी गर्ने भन्दै ६९ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ।
कम्पनीको यो प्रस्ताव विद्युत नियमन आयोगबाट स्वीकृत भइसकेको छ।
सूचक हेर्दा, राधिको प्रतिसेयर आम्दानी ६० रूपैयाँ ५८ पैसा छ। यसरी कमाएको एक रूपैयाँलाई लगानीकर्ताले भने सेयर मूल्यको रूपमा १२ गुणासम्म तिरिरहेका छन्। अहिले कम्पनीको सेयर सात सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ। एक वर्षको उच्च मूल्य नौ सय ५ रूपैयाँ र न्यून मूल्य तीन सय २२ रूपैयाँ हो।
सबै सम्पत्तिको आधारमा अहिले एक कित्ता सेयरको मूल्य (प्रतिसेयर नेटवर्थ) भने एक सय ५३ रूपैयाँ छ।
राधिको सेयर कारोबारलाई प्राविधिक विश्लेषणबाट हेर्दा भने अहिले मैनबत्ती चित्रले बियरिस (घट्दो प्रवृत्ति) मा रहेको देखाइरहेको छ। चार दिनदेखि लगातार कम्पनीको मूल्यले रातो मैनबत्ती आकृति बनाएको छ।
लामो अवधिको मुभिङ एभरेज (५०–२०० दिने) ले राधिको सेयर बुलिस प्रवृत्तिमै रहेको देखाउँछ भने छोटो अवधिको मुभिङ एभरेज (५–२० दिने) ले बियरिस प्रवृत्तिमा आउन सक्ने संकेत गरिरहेको छ। मूल्य घटेमा सात सय ३७ सम्म पुगेर बढ्न सक्ने संकेत पीभट विश्लेषणले गरिरहेको छ।
अब कुरा गरौं, बरूण हाइड्रोको।
बरूणले हालै पहिलो त्रैमास (साउनदेखि असोज) मा एक करोड ८९ लाख रूपैयाँ नाफा कमाएको छ। गत वर्ष कम्पनीले एक करोड ६० लाख रूपैयाँ नाफा गरेको थियो।
२०८१ को चैतसम्म नोक्सानमै रहेको कम्पनी नाफामा जान थालेकाले पनि यसप्रति लगानीकर्ताको आकर्षण बढेको हुन सक्छ।
आर्थिक वर्ष २०७६/७७ पछि बरूणले २०८१/८२ मा बल्ल थोरै भए पनि लाभांश दिएको छ। यसले ४.७५ प्रतिशत बोनससहित ५ प्रतिशत लाभांश दिएको हो।
कम्पनीको सेयर मूल्य न्यून विन्दु आसपास नै छ। अहिले तीन सय ५४ रूपैयाँमा कारोबार भइरहेको यस कम्पनीको एक वर्षको उच्च मूल्य पाँच सय ८९ रूपैयाँ र न्यून मूल्य दुई सय ९३ रूपैयाँ हो।
सूचक हेर्दा, बरूणको प्रतिसेयर आम्दानी सात रूपैयाँ ०९ पैसा मात्रै छ। कम्पनीले यसरी कमाएको एक रूपैयाँलाई लगानीकर्ताले भने सेयर मूल्यको रूपमा ४९ गुणासम्म तिरिरहेका छन्।
कम्पनीको सबै सम्पत्तिको आधारमा अहिले एक कित्ता सेयरको मूल्य (प्रतिसेयर नेटवर्थ) भने एक सय ६ रूपैयाँ ६२ पैसा छ।
सेयर कारोबारलाई प्राविधिक विश्लेषणबाट हेर्दा भने अहिले मैनबत्ती चित्रले मूल्यलाई लिएर लगानीकर्तामा दुविधा देखिन थालेको संकेत गरेको छ।
पछिल्ला तीन दिनमा दुई दिन मूल्य लगातार बढेर हरियो मैनबत्ती बन्यो। अन्तिम दिन सानो शरीर र माथिल्लो लामो धागो भएको मैनबत्ति बन्यो। सो दिन मूल्य अघिल्लो दिनको भन्दा माथिसम्म पुगे पनि त्यसलाई कायम राख्न सकेन। यसले लगानीकर्तामा दुविधा रहेको देखाउँछ।
लामो अवधिको मुभिङ एभरेज (५०–२०० दिने) ले कम्पनीको सेयर बियरिस प्रवृत्तिमा रहेको देखाउँछ। छोटो अवधिको मुभिङ एभरेज (५–२० दिने) ले बुलिस प्रवृत्तिमा आउन सक्ने संकेत गरिरहेको छ।
मूल्य बढिरहेकाले थप बढेमा पहिलो लक्ष्य तीन सय ६३ सम्म पुगेर बढ्न सक्ने संकेत पीभट विश्लेषणले गरिरहेको छ।