मैले बैठकको प्रारम्भदेखि नै भन्दै आएको छु — २०८२ भदौ २३ र २४ अघि र पछिको अवस्था एकै होइन।
भदौ २३ गतेसम्म नेपाली कांग्रेस प्रमुख साझेदारका रूपमा सरकारमा थियो, संसदमा ठूलो दल थियो। पार्टीका गतिविधि पनि सामान्य ढंगले चलिरहेका थिए। पार्टीको १५औं महाधिवेशन २०८३ मंसिरसम्ममा गर्ने मनस्थितिमा थियौं। तर अकस्मात जेनजी पुस्ताले आह्वान गरेको प्रदर्शनले हामीलाई एउटा राष्ट्रिय उथलपुथलको सामुन्ने खडा गरिदियो।
त्यो उथलपुथलपछि हामी प्रमुख साझेदारका रूपमा रहेको सरकार सडकबाटै अपदस्त भयो। अन्तरिम सरकार गठन भयो र संसद विघटित भयो। फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरियो।
यसरी भदौ २३ र २४ को उथलपुथलले हामी उभिएको जमिन हाम्रै आँखा अगाडि भासियो।
हाम्रा अगाडि सर्वथा अनपेक्षित भिन्न खालको परिस्थिति खडा भयो।
भदौ २३ र २४ मा जुन अकल्पनीय ढंगले तेज रफ्तारमा घटनाक्रम भए, त्यसलगत्तै पछाडिको विशिष्ट परिस्थितिमा राष्ट्रिय राजनीति अगाडि बढेको छ। मैले यसबीच जति पनि पार्टीका साथीहरू र आममानिसका मत र धारणा सुनेँ, देखेँ, मनन गरेँ, त्यसबाट पार्टी अब नियमित गतिविधिहरूबाट अगाडि बढ्न सक्दैन भन्ने निष्कर्षमा पुगेर आमनिर्वाचनभन्दा अगाडि पार्टीले अधिवेशन सम्पन्न गर्नुपर्छ भन्ने धारणा मैले सार्वजनिक गरेँ।
राजनीतिक दलहरू परिवर्तित परिस्थितिमा नयाँ नेतृत्व चयन गर्ने, पुनर्गठन गर्ने, दलहरूबीच एकता गर्ने अनेक विधिबाट पहिलेभन्दा बदलिएको सन्देशसहित आमनिर्वाचन सामना गर्न रणनीति तय गरिरहेका देखिन्छन्।
नेपाली कांग्रेस पार्टीले पनि यस्तो विशिष्ट राष्ट्रिय परिस्थितिमा सामान्य अवस्थामा जस्तो केन्द्रीय कार्यसमितिको म्याद थप नगरी तत्काल आवधिक अधिवेशनबाट नयाँ नीति र नेतृत्व चयन गरेर जानुपर्छ भन्ने मत असोज ३ गते पार्टी कार्यसम्पादनको बैठकमा राखेको थिएँ।
कांग्रेस पार्टीको ऐतिहासिक परम्परा नै पार्टीको र राष्ट्रिय संकटमा राष्ट्रिय कार्यकर्ता भेला, महासमिति बैठक, विशेष अधिवेशन वा महाधिवेशनबाट नयाँ ताकत लिएर पार्टी र राष्ट्रिय संकटलाई नयाँ दिशानिर्देश गर्ने रहेको छ। हामीले कांग्रेसको त्यो गौरवशाली परम्परा बिर्सेर वर्तमान कार्यभार र इतिहासले कांग्रेस पार्टीलाई सुम्पेको दायित्व पूरा गर्न सक्दैनौं।
हामी प्रश्नहरूबाट भाग्ने होइन, इमानदार र जागरूक भएर नेपाली राजनीतिको सबभन्दा प्रभावशाली हतियार कांग्रेस पार्टीको भूमिकालाई निरन्तरता दिन सक्नुपर्छ।
कांग्रेसको इतिहाससिद्ध तथ्य हो, इतिहासका निर्णायक क्षणहरूमा नेपाली कांग्रेस केन्द्रले आफ्नो सीमित इको-च्याम्बरभन्दा बाहिर निस्केर कार्यकर्ताहरूको बृहत्तर दायराबाट उनीहरूको आवाज सुनेर ऐतिहासिक निर्णयहरूलाई अनुमोदित गर्छ। त्यही भएर आमनिर्वाचनभन्दा अगाडि कार्यकर्तामा जाने, उनीहरूको कुरा सुन्ने र सोही अनुरूप निर्णय गर्ने कुरा वैज्ञानिक, वस्तुसंगत र इतिहासपरक हुन्छ।
मूलतः कांग्रेस पार्टीले महाधिवेशनमार्फत इतिहासप्रदत्त कार्यभार सम्पन्न गर्न निकट विगतका कदमको समीक्षा गर्दै गल्तीप्रति प्रायश्चित गर्छ, जेनजी उथलपुथल क्रममा भएका परिवर्तनको आवाज ग्रहण गर्छ, वैचारिक र नीतिगत स्पष्टतासँगै आगामी कार्यभार र कार्यदिशा तयार गर्छ, अति दलीयकरणबाट समाजलाई मुक्त गर्ने प्रतिबद्धता व्यक्त गर्छ, राजनीतिलाई पुनर्परिभाषित गर्न पार्टीको बृहत आन्तरिक सुधार गर्ने लगायत नयाँ सन्देश प्रवाहित गर्नेछ।
असोज २७ गते पार्टीको कार्यसम्पादन समिति बैठकमा मैले सोही अनुरूप समयमै आवधिक १५औं महाधिवेशन सम्पन्न गर्नुपर्ने र त्यसका लागि कार्यतालिका समेत प्रस्तुत गरेको थिएँ। पार्टी सभापतिज्यूले पनि आफ्नो असोज २८ गतेको मन्तव्यमा नियमित समयमा (१४औं महाधिवेशन सम्पन्न भएको चार वर्षभित्रै २०८२ मंसिर) महाधिवेशन गर्ने कुरा उल्लेख गर्नुभएको थियो।
सोही अनुरूप कार्य गरी कार्यतालिका पेस गर्न र कार्यान्वयन गर्न दिएको भए अहिले यो समयमा हामीले क्रियाशील सदस्यता निरूपण गरी तल्लो तहका अधिवेशनहरू सम्पन्न गरिसकेका हुने थियौं। तर आमनिर्वाचनका अगाडि पार्टीको अधिवेशन कुनै हालतमा गर्न हुँदैन भन्ने तर्क अघि सारेर अधिवेशनसम्बन्धी काम–कारबाहीहरू रोकिए।
हामीले करिब ४५ दिन खेर फालेका छौं। यसबीच राष्ट्रिय राजनीतिमा हामीले सम्पन्न गर्नुपर्ने नेतृत्वदायी हस्तक्षेपकारी कार्यहरूबाट चुक्यौं। हामी आन्तरिक कुरामा नअल्झिएको भए नयाँ खुलेका दलमा लागिरहेका मानिस कांग्रेसप्रति आकर्षित हुन्थे, जोडिन्थे। पार्टीभित्र र बाहिर नयाँ ऊर्जा र उत्साह सञ्चार भइसकेको हुन्थ्यो।
अन्ततः ४५ दिनपछि पुस मसान्तअगाडि नै केन्द्रीय अधिवेशन सम्पन्न गर्ने कार्यतालिका आज पार्टी केन्द्रीय कार्यसमितिमा पेस भएको छ। अहिले प्रस्तुत गरिएको कार्यतालिका अन्तर्गत निर्धारित समयमै नेपाली कांग्रेसको १५औं महाधिवेशन गर्ने कार्य निकै चुनौतीपूर्ण छ। असोजमै कार्यतालिका पेस गरेर कार्यान्वयन गर्न पाएको भए आज अधिवेशन सहजतापूर्वक सम्पन्न गर्ने मार्गमा हुने थियौं, समयमै महाधिवेशन सम्भव थियो। ४५ दिनको गुमेको दिव्य समय प्रस्तावित समयावधिमा परिपूरण गर्नुपर्ने छ।
म दोहोर्याएर भन्न चाहन्छु — मूलतः नियमित महाधिवेशन हुने वा नहुने कुरा कार्यतालिका कार्यान्वयनको नियतमा भर पर्छ।
एकातर्फ पार्टी विधानको दफा १७ (१) अन्तर्गत १५औं महाधिवेशनको कार्यतालिका पेस गरिएको छ भने अर्कातर्फ विधानको दफा १७ (२) अन्तर्गत विशेष अधिवेशनका लागि पार्टीका ५४ प्रतिशतभन्दा ज्यादा साथीहरूले गरेको हस्ताक्षर (असोज २९ गते केन्द्रीय कार्यालयमा दर्ता नम्बर १०१ सहित दर्ता गरेको विशेष अधिवेशनको माग) यथावत् रहेको कुरा साथीहरूलाई अवगत नै छ।
स्मरण रहोस्, विधानत: विशेष महाधिवेशनको बाध्यकारी समयसीमा पुस २९ हो। ती हस्ताक्षरकर्ता साथीहरूको हस्ताक्षरको निहीतार्थ वा उद्देश्य भन्नुस्, निर्वाचन अगाडि पार्टीले अधिवेशन सम्पन्न गर्नैपर्छ भन्ने थियो। म ती तमाम साथीहरूलाई धन्यवाद दिन चाहन्छु, जसको निरन्तर दबाब र खबरदारी समेतले गर्दा पार्टी आमनिर्वाचनभन्दा अगाडि महाधिवेशन गर्ने निर्णयमा पुगेको छ।
हामीले हेक्का राख्नैपर्छ, विशेष अधिवेशनका हस्ताक्षरकर्ताहरूले १५औं महाधिवेशनको कार्यतालिका मात्र मागेका होइनन्, उनीहरूले स्पष्ट भाषामा आमनिर्वाचनमा सहभागी हुनुअगावै कि नियमित १५औं महाधिवेशन गर होइन भने विशेष अधिवेशन सम्पन्न गर भनेर भनेका हुन्।
हामीले महाधिवेशनबाट नयाँ सन्देश नलिइकन आमनिर्वाचन अर्थात् जनताको सामना गर्न सक्दैनौं। आजको मूल विषय यही हो। आलटाल गर्ने नियत राख्दा पार्टीभित्रका कार्यकर्ताहरू, साथीहरू झुक्किएलान् तर आमजनता र मतदाता झुक्किँदैनन्। हाम्रो जबाफदेहिता पार्टी कार्यकर्ताहरू, साथीहरू भन्दा पर हाम्रा शुभेच्छुक र मतदाताहरूमा ज्यादा छ।
आमनिर्वाचनका लागि सहभागी हुँदै गर्दा जनअनुमोदित हुन जनतामाझ जानु अगाडि पार्टी पंक्तिबाट अनुमोदित, साथीहरूबाट अनुमोदित नयाँ नीति, नेता र सन्देश लिएर जाने कुराबाट हामी च्यूत भयौं भने जनतालाई त्यो स्वीकार्य हुने छैन। यो कुरामा सिंगो पार्टी प्रस्ट हुन आवश्यक छ। बैठकको सुरूआतदेखि मेरो मूल मत त्यही नै रहेको छ।
यो कार्यतालिका सफलतापूर्वक कार्यान्वयन गर्न इमानदारीपूर्वक काम गर्नेछु। यही होस् भन्ने कामना गर्दछु।
कथंकदाचित् पुस महिनाभित्र कार्यतालिका बमोजिम १५औं अधिवेशन कुनै कारण वा नियतले नहुने देखिन आए हामीले पुसको अन्तसम्म कुरिराख्नु पर्दैन। पुस महिनाको उपयुक्त समयमा नै निर्णय गरेर विशेष महाधिवेशन गर्नेतर्फ लाग्नुपर्छ।
किनकि, उक्त अवस्थामा पार्टीको बृहत्तर हितका लागि आमनिर्वाचनभन्दा अगाडि अधिवेशन सम्पन्न गर्नुपर्ने भएकाले योभन्दा अर्को विकल्प पार्टीलाई उपलब्ध हुने छैन।
मैले यो धारणालाई लिखित मतका रूपमा पार्टी बैठकको निर्णय अभिलेखमा दर्ज गर्न चाहन्छु।
(कांग्रेस महामन्त्री गगन थापाले सोमबार केन्द्रीय समिति बैठकमा पेस गरेको लिखित अतिरिक्त प्रस्ताव)
***