दाङमा पहिलो पटक व्यवसायिक रूपमा फूलखेती सुरु भएको छ। रोल्पाबाट बसाई सरेर दाङ आएका तीन व्यक्ति मिलेर घोराहीमा फूल खेति गरेका छन्।
पूर्वमाओवादी बिग्रेड सह–कमाण्डर क्षितिज मगर (रायन), पूर्व जनमुक्ति सेनाका लोकेन्द्र रोका मगर र रोल्पाको साविक कोटगाँउ गाविसको कलाकारको नेतृत्व गरेकी इन्द्रा बुढा मगरले मिलेर यो फूल खेती गरेका हुन्।
घोराही उपमहानगरपालिका वडा नं. १३ डुमर गाउँमा २ विगाहा ६ कठ्ठा र घोराही १४ लुहासुरमा ५ कठ्ठा जग्गा भाडामा लिएर उनीहरुले् फूल खेती गरेका छन्। जिल्लामा यसअघि व्यवसायिक रूपमा फूल खेती कसैले पनि गरेको थिएनन्।
३३ वर्षीया माली इन्द्रा बुढा मगरका अनुसार उनीहरूले तीन वर्ष पहिलेदेखि दाङमा व्यवसायिक फूल खेति सुरू गरेका हुन्।
सुरूमा एक कठ्ठा जग्गाबाट व्यवसाय थालेका उनीहरुले ५ कठ्ठा हुँदै आज करिब ३ विगाहा क्षेत्रफलमा फैलिएको छ।
तिहारमा फूल र मालाको अत्याधिक माग हुनेगर्छ। गत वर्ष ५ कठ्ठामा लगाएको फूल र माला किन्नेका बीचमा त्यस्तै हारालुछ भएको देखेपछि व्यवसायिक रुपमा फूलखेति गर्ने थप उत्साह मिलेको इन्द्राले बताइन्। ‘पोहोर साल हामीले उत्पादन गरेको फूल र तयार पारेको माला नपुगेको देखेर हामीलाई फूल खेतिको महत्व कति रहेछ भन्ने ज्ञान भयो। त्यसपछि सल्लाह गरेर थप व्यवस्थित र व्यवसायिक रुपमा फूल खेती गर्ने योजना बनाका हौं,’ पूर्वमाओवादी ब्रिग्रेड सह–कमाण्डर क्षितिज मगर (रायन)ले सेतोपाटीसँग भने।
जिल्लामा फूलको माग र बजारको अध्ययन गरेर सबैभन्दा पहिले व्यवसायिक फूल खेती गर्ने व्यक्ति उनका साला लोकेन्द्र घर्तीमगर हुन्।
लोकेन्द्रले सम्भावना देखाएकै कारण आफूहरु मिलेर व्यवसायिक रुपमा फूलखेती गरेको रायनले बताए। ‘युद्वकालमा एक हजारदेखि दुई हजारसम्म जनमुक्ति सेना रहने गर्थै र आज लाखौं संख्यामा फूलहरु मेरो कमाण्डमा छन्,’– पूर्व विग्रेड सहकमाण्डर रायनले भने, ‘बन्दुक समाएका हातहरुले फूल गोडेको देख्दा कतिपयले आश्चर्य मान्ने गरेका छन्।’
घोराहीको बसपार्कको नजिकै दक्षिणतर्फ लुहासुरमा ५ कठ्ठाको वार्षिक १५ हजार र बसपार्कदेखि करिब दुई सय मिटर उत्तर डुमार गाउँको २ विगाहा ६ कठ्ठा जग्गा उनीहरुले चार महिनाको लागि ३० हजार भाडामा लिएर फूलको व्यवसायिक खेती गरेका हुन्।
परम्परागत मकै र धान खेती नगरेर केही नयाँ गर्ने भन्दै फूल खेति रोजेको उनले बताए।
अर्की माली इन्द्रा बुढा मगरले पनि अन्न बाली मात्रै लगाउनुभन्दा नयाँ सम्भावनाको खोजी गर्न आफूहरुले फूल खेती सुरु गरेको तर्क गरिन्।
फूलको अभावमा दशैं तिहारमा प्लाष्टिकको माला हाम्रा दाजु भाइ र दिदी बहिनीले लगाउन नपरोस् भनेर आफूहरूले व्यवसाय थालेको बताइन्।
त्यस्तै उनले प्लाष्टिकको नक्कली फूल किन्दा वर्षेनी नेपालबाट ठूलो धन राशी बाहिरिने गरेको तथ्यलाई मध्य नजर गर्दै स्वदेशमै केही गरौं भन्ने सोचका साथ दाङमै पहिलो व्यवसायिक फूल खेति गरेको बताइन्।
आफ्नो फूल खेतीबाट केही स्थानीयले रोजगारीसमेत पाएको इन्द्राले बताइन्। ‘अब काग तिहारदेखि हामी फूल टिप्न र माला उन्न थाल्नेछौं यसका लागि दैनिक ५० देखि १ सय मानिसको आवश्यकता पर्छ,’ मगरले भनिन्।
बिरूवा रोप्दादेखि फूल तयार हुँदासम्म एक लाख रूपैयाँ पनि खर्च नभएको उनले बताए। यहाँ करिब चार लाख हाराहारीमा फूलका बोटहरु छन्। त्यसमध्ये अलि ठूलो आकारको फूल पाँच रूपैंयामा दुई वटा र मालाको एक सय ५० रुपैंयासम्ममा विक्रि गर्ने उनीहरुले जानकारी दिए।
सबै फूल तिहारमै बिक्रि गर्न सकिए ७/ ८ लाख रूपैंया फाईदा हुने उनीहरूको अनुमान छ। ‘फाईदा भन्दा पनि फूल फुलेको हेर्न दर्जनौं मानिस आउँदा र उनीहरुले प्रशंशा गर्दा हामी दंग छौं,’ इन्द्राले भनिन्।
फूल खेती गर्नुपूर्व डुमर गाउँको यो ठाउँ प्रयोगबिहिन थियो। तर, आज त्यो ठाउँ सयपत्री फूलले ढकमक्क भरिएको छ। त्यसैले आज माहुरी र पुतली मात्रै होइन त्यसको सुन्दरताले धेरैलाई लोभ्याउने गरेको छ। फूलको बगैचा हेर्न र यहाँ तस्बिर खिच्न आउने युवा युवतीको संख्या धेरै छ।
फूलको बगैचा नजिकै कोठा भाडामा बस्दै आएकी पूर्वी रूकुमकी ३६ वर्षीया सविना बुढा मगर मनको शान्तिको लागि साँझ बिहान एक पटक फूलबारी घुम्ने गरेको बताइन्। ‘दिनमा एक पटक यी फूलको बीचमा नआई मलाई चित्तै बुझ्दैन। यहाँ आउँदा मेरो मनलाई शान्ति मिल्छ,’ बुढा मगरले भनिन्।
स्वागत सत्कारमा मात्रै नभएर मन्दिर र देवी देवतालाई चढाउन फूल नै चाहिन्छ्। त्यसैले फूल मन नपराउने मानिस सायदै हुन्छन्। त्यति मात्रै होइन, तिहारमा सयपत्री र मखमली फूलको महत्व अझ धेरै बढेर जान्छ। दाजु भाइ र दिदी बहिनीका बीचमा भाइ टिका पछि सम्वृद्धिको प्रतिक जमरा र सयपत्री अनि मखमलीको माला अनिवार्य मानिन्छ।
त्यो दृष्टिकोणले मात्रै होइन माही कहाँ आफ्ना खेतबारी बाँझै राखेर विदेशीने युवा युवतीको संख्या ठूलो छ। जग्गा प्लटिङ गरिएको ठाउँमा र घडेरी किनेर बाँझै राख्नु भन्दा त्यो ठाउँमा ९० दिनमा तयार हुने फूल खेती गर्न सके त्यसबाट राम्रो फाइदा लिन सकिने सल्लाह इन्द्राको छ।
यदी त्यसो हुन सकेको खण्डमा विदेशबाट फूल आयात घट्नेछ। अर्कोतर्फ स्वदेशमै रोजगारीका अवसरहरु सृजना हुनेछन् र मुलुकको आर्थिक अवस्था बलियो हुनेछ।