बग्दा बग्दै
कसरी भेटियो भुमरी
र घुमिरहेछ त्यही वरिपरि
एउटा अशक्त समय
पट्यार लाग्दो।
बगेर आएका फोहोरहरू बोकेर
बनाइ रहेछ एउटा वृत्त
फन्को मारिरहेछ
निरुद्देश्य,
कहिल्यै नसकिने गरी
आफ्नै परिधिमा गरिरहेछ
गन्तव्यरहित यात्रा।
पानीका फोहोर फोकाहरूमा
विस्मृतिका सुन्दर क्षणहरू
एक-एक गरेर फुट्दै र बन्दै गरिरहेका छन्
म निरीह हेरिरहेको छु
असंख्य रहरहरूको मृत्यु
र नयाँ सपनाहरूको उत्साहहीन उदय।
नदीमा निर्विघ्न बग्दै थिए रहरहरू
छालहरू माथि तैरिँदै
कसले ती छालहरूको लय सुन्न नसकेर
गरेछ यो भुमरीको प्रपञ्च
र रोक्न खोजिरहेछ जीवनको गति?
अलि तल
फेरि गति छ जीवनको
बहाव छ
लय/ताल छ
धुन छ
सपनाहरू छन्
उस्तै सुन्दर छ जीवन
जस्तो पहिले थियो
भुमरीमा पर्नु अघि।
आफै भत्काउँछन् रहरहरूले
यो त्रासद समयको वृत्त
कहाँ रोकिन्छ र भुमरीमा जीवन?
जीवन बग्नु हो
बहाव निरन्तरता हो
निरन्तरता समय
समय सत्य हो
र सत्य जीवन हो।