नेपाल गुणस्तर तथा नाप तौल विभागले दाङको घोराही सिमेण्ट उद्योगबाट उत्पादित सिमेण्ट मापदण्ड अनुसार नै रहेको जानकारी दिएको छ।
विभागले परीक्षणमा ओपीसी र पीपीसी सगरमाथा सिमेण्ट मापदण्ड अनुसार ठिक नै रहेको पाइएको जानकारी दिएको छ।
यसअघि बर्दिया जिल्ला प्रशासनले जिल्ला प्रशासन कार्यालय दाङलाई उक्त उद्योगबाट उत्पादिन सिमेण्ट गुणस्तरहीन भएको भन्दै उत्पादन तथा विक्री वितरणमा रोक लगाउन पत्रचार गरेको थियो। त्यही पत्रका आधारमा साउन १६ र १७ गते उद्योगबाट उत्पादित ओपीसी र पीपीसी सिमेण्टको नमूना परीक्षणका लागि काठमाडौं पठाइएको थियो।
तर,विभागको निरीक्षण तथा बजार अनुगमन शाखाका केमिष्ट दीपेन्द्रकुमार झाँले जाँच भए अनुसार ओपीसी नेपाल गुणस्तर ४९ र पीपीसी नेपाल गुणस्तर ३८५ को मापदण्ड अनुसार ठिक नै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय दाङलाई पत्राचार गरेका छन्।
बर्दिया प्रशासनले उक्त उद्योगको उत्पादन ‘गुणस्तरहीन’ भेटिएको भन्दै दाङ प्रशासनलाई पत्राचार गरेपछि उद्योगको उत्पादन समेत बन्द भएको थियो। यसैबीच मंगलबार जिल्ला प्रशासनले विभागबाट प्राप्त प्रतिवेदनसहितको पत्र उद्योगमा पठाइसकेको जानकारी दिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद आचार्यले हस्ताक्षर गरेको पत्र गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय बर्दियालाई बोधार्थ समेत पठाइसकेका छन्।