आइतबार सेयर बजार परिसूचक नेप्से घटेको छ। नेप्सेमा यससहित लगातार पाँचौं दिन गिरावट आएको हो।
नेप्से परिसूचक २१.४८ अंकले घटेर २६०९ विन्दुमा आइपुगेको हो। बजार घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ।
यस दिन ५ अर्ब ३३ करोड रूपैयाँको कारोबार भएको छ। गत बुधबार बजारमा ५ अर्ब २३ करोड रूपैयाँको कारोबार भएको थियो।
बजार घट्दा पनि तीन कम्पनीमा सर्किट ब्रेक लागेको छ।
स्वस्तिक लघुवित्त, श्री नगर एग्रिटेक र झापा इनर्जीको सेयर मूल्य १० प्रतिशत बढेर सर्किट ब्रेक लागेको हो।
आइतबार कारोबारमा आएका सबै समूहगत परिसूचक घटेका छन्।
यसदिन सबैभन्दा बढी जलविद्युत, व्यापारमुलक र होटल समूहगत परिसूचकमा गिरावट आएको छ। यी समूह १.२० देखि १.२२ प्रतिशतसम्म घटेका छन्।
कारोबारमा आएका ३२५ लगानी उपकरणमध्ये ६६ वटाको मूल्य बढेको छ भने दुई सय ३९ वटाको सेयर मूल्य घटेको छ। बाँकीको स्थिर छ।
सूचीकरण पछि पहिलो पटक घटेको सागर डिष्टिलरीको सबैभन्दा धेरै रकमको कारोबार भएको छ। कम्पनीको ४३ करोड ६९ लाख रूपैयाँ बराबरको कारोबार भएको हो। कम्पनीको सेयर ६.९० प्रतिशत घटेको हो।
हालै सूचीकरणमा आएका बुंगल हाइड्रो, माबिलुङ इनर्जीको सेयर मूल्य पनि उच्च दरमा घटेको छ।