तुलसीपुर उपमहानगरपालिकाले कृषि बजारलाई व्यवस्थित गर्न आधुनिक कृषि उपज बजार केन्द्र निर्माणको काम थालनी गरेको छ।
कृषक र व्यवसायीलाई एकै ठाउँबाट कृषि उपज विक्री गर्न मिल्ने गरी तुलसीपुरको वडा नम्बर ६ मा बजार केन्द्र निर्माण गरिने भएको छ। जसको मेयर घनश्याम पाण्डेले शनिबार शिलान्यास गरेका छन्।
मावि सेन्टरको जग्गा भाडामा लिएर बजार केन्द्र निर्माण गर्न लागिएको हो। २ करोड ६९ लाखको लागतमा निर्माण गर्ने भनिएको भवन दुई चरणमा निर्माण हुने मेयर पाण्डेले बताए। पहिलो चरणमा टहरा, बाटो, लगायतका संरचना निर्माण हुने र त्यसका लागि १ करोड १० लाख लागत लाग्ने निर्माण समितिका अध्यक्ष झुपलाल खड्काले जानकारी दिए।
पहिलो चरणमा निर्माण हुने संरचनाको लागि ३० लाख उपमहानगरपालिकाले अनुदान दिने र ८० लाख व्यवसायीले संकलन गर्ने अध्यक्ष खड्काले बताए।
पहिलो चरणको काम चैत अगाडि नै पूरा गर्ने लक्ष्य राखिएको छ। पहिलो चरणको संरचना निर्माण भए लगत्तै बजार सञ्चालन हुने अध्यक्ष खड्काले बताए ।
त्यसपछि दोस्रो चरणमा शित भण्डार निर्माण लगायतका कामहरू गर्ने निर्णय भएको जानकारी दिए। तरकारी र फलफूल व्यापारीका लागि ४० वटा टहरा निर्माण गरिने भएको छ। त्यसमध्ये बीचमा किसानको कृषि उपज विक्री गर्न ठाउँ राख्ने गरी संरचना निर्माण गरिने भएको छ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पाण्डेले समृद्धिको पहिलो शर्त उत्पादन र वितरण भएकाले कृषि उत्पादन वृद्धि गर्न र विक्री वितरणलाई व्यवस्थित गर्न उपमहानगरपालिकाले कृषिमा विशेष योजना निर्माण गरेको बताए।
२० वर्षपछि निर्मित सबै संरचना विद्यालयलाई हस्तान्तरण गर्ने सहमतिपछि बजार केन्द्र निर्माण गर्न लागिएको पाण्डेले बताए।