कविता
बीउ
भाँडोमा जतनले
कीरा बाट मात्र जोगाइएन
आफ्नै भोक पनि बिर्सेर
टालिएको थियो भाँडाको मुख,
घरी घरी जल्ने भोकको आगोको लप्का
पुग्न नसकेर बचेको हो पिनाको लेपको बिर्को।
बाको हलोले
जमिन जोतेर
पसिना सिञ्चित भएपछि
आमाको हातको स्याहार पाएर
बीउमा जीवन अंकुराएको हो,
शीत छलेर
घाम पानी सहेर
हलक्क अग्लिएको हो
आकाश नै छोउँला झैं गरी
ब्याडमा धानका बेर्नाहरू ।
खेतभरि पानी जमाएर
गोरु घुमाउँदा फनफनी
हिलाम्य भएपछि
नव यौवना झैं सुन्दर /चित्ताकर्षक
भएको हो खेत !
उत्ताउलो खेतमा
रोपार र बाउसेहरू
हिलो खेल्दै
असारे भाकामा
मेलो मार्दा
बनेको हो प्रकृतिको गीत !
घामले रङ्गाई रहने छ यो गीत
बनाई रहनेछ अझ गाढा
पानीले भरि रहनेछ सुमधुर धून
हावाले सुसेली रहनेछ
हरेक दिन यही गीत,
मेरा बा आमा
सुनेर मुस्कुराई रहने छन्
छिप्पिँदै गएको यही धुन
वर्षौ वर्ष!