पहिले हामी
भयंकर भीर थियौँ
पहरो थियौँ,
माटोको स्पर्श
र
जमिनको न्यानो थियो,
हाम्रै कापहरूबाट मूल फुट्थे
बुकी फुल्थे
हाम्रा छातीहरूमा ।
हामी चट्टान थियौँ
अत्यन्त बलियो
निडर चट्टानहरू,
अरूले चढ्न नसक्ने
डरलाग्दो, अग्लो पहरो थियौँ
हामी सँगै थिए अमुल्य खानी
जीवन जल बग्थ्यो
पग्लिएर हामीबाटै ।
कालान्तरमा
हामी ढुङ्गा भयौं,
पर्खालहरूमा
घरका भित्ताहरूमा
छानाहरूमा
कतै भुइ
कतै सिँढीहरूमा
कतै गल्ली
कहि सडकहरूमा छापियौं ।
गहनाहरूमा पत्थर भएर सजियौं
देवल
र
मन्दिरहरूमा मूर्ति भएर पुजियौं
झिल्का भएर चम्कियौं
अँध्यारोमा
हतियार भएर
सिकार
र
युद्धहरू लड्यौं ।
कतै टुक्रिएर धूलो भयौं
माटोमा
हावामा
र पानीमा मिसिएर
छरियौं भूगोल भरि !
अरुकै मूल्यमा
लिलाम भयौं कतै
बेचियौं
अरुकै खुशीमा !
खस्ने डर छ अव
भत्किने
फुट्ने
पग्लिने
र
चोरिने डर पनि,
पहिले कहिल्यै भएको थिएन यस्तो
त्यो माथिको पहरोमा !
त्यो डरलाग्दो भीरमा !!