दाङमा वैकल्पिक विमानस्थल निर्माण गर्न नहुने भन्दै विरोध सुरू भएको छ।
विमानस्थल निर्माण गर्ने भनिएको स्थल घोराही उपमहानगरपालिका वडा नं. १०, ११ र १२ का एकदर्जन बढी टोल विकास संस्थाहरूका पदाधिकारीको बैठकले एउटै जिल्लामा दुईवटा विमानस्थल आवश्यक नरहेको भन्दै विरोध जनाएका छन्। सोमबार पनि यो विषयमा स्थानीयहरूको छलफल हुँदैछ।
शनिबार मात्रै वडा नं. १२ को साईपुरमा साईपुर टोल विकास संस्थाका अध्यक्ष गोविन्द गौतमको अध्यक्षतामा बसेको एक दर्जन बढी टोल विकास संस्थाका अध्यक्षहरूको भेलाले सयौं सर्वसाधारणको छाकबास खोसेर विमानस्थल निर्माण गर्ने कुरा असान्दर्भिक भएको निष्कर्ष निकालेको छ ।
भेलामा सहभागी बलबहादुर पुनले वैकल्पिक विमानस्थल निर्माणको कुरा उल्टाउन माग गर्दै आम जनताको जीवनसँग जोडिएका पूर्वाधार निर्माणमा जोड दिन सरकारलाई आग्रह गरेको बताए । सडक, कृषि, सिँचाइका योजनामा बजेट व्यवस्था गर्नुको सट्टा एयरपोर्टको बहानामा किसानलाई विस्थापित गर्न खोजिएको हुँदा त्यसको विरोधमा उत्रने निर्णय भएको पुनले बताए।
बैठकको निर्णय पुस्तिकामा पनि घोराही उपमहानगरपालिका र प्रदेश सरकारलाई वैकल्पिक विमानस्थल निर्माणको कुरा रोक्नका लागि आग्रह गर्ने र आफूहरूको माग सुनुवाइ नभए आन्दोलन गर्ने निर्णय भएको पुनले बताए।
वैकल्पिक विमानस्थल निर्माण गर्ने कुराको विरोधमा सहभागी मोतिराम विष्टले पनि उक्त भेलामा तुलसीपुरमा चालू अवस्थाको विमानस्थल हुँदै हुँदै घोराहीमा अर्को विमानस्थल निर्माण गर्ने कुराको कुनै अर्थ नरहेको भन्ने निष्कर्ष निकालिएको बताए।
‘स्थानीयको उठिबास लाग्ने गरी एयरपोर्ट निर्माणको कुरा कुनै पनि हालतमा स्वीकार्य छैन,’ विष्टले भने।
उनले आफूहरू एकैपटक अर्थमन्त्रीको बजेट मन्तव्य सुन्दा आश्चर्यमा परेको बताए ।
‘हामीसँग सरसल्लाह नै नगरी हामीलाई उठाउने कुरा स्वीकार्य हुँदैन। हामीलाई विमानस्थल हैन, बरु सिँचाइ कुलो, स्तरीय बाटो, शिक्षा र अस्पताल चाहिएको छ’ विष्टले भने।
उनले विमानस्थल निर्माणको लागि झन्डै आधा दर्जन जति गाउँ उठाउनु पर्ने हँदा त्यो स्वीकार्य नहुने बताए।
‘मिलेर बसी सकेको घना बस्ती र खेतियोग्य जमिन मासेर विमानस्थल बनाउने कुरा कदापी स्वीकार्य हुँदैन,’ विष्टले भने।
अन्य स्थानीयबासीले पनि विमानस्थल भन्दा आमजनताको दैनिकीसँग जोडिएको पूर्वाधार निर्माणमा ध्यान दिन सरकारलाई आग्रह गरेका छन्। वडा नं. १० निवासी प्रकाश चौधरीले आफ्नो ठाउँमा विमानस्थल भन्दा दक्षिणमा पूर्वपश्चिम राजमार्गसँग जोड्ने लमहीको रिहारदेखि उत्तरको छिमेकी जिल्ला रोल्पासँग जोड्ने कृषि सडक निर्माणमा राज्यले जोड दिनपर्ने बताए।
राम्रो सडक निर्माण गर्न सकेमा दाङ र रोल्पाको कृषि उपज एक ठाउँबाट अर्को ठाउँमा लैजान र सर्वसाधारणलाई यात्रा गर्न सहज हुने सेतोपाटीलाई बताए । सयौं स्थानीयलाई विस्थापित गरेर विमानस्थल निर्माण गर्नुको कुनै औचित्य नरहेको बताएका चौधरीले बरु आफूजस्ता किसानलाई खेतबारीसम्म पानी लैजानको लागि उपयुक्त सिँचाइ कुलोको प्रबन्ध गर्न राज्यले ध्यान दिँदा राम्रो हुने बताए।
‘गरिखाने आम सर्वसाधारण जनताको हित हुनेगरी पूर्वाधार विकास र सिँचाइका योजना ल्याउन राज्यले सघाउनु पर्छ। हाम्रा खेतियोग्य जमिन मास्ने विमानस्थल चाहिएको छैन,’ चौधरीले भने।
उनले स्थानीय खोलाहरूमा ठाउँ ठाउँमा हाइड्याम निर्माण गरेर लिफ्ट सिँचाइ कार्यक्रम ल्याउन सकेमा धेरै किसानको जीवनस्तरमा सुधार आउने र त्यसले भोलिको दाङको भविष्य सुन्दर हुने बताए।
‘एयरपोर्ट त तुलसीपुरमा छँदै छ नि , त्यसको १२/१५ किलोमिटर भित्रै अर्को विमानस्थल निर्माणको कुरा नेताका चुनावी महात्वकांक्षा मात्रै हुन्,’ चौधरीले भने।
त्यस्तै, स्थानीय सिंजा नेपालीले झन्डै ३/४ सय खेतियोग्य जमिन मासेर विमानस्थल निर्माण गर्न खोज्नु सही नभएको तर्क गरिन् । वैकल्पिक विमानस्थल निर्माण गर्ने भनिएको क्षेत्रको वडा नं. १०, ११ र १२ नं. वडामा ८० प्रतिशत व्यक्तिगत जग्गा रहेको र जम्मा २० प्रतिशत मात्रै गुठीको जग्गा रहेको उनले जानकारी दिइन्।
पहिला त्यस क्षेत्रमा अधिकांश जग्गा गुठीकै भए पनि पछिल्लो समय जग्गा भोगचलन गर्दै आएका किसानको नाममा रहेर जग्गा पूर्जा आएको हुँदा व्यक्तिगत भइसकेको भन्दै विमानस्थल निर्माण गर्न संभव नरहेको नेपालीले बताइन्।
‘कम्तिमा स्थानीयसँगको छलफल र परामर्शपछि विमानस्थल बनाउन खोजेको भए राम्रो हुन्थ्यो’,उनले भनिन्।
उनले केही दशक पहिलेदेखि नै त्यस क्षेत्रमा विमानस्थल बनाउने कुरा उठ्दै आएको भए पनि अब घना बस्ती बसिसकेको हुँदा सरकारले मुआब्जा दिँदा धेरै महंगो पर्न जाने उनले बताइन्। त्यो भन्दा पनि महत्वपूर्ण सवाल खेतियोग्य जमिन मासेर विमानस्थल बनाउन खोज्नु गतल भएको उनको धारणा छ।