दाङको पहिलो भ्यू टावर ४० लाख निजी खर्च मै निर्माण गरिएको छ। घोराही उपमहानगरपालिका वडा नं. १४ ढोडेनी निवासी एउटा परिवारले सीमाना जोडिएको गाउँ उपल्लो ढोडेनी अर्थात् वडा नं. १८ मा जिल्लाको पहिलो भ्यू टावर निर्माण गरेको हो।
वडा नं.१८ को उपल्लो ढोडेनीस्थित नमःछु गुम्बा परिसरमा निर्मित उक्त भ्यू टावर १७ मिटर उचाइको छ भने त्यो साढे ५ तल्ले छ। बुवाआमाको सम्मानमा उक्त भ्यू टावरको निर्माण गरिएको बताइएको छ। जसको नाम ‘मनदिल भ्यू टावर’ राखिएको छ।
घोराही उपमहानगरपालिका वडा नं. १४ ढोडेनी निवासी गुमानबहादुर पुन, नरेन्द्र पुन र डा.वसन्त पुनले निजी ४० लाख खर्चबाट ‘मनदील भ्यू टावर’ निर्माण गरेका हुन्।
उनीहरूका पिता मनबहादुर पुन, आमा दिलमाया पुनको नामबाट भ्यू टावरको नामांकरण गरिएको उनीहरूका माइला छोरा ३८ वर्षीय नरेन्द्र पुनले सेतोपाटीलाई जानकारी दिए।
‘बुवाआमाप्रति सम्मान व्यक्त गर्न तीन दाजुभाइ मिलेर भ्यू टावर निर्माण गरेका हौं,’ पुनले भने।
जन्मदिने, हुर्काउने, शिक्षा- दिक्षा दिएर आत्मनिर्भर बनाउन बुवाआमाको सम्मानको लागि भ्यू टावर निर्माण गर्ने तीन दाजुभाइको सल्लाहपछि गुम्बाको जग्गामा निर्माण गरिएको नरेन्द्र पुनले बताए।
२०६८ सालमै छुट्टिएर बसे पनि तीन दाजुभाइ मिलेर बुवाआमाको नाममा भ्यू टावर निर्माण गर्ने निर्णय गरेर ४० लाखमा निर्माण पूरा भएको पुनले जानकारी दिए।
अझै त्यसमा टिकट काट्ने घर र सुरक्षाको लागि हेरालु बस्ने अर्को एउटा भवनको जरुरत पर्ने भएको हुँदा थप केही खर्च लाग्ने उनले जानकारी दिए।
‘बुवाआमा भन्दा महान् छोराछोरीको लागि अरु कोही हुँदैन। त्यसैले उहाँहरूको लागि केही सानोतिनो सामाजिक कार्य गरेर चिनो राख्ने उद्धेश्यले भ्यू टावर निर्माण गरेका हौं,’ पुनले भने।
भ्यू टावर निर्माण गरिएको स्थान उपल्लो ढोडेनीस्थित नमःछु गुम्बा परिसर जिल्लाकै उच्च ठाँउ भएको हुँदा छानेर गुम्बाको सहमतिमा टावर निर्माण गरिएको पुनले जानकारी दिए।
बुटवलको एउटा कम्पनीसँग ४० लाखमा सम्झौता भए अनुरुप निर्माण कार्य पूरा भए पनि त्यहाँ अझै आफूहरूले चार वटा बाइना कुलर राख्न लागेको जानकारी पुनले दिए।
जिल्लाको सुन्दरता अवलोकन गर्न भ्यू टावरमा आउनेहरूको सुविधालाई मध्यनजर गर्दै चारवटा बाइना कुलर टपमा राख्ने योजना अनुरुप काठमाडौंको एउटा कम्पनीसँग कुरा चलिरहेको नरेन्द्र पुनले बताए।
पश्चिम दाङको हापुरेदेखि तुलसीपुर, घोराहीलगायत लेकयताको सुन्दर दाङ उपत्यका भ्यू टावरबाट सहजरूपमा नियाल्न सकिने पुनले जानकारी दिए।
उनले जिल्लाको पहिलो भ्यू टावर निर्माण गर्नुका साथै त्यसको नाम आमाबुवाको नामबाट नामाकरण गर्न पाएकोमा खुसी साटे। भ्यू टावरको निर्माण कार्य असार अन्त्यमा सकिए पनि भदौ ६ गते उद्घाटन गर्ने तयारी गरिएको पुनले जानकारी दिए।
नरेन्द्र पुनका अनुसार भ्यू टावरबाट जिल्ला अवलोकनमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि प्रतिव्यक्ति ५० रुपैयाँ शुल्क निर्धारण गरिएको बताए। तर विद्यार्थीको हकमा भने जम्मा ३० रुपैयाँ निर्धारण गरिएको पुनले जानकारी दिए।
गुम्बा व्यवस्थापन समितिले उक्त शुल्क निर्धारण गरेको जानकारी दिदै त्यो रकम पनि सामाजिक क्षेत्रमै खर्च गरिने पुनले बताए।
‘त्यहाँबाट संकलित रकमको केही हिस्सा गुम्बा व्यवस्थापन गर्न र शिक्षा, स्वास्थ्य र खेलकुदमा प्रत्येक वर्ष छात्रवृत्ति प्रदान गर्ने गुम्बा व्यवस्थापन समितिसँग सहमति भएको छ,’ पुनले भने।
त्यसका लागि बुवा मनबहादुर पुनको अध्यक्षतामा उपसमिति गठन गरिएको छोरा नरेन्द्र पुनले जानकारी दिए। १७ मिटर उचाइ र साढे ५ तले उक्त भ्यू टावरमा एक पटकमा ३० जनासम्म मानिस जान सक्ने क्षमताको भए पनि एक पटकमा १५ जना भन्दा बढी मानिस चढ्न नदिने सहमति भएको पुनले जानकारी दिए।