दाङको टरिगाउँ विमानस्थलमा आउँदो सोमबारदेखि हवाई सेवा सुरु हुने भएको छ। नेपाल वायु सेवा निगमका पदाधिकारीले सोमबारदेखि हवाई उडान थाल्ने जानकारी दिएका हुन्।
शुक्रबारदेखि नै टिकट बिक्रीको प्रक्रिया सुरु हुने निगमका प्रवक्ता अशोक सिग्देलले बताए। ‘भोलिदेखि नै टिकट बिक्री सुरु गर्छौँ र सोमबारदेखि नियमित विमान सेवा सुरु हुन्छ’ सिग्देलले सेतोपाटीलाई भने।
झन्डै सात वर्षको अन्तरालमा फेरि दाङको एक मात्रै एयरपोर्ट टरिगाउँबाट नेपाल वायु सेवा निगमले सेवा दिन थालेको हो।
सुरुमा हप्तामा सोमबार र शुक्रबार गरी दुई दिन उडान हुने प्रबक्ता सिग्देलले बताए। सोमबार विहान ११ः४५ मा एयरपोर्टमा जहाज अवतरण गरे पनि दिउसो १२ः ३५ बजे भैरहवा ल्याण्ड गर्ने छ। १२: ५० मा भैरहवाबाट उडेर १: २० मा प्लेन दाङमा ल्याण्ड हुने र १ः३५ मा उड्ने तालिका निर्धारण गरिएको प्रवक्ता सिग्देलले बताए। शुक्रबार पनि सोही तालिका निर्धारण गरिएको उनले जानकारी दिए।
काठमाडौंबाट दाङको भाडा ६ हजारदेखि दश हजारसम्म
नेपाल बायु सेवा निगमले काठमाडौंबाट दाङको भाडा ६ हजारदेखि झन्डै १० हजार सम्म निर्धारण गरेको छ। निगमका प्रवक्ता सिग्देलले दिएको जानकारी अनुसार सुरुमा टिकट काट्नेलाई सहुलियत स्वरुप ६ हजार २५ रुपैयाँ भाडा निर्धारण गरिएको छ।
त्यसपछि ९ हजार ६ सय ६५ रुपैयाँ तोकिएको छ। तर दाङबाट काठमाडौं जान भने केही सस्तो छ । ५ हजार ८ सय ८० रुपैयाँ सुरुमा टिकेट काट्नेलाई र त्यसपछि ९ हजार ४ सय निर्धारण गरिएको सिग्देलले बताए। भैरहवादेखि दाङसम्मको भाडा भने ३ हजार ३ सयदेखि ४ हजार ३ सय सम्म हुन सक्ने उनले जानकारी दिए ।
भाडा किन यति महँगो हो ? भन्ने प्रश्न गर्दा इन्धन डिपो नभएका कारण भाडा महँगो पर्न गएको उनको भनाइ छ। ‘१६ सिटको विमान भए पनि ४ जना यात्रु बोक्ने ठाउँमा तेल बोकेर जानुपर्ने बाध्यताले यात्रुलाई भाडा महँगो पर्न गएको हो,’– निगमका प्रवक्ता सिग्देलले भने ‘ तुलसीपुरमै इन्धन भर्ने व्यवस्था भएमा यो भाडा समायोजन हुनेछ ।’ उनले इन्धन बोकेरै ल्याउनु पर्ने बाध्यताका कारण ९ देखि १२ सम्म मात्रै यात्रु बोक्नु पर्ने बाध्यता रहेको बताए।
इन्धन भर्नकै लागि भैरहवामा ल्याण्ड गर्नुपर्ने बाध्यता
दाङ एयरपोर्टमा डिपो नहुँदा इन्धन भर्नकै लागि काठमाडौंबाट भैरहवा ल्याण्ड गरेर त्यहाँ इन्धन भरेपछि फेरि दाङ आउने व्यवस्था गरिएको उनले जानकारी दिए त्यस्तै दाङबाट जाँदा पनि भैरहवामा ल्याण्ड हुने र त्यहाँ इन्धन भरेर मात्रै काठमाडौं जाने प्रवन्ध गरिएको निगमका प्रवक्ता सिग्देलले बताए।
तत्कालका लागि टिकटको ब्यबस्था तुलसीपुर उपमहानगरपालिकाले गर्ने छ भने केही समयपछि एयरलाईन्सले नै ब्यबस्था गर्ने सहमति भएको छ।
मंगलवार मात्रै निगमको डाँफे विमानले टरिगाउँ एयरपोर्टमा सफल उडान गरेको थियो। विक्रम संवत २०११ सालदेखि विमान सेवा सुरु भएको टरिगाउँ एयरपोर्टमा झन्डै चार दशक सम्म नियमित निगमको जहाजले सेवा दिएको थियो। २०७० सालतिर धावन मार्ग कालोपत्रे गरिएपछि विभिन्न निजी विमान कम्पनीहरुले सेवा सुरु गरेको भएपनि त्यो चर्को भाडाका कारण दिगो हुन सकेन।
महँगो भाडाले विमान सेवा नियमित हुनेमा आशंका
दाङ काठमाडौं भाडा दश हजार सम्म पुर्याएका कारण पटक/ पटक विमान सेवा अवरुद्ध हुँदै आएको थियो। पछिल्लो समय नेपाल वायुसेवाको विमानले सेवा सुरु गर्न लागेको भएपनि भाडादर लगभग त्यस्तै देखिएको छ।
त्यसले विमान सेवा नियमित हुनेमा आशंका पैदा भएको कतिपयले बताउने गरेका छन्। जवकी नेपालगञ्जबाट ४ हजारदेखि ४५ सय रुपैयाँमा काठमाडौं जान पाइन्छ। त्यस्तै दाङबाट काठमाडौं बसमा जान झन्डै एक हजार रुपैयाँ लाग्ने गर्छ । महँगो भाडा कायम रहँदासम्म यात्रुहरु बाँके वा भैरहवा गएर प्लेन चढ्न बाध्य हुने कतिपयको बुझाइ छ।
कालोपत्रे युक्त धावन मार्ग भएपनि दाङको टरिगाउँ विमानको लम्वाई जम्मा ७५० र चौडाई ३० मिटर रहेको हुँदा ठूला विमान भने यहाँ अवतरण गर्न सक्दैनन्। इन्धन डिपो पनि नहुनु र धावन मार्ग पनि प्रयाप्त नहुनुले गर्दा ठूला विमान आउन नसक्दा भाडा महँगो हुन गएको छ ।यसबाट पनि दाङको विमान सेवा नियमति हुनेमा शंका पैदा भएको छ।
अस्थायी इन्धन डिपो दाङ ल्याउने निर्णय पारित
यसैबीच टरिगाँउ बिमानस्थलमा तत्कालका लागि अस्थायी इन्धन डिपो (च्भागबिच ःबअजष्लभ) ल्याउने निर्णय भएको छ। सभामुख कृष्णबहादुर महराको पहलमा मन्त्रीस्तरीय निर्णयले पारित गरेको दाङबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीले सेतोपाटीलाई बताए। तत्काललाई सोमबार र शुक्रबार सरकारी विमान उडानको तयारी भइरहेको बेला अस्थायी इन्धन डिपो आएमा भाडादरमा हेरफेर हुने अपेक्षा गरिएको छ।
तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले अस्थायी डिपो आएको दिनदेखि नै भाडादर समायोजन हुने जानकारी दिए । अहिलेको भाडादर हेरफेर भएपछि भने दाङमा विमान सेवा नियमित हुने संभावना बलियो बन्न सक्छ।
तस्विर – नारायण/सेतोपाटी