ग्लोबल नेपाली
हेटौंडाका वासुदेव घिमिरे अहिले अफ्रिकी मुलुक क्यामरूनमा छन्। उनी क्यामरूनको बिटल हेरिटेज होल्डिङ ग्रुप अन्तर्गत अफ्रिका फुड म्यानुफ्याक्चरिङ डिभिजनमा काम गर्छन्।
उनी कम्पनीमा इन्डस्ट्रियल कम्प्लेक्स डाइरेक्टर छन्। उनको विशेषज्ञता पास्ता उत्पादनमा हो। यसबाहेक अन्य खाद्य सामग्री उत्पादन र व्यवस्थापनमा पनि खटिने उनले बताए।
'मरो मातहतमा पाँच वटा पास्ता फ्याक्ट्री छन्,' वासुदेवले भने, 'यी पाँच वटै उद्योगबाट बिस्कुट, पाम तेल, भटमासको तेल लगायत पनि उत्पादन हुन्छ।'
उनकै नेतृत्वमा सलादमा प्रयोग हुने दूध (स्विट एन्ड कन्डेन्स्ड मिल्क), मायोनिज, स्यान्डवीच र बर्गरमा प्रयोग हुने सस (मार्गरिन) पनि बन्छ। खाद्य उद्योगमा काम नलाग्ने सामग्रीबाट साबुन र बोतल उत्पादन गर्ने तयारी पनि भइरहेको उनले बताए।
सन् २०२४ जुनमा क्यामरून आउनुअघि वासुदेव मोजाम्बिकमा थिए। त्यहाँ उनले झन्डै १२ वर्ष काम गरे। आफ्नो जीवनको सबभन्दा ऊर्जाशील समय मोजाम्बिकमा बितेको उनले बताए।
मोजाम्बिकमा उनी परिवारसहित बसेका थिए।
'मोजाम्बिकमा पोर्चुगिज र क्यामरूनमा फ्रेन्च भाषा बोलिने भएकाले छोराछोरीको पढाइमा असर नपरोस् भनेर उनीहरूलाई नेपाल पठाएको छु। वर्षमा दुई–तीन पटक नेपाल जान्छु,' उनले भने।
वासुदेवका अनुसार मोजाम्बिकमा नेपालीहरू धेरै थिए। क्यामरूनमा भने एकदमै कम छन्।
मोजाम्बिकमा पनि उनी मेरिक इन्डस्ट्रिज नामक पास्ता र आँटा मिल कम्पनीमा व्यावसायिक प्रमुख थिए। उनको मातहत १२ वटा कारखाना थिए, जसमा पास्ता र आँटासँगै बिस्कुट उत्पादन हुन्थ्यो।


मोजाम्बिकमा बस्न र काम गर्न पनि राम्रो भएको उनले बताए।
'अर्थतन्त्र राम्रो थियो तर हामीलाई अवसर चाहिने रहेछ,' उनले भने, 'क्यामरूनमा जिम्मेवारीसँगै अवसर र एक्सपोजर दुवै छ। त्यसैले यता आएँ।'
अवसरकै खोजीमा सन् २००३ मा पनि उनी दुबई गएका थिए।
कक्षा–१२ कक्षा पास गरेलगत्तै उनी दुबईको पास्ता कारखानामा अपरेटरका रूपमा काम गर्न गए। त्यहाँ सन् २००३ देखि २००८ सम्म काम गरे। यसबीच एक वर्ष कम्पनीबाटै कतारमा काम गर्न गए।
दुबई जानु उनको करिअरको 'टर्निङ प्वाइन्ट' थियो।
त्यहाँको अनुभवले उनी ओमान पुगे। सन् २००८ देखि २०१२ सम्म पास्ता उद्योगमा प्राविधिक भएर काम गरे। यसपछि मोजाम्बिक गएका हुन्।
वासुदेवले दुबईमा काम गर्दैगर्दा भारतबाट तीनवर्षे मेकानिकल डिप्लोमा पनि गरे। अनलाइन कक्षा लिएर परीक्षा दिन मात्र भारत गएको उनले बताए। मोजाम्बिक गएपछि उनले पढाइलाई थप अघि बढाए। सन् २०२१ मा स्विट्जरल्यान्डबाट 'मास्टर्स इन फुड टेक' गरे।
'म हेटौंडामा गरिब परिवारमा जन्मिएको हुँ, तीन दिदीहरूमुनिको भाइ। बुवालाई अल्सर भएपछि १२ कक्षा पढ्नासाथ बिदेसिनुपर्यो। काम गर्दै अनुभव बटुल्दै गएँ,' उनले भने, 'आफूमा पनि लगानी गर्नुपर्छ भनेर कामसँगै पढाइलाई अघि बढाएँ। कलेज जान नपाए पनि काम गर्ने विषयमा मास्टर्ससम्म पढेँ।'
क्यामरूनको प्रतिष्ठित औद्योगिक घरानाको नेतृत्वमा पुग्नुलाई उनले अहिलेसम्मको मेहनत र परिश्रमको परिणाम मानेका छन्।
अचेल उनी आफूले काम गर्ने कम्पनीको भविष्यको योजना बनाउनमा व्यस्त छन्। सन् २०२६ देखि २०३० सम्म कम्पनीले कुन–कुन क्षेत्रमा लगानी गर्नुपर्छ भनेर योजना बन्दैछ।
वासुदेव डिसेम्बरमा नेपाल आउने तयारीमा छन्। उनले आफै हेटौंडामा 'चक्री फुड्स प्रालि' नामक आँटा उद्योग खोल्दैछन्। काम अन्तिम चरणमा पुगिसकेको छ। जनवरीदेखि उत्पादन सुरू हुने उनले बताए।
'विदेशमा धेरै वर्ष दुःख गरेर कमाएको सीप नेपाल लैजान लागेको हुँ,' वासुदेवले भने।
