करिब ७ वर्षपछि दाङ एयरपोर्टमा नेपाल एयरलाइन्सले सफल परीक्षण उडान गरेको छ।
दसैँ अगाडि नै नियमित उडान गर्ने लक्ष्यसहित एयरलाइन्सले दाङको एयरपोर्ट टरिगाउँ एयरपोर्टमा मंगलबार परीक्षण उडान गरेको पाइलट आङनुरी शेर्पाले सेतोपाटीलाई जानकारी दिए।
शेर्पाले झन्डै सात वर्षपछि टरिगाउँ एयरपोर्टमा पुनः कालोपत्रेयुक्त धावनमार्गमा प्लेन ल्याण्डिङ गर्दा औधी खुसी लागेको बताए।
‘मैले २०६८ सालसम्म यही एयरपोर्टमा प्लेन उडाएको थिएँ, त्यतिबेला घाँसे मैदान थियो, तर, आज धावनमार्ग कालो पत्रे भएछ। परिवर्तित स्वरूप देख्दा औधी खुसी लागेको छ,’ उनले भने।
शेर्पाले टरिगाउँ एयरपोर्ट साना विमान अवतरण गर्न ‘प्रफेक्ट’ रहेको तथा हाल आसपासका कुनै पनि रुख विरुवा काट्नुपर्ने अवस्था नरहेको जानकारी दिए।
उनले धनगढीमा एक दर्जन जति उडान भइरहेको भन्दै दाङजस्तो सुगम स्थानमा इन्धन डिपो भए त्यतिकै संख्यामा विमान उड्नसक्ने धारणा राखे।
विक्रम संवत २०११ सालदेखि उडान सुरू भएको टरिगाउँ एयरपोर्टमा घाँसे मैदान छँदै झन्डै ४ दशकसम्म नियमित उडान भएको थियो।
२०४६ सालको प्रजातन्त्र पुनःस्थापना हुँदै गर्दा केही समय र त्यसपछि माओवादी युद्ध उत्कर्षमा पुग्दै गर्दा केही सयम टरिगाउँ एयरपोर्टमा विमान सेवा अवरूद्ध भएको थियो।
शान्ति प्रक्रियापछि २०६८ सालपछि यहाँ नेपाल एयरलायन्सको विमान आउन छोडेको थियो। त्यसपछि त्यो बीचमा विमानस्थलको धावनमार्ग कालोपत्रे गर्ने काम सुरू भएको थियो । जम्मा ७५० मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्ग कालोपत्रे गरिएको छ।
त्यसपछि निजी विमान सेवा प्रदायक संस्थाले यसमा २०७१ साल वैशाख १८ गते पहिलो उडान भरेका थिए। तर, त्यो दिगो रहन सकेन। २०७२ साल माघ २८ गते उडान अवरूद्ध भयो। त्यसपछि फेरि टरिगाउँ एयरपोर्टमा २०७४ साल पुस २३ गते निजी विमान प्रदायक संस्थाले विमान सेवा सुरू गरेको थियो। त्यो पनि केही समयपछि २०७५ साल जेठ ६ गतेपछि पूर्णरूपमा रोकियो।
त्यसपछि यो विचमा कालोपत्रे विमानस्थल गौचरणमा परिणत भयो। फेरि यही विमानस्थलबाट मंगलबार नेपाल एयरलाइन्सले विमान सुचारू गरेपछि अब दाङमा नियमित रूपमा उडान हुनेमा दाङवासीले अपेक्षा गरेको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष सूर्य डाँगीले बताए।
टरिगाउँ एयरपोर्ट वडा नं. १२ अन्तर्गत नै पर्ने भएको हुँदा स्थानीय सरकारको निरन्तरको प्रयासले अब निकट भविष्यमै विमान सेवा सुचारु हुने उनले आशा व्यक्त गरे।
विमानस्थलमै रहेका वडा नं. १० का वडा अध्यक्ष कुमार लामिछाने र वडा नं. ६ का वडा अध्यक्ष नवराज लामिछानेले पनि अब दाङ एयरपोर्टमा नियमित विमान सञ्चालन हुने दाबी गरे।
निजी विमान प्रदायक संस्थाहरूले सेवा दिँदा भाडा निकै महँगो प्रतिव्यक्ति १० हजारसम्म कायम गरिएको थियो। तर, अब ३ हजार ५ सयदेखि बढीमा ४ हजार ५ सयसम्म भाडा निर्धारण गरेर विमान सेवा सुरू हुने उनले जानकारी गराए।
‘भाडा आधा सस्तो भएपछि विमान सेवा नियमित भइ हाल्छ नि,’ वडा नं. १० का वडा अध्यक्ष लामिछानेले सेतोपाटीसँग भने।
विमान चलाएर आएका अर्का पाइलट उदय घिमिरेले आफूहरू र इञ्जिनियरले परीक्षण उडान सफल भएको रिपोर्ट एक दुई दिन भित्रै बुझाउने जानकारी दिए। ‘जे होस हामीलाई दशैं अगाडि नै दाङमा नियमित विमान सेवा संचालन गर्ने भन्ने जानकारी दिइएको छ,’ पाईलट घिमिरेले भने।
नागरिक उडड्यन प्राधिकरणमा प्रमुखको रूपमा मदन खरेल आएपछि तयारी अवस्थामा रहेका र विमान चल्न नसकेका एयरपोर्टहरूको अवस्था अवलोकन तथा परीक्षण उडान गर्न थालिएको जानकारी दिए।
पाइलट घिमिरेले दाङको एकमात्रै एयरपोर्ट टरिगाउँ एयरपोर्टमा इन्धन रिफ्यूलिङ सेन्टर स्थापना गर्न स्थानीय सरकारदेखि पहल हुनुपर्ने सल्लाह दिए।
‘आज हामीले सफल उडान गरेको यो जहाजमा १६ जना बोक्न सक्ने क्षमता छ, तर इन्धन हामीले काठमाडौंबाटै ल्याउनुपर्ने भएकाले १२ जना भन्दा बढी यात्रु ल्याउन सक्दैनौं,’ पाइलट घिमिरेले भने, ‘यदि दाङमैं रिफ्यूलिङ सेन्टर हुन्थ्यो भने थप ४ जना यात्रु बढी बोक्न सकिन्थ्यो।’
इन्धन डिपो स्थापना नहुँदासम्म ट्याङकरमार्फत् भए पनि इन्धन भर्ने व्यवस्था दाङमै गर्दा राम्रो हुने बताए। इञ्जिनियर विशाल पौडेलले पनि प्राविधिक रूपमा टरिगाउँ एयरपोर्ट ‘परफेक्ट’ रहेको बताए।
उनले दाङ एयरपोर्टको मुख्य समस्या रिफ्यूलिङ सेन्टर नहुनु नै भएको बताए।
‘यहाँ यात्रुको अभाव छैन भन्ने थाहा छ, तर इन्धन भर्ने ठाउँ नहुँदा भाडा महँगो पर्न जान्छ,’ पौडेलले भने ।
त्यस्तै नेपालगञ्ज विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले दाङको पूर्वाधार निर्माणको सम्पूर्ण जिम्मेवारी नेपालगञ्ज विमानस्थलले नै लिएको सेतोपाटीलाई बताए। उनले तुरुन्तै टरिगाउँ एयरपोटमा एउटा टर्मिनल भवन निर्माण, सुरक्षाकर्मीको लागि एउटा भवन, बिजुली बत्ती र पानीको प्रवन्ध गरिने जानकारी दिए।
त्यस्तै उनले एयर ट्राफिक कन्ट्रोलरहरूको व्यवस्थापन गर्न आवश्यक रहेको सेतोपाटीलाई बताए। उनले जतिसक्यो चाँडै आवश्यक कुरा व्यवस्थापन गरेर नियमित विमान सञ्चालन गर्ने जानकारी दिए। कन्सोल, एचएफ, भिएचएफ लगायत कतिपय उपकरण पुराना भइसकेको हुँदा तत्काललाई काम चलाउन भए पनि तुरुन्त नयाँ फेरिने उनले बताए।
उनले २० प्रतिशत प्यासेन्जर दाङबाट नेपालगञ्ज विमानस्थलमा जाने गरेको भन्दै दाङ एयरपोर्ट सञ्चालन भएमा त्यो यात्रु कटौती हुने बताए। ‘त्यही भाडामा दाङबाट उड्न पाए नेपालगञ्जसम्म किन जनताले दुःख पाउने?’ प्रमुख ठाकुरले प्रश्न गरे।
उनले आफूले टरिगाउँ एयरपोर्टको निरीक्षण गरेपछि अझै ४/५ मिटर गजवले धावन मार्ग विस्तार गर्नसक्ने ठाउँ रहेको बताए। झन्डै साढे १२ सय मिटरको धावनमार्ग भएका ४५ सिटको विमान मज्जाले आउन सक्ने र त्यसले यात्रुलाई भाडा पनि सस्तो पर्न जाने उनले बताए।
‘जति ठूलो विमान आउँछ भाडा पनि उति सस्तो हुन जान्छ। त्यसले विमान नियमित गर्न झनै सजिलो हुन्छ,’ ठाकुरले भने। त्यस्तै उनले नेपालगञ्ज विमानस्थलको धावन मार्ग दुईसय मिटरसम्म थप विस्तार गर्ने तयारी भइरहेको जानकारी दिए।
नेपालगञ्जदेखि दिल्लीको सिधा उडान भर्न सजिलो होस् भनेर त्यस्तो गर्न आवश्यक रहेको ठाकुरले बताए। तर उनले नेपालगञ्ज दिल्ली सिधा उडान गर्न अझै एक डेढ वर्ष लाग्ने जानकारी दिए।