कुनै बेला काठमाडौंमा चटपटे र पानीपुरी सडक छेउछाउ ठेलामा मात्र पाइन्थ्यो।
पानीपुरी केही मिठाइ पसलका मेनुमा अटाए पनि चटपटे किन्न त बाटामै जानुपर्थ्यो!
अहिले त्यो दृश्य फेरिइसकेको छ। काठमाडौंका आधुनिक चिया पसलदेखि रेस्टुरेन्टको मेनुसम्म पानीपुरी र चटपटेले ठाउँ पाएका छन्। पछिल्लो समय त पानीपुरी र चटपटे मात्र पाइने पसल खोल्ने लहर छ।
अनि केही पसल त ब्रान्ड पनि बन्दैछन्।
यस्तैमध्ये एक हो — स्पाइसेस।
स्पाइसेस ललितपुरको एकान्तकुनामा खुलेको चटपटे र पानीपुरी पसल हो।
यहाँ बसेर खाने, प्याक गरेर लैजाने (टेक–अवे) र फुडमान्डुबाट घर वा कार्यालयमै मगाउन पाइने (होम डेलिभरी) सुविधा उपलब्ध छ।
यसरी पानीपुरी–चटपटेलाई व्यवस्थित र व्यावसायिक रूपले ग्राहकसम्म पुर्याउने युवाहरू हुन् ललितपुरका सब्रिना श्रेष्ठ र सुजन महर्जन।
'स्पाइसेसको विशेषता नै टेक–अवे एन्ड डेलिभरी हो। विशेषगरी पानीपुरी–चटपटे मन पराउने तर बनाएर खान नभ्याउनेहरूका लागि लक्ष्य गरेर पसल खोलेका हौं,' सब्रिनाले भनिन्।
यहाँ चटपटे र पानीपुरी विभिन्न स्वादमा पाइन्छ— सामान्य पानीपुरी, दही पुरी, फुल्की, वाइवाइ चिप्स चटपटे, करेन्ट चिप्स चटपटे, करेन्ट वाइवाइ चटपटे, मिक्स चटपटे लगायत। यी परिकारको मूल्य ३० रूपैयाँदेखि सुरू हुन्छ।
-1709229530.jpg)
-1709229531.jpg)
पसल दिउँसोदेखि साँझसम्मै ग्राहकले भरिएको हुन्छ। यहाँ आउने प्रायः ग्राहक जेनजी उमेरका छन्। अझ स्कुल–कलेज पढ्ने विद्यार्थीको भिड लाग्छ।
टेक–अवे धेरैजसो वरपरकै मानिसले गर्छन्।
फुडमान्डुबाट भने दैनिक २० जनाले मगाउन सक्छन्। हाल एकान्तकुनाबाट १२ किलोमिटर आसपास मात्र डेलिभरी भइरहेको छ।
'अहिले हामीलाई चटपटे–पानीपुरी बनाउनै भ्याइनभ्याइ छ,' उनले भनिन्, 'त्यसैले डेलिभरीका लागि हामी आफै अर्डर लिदैनौं। फुडमान्डुमा पनि सीमित मात्र राखेका हौं। हाल दैनिक चार सय प्लेटभन्दा बढी पानीपुरी–चटपटे बेचिरहेका छौं।'
२४ वर्षका दुई साथी सब्रिना र सुजनले यो व्यवसाय थालेको ३ वर्षभन्दा बढी भयो। हाल दुवै स्नातकोत्तर (मास्टर्स) पढिरहेका छन्।
व्यवसायका सुरूआती दिनमा उनीहरूलाई के कस्तो हुने हो भन्ने अलमल थियो।
'सुरूसुरूमा त ग्राहकले मिठो छ भनेपछि मात्र मन शान्त हुन्थ्यो,' सब्रिनाले भनिन्, 'अहिले बिस्तारै बानी बसेको छ। पहिले जस्तो डर लाग्दैन।'
यो व्यवसायमा लाग्नुअघि सब्रिना र सुजन दुवै जना जागिरे थिए। उनीहरूको भेट मेघा कलेजमा स्नातक तह पढ्ने क्रममा भएको हो।
सब्रिनाले २०७६ सालमा प्लस–टू सकेर करिब एक वर्ष बुटिकमा काम गरिन्। पछि शिक्षण पेसामा आबद्ध भइन्।
उनका बुबाको चाहना भने उनी विदेश जाऊन् भन्ने थियो। तर बुबालाई सम्झाएर व्यवसायमा लागेको उनले बताइन्। आमाले भने उनलाई सधैं समर्थन गरिन्।
'मलाई अहिलेसम्म विदेश जाने इच्छा छैन,' उनले भनिन्, 'नेपालमै केही गरौं भन्ने हो। गर्न सके सफल पनि भइन्छ।'
स्पाइसेसका कर्मचारीहरू
सुजनले पनि करिब एक वर्ष शिक्षण पेसा गरे। उनका बुबा व्यवसायी भएकाले पछि उनैलाई काममा सघाए। यसले उनलाई व्यवसाय र बजार दुवै बुझ्न मद्दत गर्यो। यही क्रममा सबभन्दा उचित खानपिन सम्बन्धी व्यवसाय हुने देखे।
एकै पटक धेरै लगानी गर्ने क्षमता उनीहरूको थिएन। त्यसैले थोरै पैसामा सुरू गर्न सकिने चटपटे–पानीपुरी व्यवसाय छाने।
एकान्तकुनामा सटर खोजे र घरबाटै सानो दराज, भाँडाकुँडा र ग्यास चुह्लो ल्याए। पानीपुरी र चटपटे बनाउन चाहिने केही सामान किनेर काम सुरू गरे।
त्यो बेला ५० हजार रूपैयाँ लगानी भएको थियो।
उनीहरूले चटपटे–पानीपुरीको भिडिओ बनाएर सामाजिक सञ्जालमा पनि राखे।
'चटपटे र पानीपुरी पनि टेक–अवे र डेलिभरी भन्दै सुरूमा धेरैले अचम्म मान्थे,' सब्रिनाले भनिन्, 'तर हाम्रो काम धेरैले मनपराए। गर्न सकिन्छ भन्ने हिम्मत पनि बढ्यो।'
सुरूमा उनीहरू तीन किलोमिटरभित्र र आफै डेलिभरी गर्थे। माग बढ्दै गएपछि फुडमान्डुसँग सहकार्य गरेर १२ किलोमिटरसम्म पुर्याएका हुन्।
अहिले स्पाइसेसमा सब्रिना र सुजनबाहेक चार जना कर्मचारी छन्।
'अब छिट्टै काठमाडौं उपत्यकामा क्लाउड किचन र काठमाडौंबाहिर स्पाइसेसको पसल खोल्ने योजना छ,' सब्रिनाले भनिन्।