मंसिर १ गतेदेखि दाङ–काठमाडौंका लागि हप्तामा तीन दिन हवाई सेवा सुरू हुने भएको छ। हाल सातामा दुई दिन सोमबार र शुक्रबार उडान हुँदै आएको छ।
मंसिर १ गतेदेखि लागू हुनेगरी बुधबार पनि विमान सेवा सुरू गर्न लागिएको नेपाल वायुसेवा निगमका प्रवक्ता अशोक सिग्देलले जानकारी दिए।
यात्रुको चाप र मागलाई मध्यनजर गर्दै हप्तामा तीन दिन सेवा सुरू गर्न लागिएको बताउँदै उनले निकट भविष्यमै यात्रुको दैनिक एउटा उडानको तयारी गर्ने जानकारी दिए ।
‘अब हामी एकआध महिना हेर्छौं, यात्रुको चाप र माग यसैगरी बढेमा दैनिक उडान गर्नेछौं,’ सिग्देलले भने ।
तुलसीपुरमै पर्याप्त यात्रु पाएपछि एयरलान्सले अहिले तुलसीपुर–काठमाडौं सिधा हवाई सेवा सञ्चालन गरिरहेको छ।
इन्धन समस्याका कारण विमानको क्षमता अनुसार यात्रु बोक्न नसके पनि एक/दुई जना कम यात्रु बोकेरै भए पनि सिधा उडान गर्दै आएको क्याप्टेन उद्धव घिमिरेले जानकारी दिए ।
टर्मिनल भवनको लागि बजेट विनियोजन
दाङको एकमात्रै विमानस्थल टरिगाउँ विमानस्थलमा सुविधा सम्पन्न टर्मिनल भवन बन्ने भएको छ।
भवन निर्माण गर्न केन्द्रबाट बजेट विनियोजन भइसकेको र तत्काल निर्माण प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले जानकारी दिए।
जीर्ण अवस्थाको टर्मिनल भवन निर्माण गर्न सरकारले बजेट विनियोजन गर्नुले पनि विमान सेवा नियमित हुने अपेक्षा पाण्डेले व्यक्त गरे।
उनले अस्थायी इन्धन डिपोको लागि सरकारले निर्णय गरिसकेको हुँदा त्यो ल्याउने प्रक्रिया समेत अगाडि बढिसकेको बताए ।
विक्रम संवत २०११ सालदेखि विमान उडान हुँदै आएको टरिगाउँ एयरपोर्टमा केही वर्षदेखि विमान सेवा पटक/पटक अवरूद्ध हुँदै आएको थियो। तर, पछिल्लो समय तुलसीपुर उपमहानगरपालिकाको समन्वयमा विमान सेवा सञ्चालन भइरहेको छ ।