बहुसंख्यक उत्तर अमेरिकीले नेपालको नाम सुन्नासाथ जसरी ‘माउण्ट एभरेष्ट’ भन्छन्, फेमिली नेम ‘शेर्पा’ भन्नासाथ ‘माउण्टेनियरिङ’ अर्थात् पर्वतारोहण सम्झिन्छन्। त्यस्तो नसम्झिउन् नि किन ! आखिर शेर्पा र पर्वतारोहण परिपूरक जो छन्। त्यही शेर्पा समुदायको पहिचान र परिचय अहिले अरु क्षेत्रमा पनि फैलिँदो छ, जसरी उनीहरु अवसरको खोजीमा हिमालको काखबाट देश देशान्तर फैलिँदै छन्।
११ बर्षीय पासाङ नामग्याल शेर्पा त्यस्तै एक प्रतिभाशाली किशोर हुन्, जसले आफू र आफ्नो समुदायको नाम पर्वतारोहणभन्दा भिन्न क्षेत्रमा स्थापित गराउँदैछन्। टुकुटुक हिँड्न सक्ने भएदेखि नै खेलकुदमा रुचि राख्ने पासाङ नामग्याल अहिले क्यानाडाको एउटा टिमबाट पोर्चुगलमा हुुँदै गरेको ठूलो प्रतियोगितामा फुटबल खेल्दैछन्। फुटवल खेल्नुअघि उनको नाम मार्शल आर्टको आफ्नो उमेर समूहमा अगाडि थियो।
तीन वर्षको निरन्तर अभ्यासपछि पासाङ टोरन्टोको मिसिसागास्थित ‘रोबर्टस् क्यानाडा सकर एकाडेमी’को जुनियर टिम (अन्डर १७) मा पर्न सफल भएका हुन्। जुन टिममा पर्न सफल पासाङसहितका १५ खेलाडी आज (अप्रिल ९) देखि पोर्चुगलको अल्ग्रेभमा सुरु हुँदै गरेको ‘अल्ग्रेभ युथ कप’मा फुटवल प्रतिस्पर्धा गर्दैछन्। सुन्दा सामान्य लागे पनि उनले छनौट निम्ति गरेको मेहेनत र त्यो प्रतियोगिताको महत्व ठूलो छ।
‘पाँच महादेशका २ सय टिम सहभागि हुने यो प्रतियोगिता पोर्चुगलका लागि फुटवलको महाकुम्भ बराबर हो’ अल्ग्रेभ युथ क्लवको आधिकारिक वेबसाइटमा भनिएको छ, ‘प्रतियोगितामा फुटवल खेलाडीको संख्या नै ३ हजार दुई सय हुनेछ।’ कडा मेहनत गरेर क्यानाडाको टिममा पर्न सफल भई यो प्रतियोगितामा खेल्न पाउनुलाई पासाङका अभिभावकले मात्र होइन, क्यानाडाका नेपालीले नै ‘गर्वको कुरा’ भनेका छन्।
‘क्यानाडामा नाम मात्रैको खेलेर छनोटमा पर्नसक्ने सम्भावनै हुँदैन, उसले तीन वर्षदेखि यसका लागि जोडदार मेहेनत गरेको थियो’ छोराले फुटवलमा प्राप्त गर्न लागेको सफलताले पुलकित बुवा मिङ्मार नोर्गे शेपाले भने, ‘त्यसैले सफल भयो, अब अझ मेहेनत गरेर उसले फुटवलमा उपलव्धि हासिल गर्छ भन्ने लागेको छ।’ छोराले फुटवलमा पाएका सफलताले परिवारको मात्र नभई नेपालीकै नाम सुवास फैलिएको उनले बताए।
पासाङ सम्मिलित क्यानेडियन टिमलाई लिएर एकाडेमीका निर्देशक तथा प्रशिक्षक इडी रोवर्टस् स्वयं पोर्चुगल गएका छन्। प्रतियोगिताका लागि पहिलोपल्ट क्यानाडा बाहिर गएका पासाङको साथमा आमा छिमी पनि गएकी छन्। ‘एउटा टिमले कम्तीमा तीनवटा खेल खेल्नुपर्ने प्रावधान छ’ मिङ्मारले सेतोपाटीलाई भने, ‘त्यसो हुँदा उनीहरु पोर्चुगलमा एक साता बस्छन्।’ तालिकाअनुसार, प्रतियोगिता अप्रिल १५ मा सकिनेछ।
१५ सदस्यीय टिममा पर्न कलिला पासाङले फुटवलमा बगाएको पसिना धेरै छ। विन्टर र समर दुवै सिजनमा अभ्यासनिम्ति तयार हुनु त छँदैथ्यो, एकाडेमीको अनुशासन पालन गर्दै समय व्यवस्थापन गर्नु पनि सजिलो थिएन। ‘जाडो र गर्मी दुबै सिजनमा उत्तिकै पर्फम देखाउन सकेकाले र फुटवलप्रति एकनासको लगाव कायम राखेकाले उ छानिएको हो’ छोराको खेलप्रेमबारे मिङमार भन्छन्, ‘हामीले उसको चाहनालाई भरपूर साथ दियौं।’
पोर्चुगलबाट फर्केपछि पासाङ बेलायतमा अझ माथिल्लो स्तरको प्रशिक्षण लिन जाने तयारी गर्नेछन्। त्यसका लागि यही एकाडेमीबाट दुईदेखि तीन जनाले मौका पाउने छन्। मिडफिल्ड र स्ट्राइकरका रुपमा खेल्दै आएका पासाङले त्यो मौका पाए भने बेलायतको नाम चलेको क्लवमै बसेर पुरै समय फुटवल अभ्यासमा खर्चिने छन्। ‘अहिले ५०/५० को सम्भावना छ’ मिङमार भन्छन्, ‘त्यो मौका दिलाउन अभिभावकका तर्फबाट हामी पुरै खट्छौं।’
मिङ्मार र छिमीको कान्छो सन्तानका रुपमा सन् २००५ मा अमेरिकाको न्युयोर्कमा जन्मेका हुन् पासाङ। शेर्पा दम्पतीको पहिलो सन्तान छोरी छन्। उनको नाम फुर्वा हो, जो विश्वविद्यालय पढ्छिन्। न्युयोर्कबाट सन् २००९ मा क्यानाडाको टोरन्टो बसाईं सरेका शेर्पा यहाको नेपाली समुदायमा मेहेनतीका रुपमा परिचित छन्। अहिले आफ्नै व्यापार व्यवसाय गर्ने तरखरमा छन्। उनी सन् १९९२ मा नेपालबाट अमेरिका आएका हुन्।
अमेरिकाबाट क्यानाडा सर्दा पासाङको उमेर तीन बर्षको थियो। इलिमेन्ट्री स्कुल भर्ना भएपछि उनको रुचि मार्शल आर्टतिर देखिएको अभिभावक सम्झिन्छन्। ‘पहिले उसको रुचि सितेरियो करा“तेमा थियो, पछि फुटवलतिर धेरै देखियो’ फुटवलमा ध्यान केन्द्रित भएपछि कराँते कक्षा स्थगित गराएको सम्झि“दै मिङमारले भने, ‘यही रफ्तारमा खेल्ने हो भने छोराले फुटवल खेलमा पक्कै उपलव्धि हासिल गर्ला भन्नेछ।’
पासाङले अहिलेकै रोवर्टस् क्यानाडा सकर एकाडेमीबाट टोरन्टो आसपास हुने थुप्रै प्रतियोगितामा आफ्नो खेल कौशल देखाइसकेका छन्। जसबाट उनले बफेलो सिटी गोल्ड मेडल, काटा डेमो प्रोभेन्सियल गोल्ड मेडल, कुमेटे सिल्भर मेडल आदि पुरस्कार पाइसकेका छन्। ‘पढाईस“गै खेलकुद अझ भनौं फुटवलमा, उसको रुचि खपिनसक्नु छ’ छोराको चाहनाबारे मिङमारले भने, ‘हामीले पनि त्यो इच्छा पूरा गर्दिन सघाइरहेका छौं।’
क्यानेडियन टिमबाट पोर्चुगलको प्रतियोगितामा खेल्न जाने भएपछि पासाङलाई परिवारका सदस्य र नेपाली समुदायका केही अगुवाले बधाई तथा शुभकामना दिएका थिए। त्यस समारोहमा एकाडेमी निर्देशक तथा प्रशिक्षक इडीले पासाङबारे भने, ‘उसमा फुटवलप्रतिको आशक्ति साहै्र धेरै पाएको छु, जुन जोकोहीमा भेट्न सकिँदैन, यसलाई अझ मलजल गर्दा उसले फुटवलमा लोभलाग्दो प्रगति हासिल गर्नेछ।’
यस्तै, लामो समयदेखि क्यानाडा बस्दै आएका र ‘नमस्ते रेडियो’ चलाइरहेका अनिल थापाले पनि पासाङको फुटवल प्रेमलाई प्रशंसा गरेका छन्। ‘उसले फुटवलमार्फत क्यानाडामा शेर्पा जातिको मात्र होइन, नेपाली समुदायको नै नाम उ“चो पार्ने सम्भावना देखिएको छ’ थापाले समारोहमा भने, ‘यसका लागि परिवारले जसरी साथ दिइरहेका छन्, हामीले पनि हातमा हात दिनसक्दा अझ राम्रो हुनेछ।’