तिमीलाई हेर्दा
मेरो मनमा खुसीको सीमा रहन्न
बलजस्तै तिमी गुड्छौ
दौडिन्छौ
अथवा नाँच्छौ ,
बलसँगको तिम्रो त्यो कला
प्रिय लाग्छ मलाई
हेरेर कहिल्यै नअघाउँने
नथाक्ने बनायौं
मेरा आखाहरू
मेरो मनलाई ।
‘फिल्ड’ मा तिमी दौडिँदा
हजारौं मनहरुसँग
मेरो मन पनि दौडिन्छ,
जब तिमी दौडिदै
बलको कुची (ब्रस) ले
अद्भुत चित्र बनाउँछौ मैदानमा
म हेरिरहन्छु तिम्रो ब्रस चलाउँने
देब्रे खुट्टा
र
हरियो चउरमा कोरिएका सुन्दर चित्रहरु
म सजाईरहेछु मेरो मनको क्यानभासमा
तिम्रा लाखौ अरु “फ्यान” हरुसँगै !
तिमी खेल्दा
बल खेलाउँने तिम्रो खुट्टाको जादुमा
मेरो खुट्टा पनि थपिन्छ
हेर्दा तिमीले खेलीरहेको
म भुल्छु
तिमी नै थियौ त्यो जादुगर भनेर,
म बल नै नछोएको मान्छेलाई
“ फुटबलर” बनायौ तिमीले ।
तिमीसंगै थुप्रै “लीग” हरु जीतें
तक्माहरु, कपहरु थुपारें
खुशी मनाएँ,
भोगें तिमीसंगै नचिताएका
आकस्मिक हारहरुको पीडा पनि,
छट्पटाएँ, रोएँ
र तिमीलाई हेरेर हौसला थपें आफूमा ,
हारेर पनि जीत्न सक्ने रहेछौ तिमी
सपना देख्न सिकायौ तिमीले ।
“गोल” तिमी गर्छौ
खुशी म मनाउँछु,
तिम्रो “पासमा”
म बल भेट्न दौडिन्छु,
तिमी लड्दा
म पछारिन्छु
खेलमा
तिमीबाट म अलग छैन ।
हावाजस्तै बेगवान
जव “बल” संग तिमी दौडिन्छौ
स्वर्गकी नृत्यांगनाका चालहरु झै
तिम्रा खुट्टाहरु
“बल” संग नाच्न थाल्छन् ,
“डिफेन्डरहरु” एक एक गरेर
ढल्छन् युध्द मैदानका
पराजीत सिपाहीहरु जस्तै ।
वाज झै “गोलपोष्ट” मा
जव तिमी हेर्छौ
निसहाय “किपर” संगै
सबै हेर्छन् तिमीतिर
माँत्र तिमीतिर
मेरो “हिरो”
मेरो महान “फुटबलर मेस्सी” ।
टिमिन्स, क्यानडा