पछिल्लो समय जौं र गहुँको जुसको माग बढ्दै गएको छ। जैविक रूपमा उत्पादन गरिएको जौँ र गहुँको जमराबाट उत्पादन हुने जुसले विभिन्न रोगसँग लड्ने क्षमता राख्ने हुँदा जौं र गहुँको जुसको माग बढ्दै गएको सरोकारवालाले बताएका छन्।
पछिल्लो समय बिहान र बेलुका शारीरिक व्यायाम पछि जौं र गहुँको जमराबाट बनेको जुस पिउन आउनेको संख्या बढ्दै गएको एक व्यवसायी बालिका लम्सालले जानकारी दिइन्।
घोराही उपमहानगरपालिका वडा नं. १५ रतनपुरमा लामिछानेले जौं र गहुँको जमरा उत्पादन गर्नुको साथै त्यसको जुस घरमै पेलेर बिक्रि गर्दै आईरहेकी छन्।
रतनपुरको जमरा तथा जुस उत्पादन गर्ने स्थान काठमाडौंको जोरपाटी मकैवारीस्थित सीता अर्ग्यानिक एग्रोको शाखा हो। लामिछानेका अनुसार तीन महिना अगाडि मात्रै रतनपुरमा शाखा विस्तार गरिएको हो। त्यसको लागि मासिक २० हजार भाडामा अढाई तले पुरै घर भाडामा लिइएको छ।
घोराही उपहानगरपालिका वडा नं. १० नारायणपुरकी स्थायी बासिन्दा लामिछाने काठमाडौंको जोरपाटी मकैवारीस्थित सीता अर्ग्यानिक एग्रोमा एक वर्षभन्दा बढी जमरा उत्पादनमा काम गरेकी थिइन्।
काठमाडौंमा जौं र गहुँको जमरा उत्पादन तथा बिक्री वितरणबाट राम्रो व्यापार देखेकी २५ वर्षीया लामिछानेले दाङमा पनि त्यसको सम्भावना देखेर शाखा स्थापना गरेको बताउँछिन्।
२ जना सहयोगी राखेर उनले दैनिक १ सय ५० वटा ट्रेमा जमरा उत्पादन गरिरहेका छन्। बिहान र बेलुका गरि दैनिक ६० देखि ७० जना मानिस घरमै जुस पिउन आउने गरको लामिछानेले सेतोपाटीलाई जानकारी दिइन्। ‘थप दुई जना बहिनीहरू सहयोगीका रुपमा राखेकी छु, तै पनि हामीलाई जुस पुर्याउन भ्याई नभ्याई छ,’ लामिछानेले भनिन्।
उनीहरुले जमरा उत्पादन गरिरहेको स्थानमै मानिसहरु साँझ बिहान जुस पिउन आउने गरेका छन्। ग्राहकहरूलाई उनले हाते मेसिन प्रयोग गरेर तत्कालै जमरा पेलेर ताजा जुस दिँने गरेकी छन्।
अर्ग्यानिक जमराको जुसले क्यान्सर, प्रेसर, महिलामा हुने महिनावारी गड्बडी, थाइराईड, नशा सम्वन्धी रोगका विरामीलाई फाईदा हुनाले त्यस्ता रोगीहरु दिनहुँ जुस पिउन आउने गरेको लामिछानेले बताइन्। ‘जैविक रूपमा उत्पादन गरिएको जौं र गहुँको जमराको जुस विभिन्न रोगसँग लड्ने क्षमता राख्छ। त्यो जुस अमृत समान छ,’ लामिछानेले दाबी गरिन्, ‘जसले यो कुरा बुझेको छ, त्यो मानिस अवश्य जुस पिउन आउँछ।’
जैविक रूपमा उत्पादन गरिएको जौं र गहुँको जुस आफ्नो स्वास्थ्य समस्या हेरी नियमित मात्रामा सेवन गर्न सक्ने हो भने अधिकांस रोगीलाई फाईदा पुग्ने घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालका आयुर्वेदिक चिकित्सक नरेश्वर मिश्राले बताए।
जौं र गहुँको जमराबाट बनाएको जुसमा रोगसँग लड्ने क्षमता बढी हुने हुँदा विभिन्न किसिमकम बाथ रोग, चिनी रोगलगायत बहु रोगलाई उपयोगी हुने मिश्राले बताए। ‘जौं र गहुँको जुसमा भिटामिन बी, भिटामिन सी, इन्जाइम, खनिजलगायतका तत्व प्रसस्त मात्रामा पाईने हुँदा त्यो स्वास्थ्यवर्धक हुन्छ,’ मिश्राले भने।
तर उनले रसायनिक मल र विषादीको प्रयोगबाट उमारेको जमराको जुस भने सेवन गर्न नहुने सल्लाह दिए। ‘रसायनिक मल र विषादीको प्रयोगबाट उत्पादन गरिएको जुसले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने हुँदा त्यसप्रति सचेत रहनुपर्छ,’ मिश्राको सुझाव छ।
जैविक रुपमा उत्पादित जौं र गहुँको जुसमा रोग प्रतिरोधात्मक शक्ति हुने हुँदा पछिल्लो समय जमराको जुस पिउनेको संख्या बढिरहेको छ। ‘स्वास्थ्यवर्धक जमराको जुसले सवैलाई फाइदै गर्छ, विरामीलाई त झन् धेरै फाइदा पुग्नेगर्छ,’ चिकित्सक मिश्राले भने।
धेरैको आकर्षण बढेको जमराको जुस दाङमा सामान्य सिसाको एक गिलासको १ सय २५ रुपैंया पर्छ। स्वास्थयका लागि लाभदायक भएकाले घरमै उत्पादन गरि त्यसको जुस पिउनेको संख्या पनि बढ्न थालेको छ।
दाङको घोराही निवासी कैलाश गिरीले आफू र आफ्नी पत्नीलाई जमराको जुस पिउन थालेपछि स्वास्थ्यमा धेरै लाभ मिलेको अनुभव बाँडे। ‘आज आएर विस्तारै अरू औषधीहरु बन्द गरेका छौ र नियमित जुस सेवन गर्दै आएका छौ । हाम्रो स्वास्थ्य अहिले ठीक भएको छ,’ उनले भने। उनले आफ्नी पत्नीको घाँटीमा समस्या लामो समयसम्म उपचार गर्दा पनि सञ्चो नभएको तर, जमराको जुस सेवन पछि ८० प्रतिशत सुधार आएपछि डाक्टरको औषधी खान छोडेको बताए।
जमराको जुसको नियमित सेवनले शरीरमा स्फूर्ति बढाउँने, पाचन शक्ति मजवुत बनाउने, रगत सफा राख्नेजस्ता फाइदा हुने जानकारी चिकित्सकहरूले दिएका छन्। ‘मेरो मोटोपन धेरै कम भइसक्यो। आज म स्वस्थ र फूर्तिलो भएको छु,’ कैलाश गिरीले भने।
व्यवसायी लामिछानेले आफूले उत्पादन गर्दै आएको जुस पुरै जैविक भएको दाबी गरिन्। उनले सुरूमा विउ, माटो र मलसमेत काठमाडौंबाट ल्याउने गरेको बताइन्। पछिल्लो समय माटो र मल दाङकै प्रयोग गर्न थालेकी छन्।
अर्ग्यानिक जमरा र जुस उत्पादन गर्न सजिलो छैन, माटोदेखि मल पनि विशेष हुन आवश्यक छ,’ लामिछानेले भनिन्।
उनले निकिट भविस्यमै दाङको तुलसीपुर क्षेत्रमा पनि जौं र गहुँको जुस उत्पादन सुरू गर्न लागेको जानकारी दिइन्। पछिल्लो समय जौं र गहुँको जमरा उत्पादन तथा त्यसको जुस विक्री वितरण हुँदै आएको भए पनि त्यसमा सावधानी अपनाउन आवश्यक रहेको सरोकारवालाले बताएका छन्।
स्वास्थ्य लाभको लागि खाने जुस भनिए अनुरुप जैविक भएन भने त्यसले झनै विरामीको स्वास्थ्यमा प्रतिकुल असर पुग्ने हुँदा जुस उत्पादन गरिरहेका यस्ता केन्द्रहरुमा निगरानी आवश्यक रहेको उपभोक्ताको धारणा छ।