प्रदेश नं. ६ अन्तर्ग सल्यानको एउटा नगरपालिकामा मेयर र उपमेयर बिचको विवाद छताछुल्ल भएको छ। उनीहरू एक अर्काबिरूद्ध सार्वजनिक रूपमै भ्रष्टचार गरेको आरोप प्रत्यारोपमा उत्रिएका छन्।
बजेट प्रस्तुत गर्ने प्रक्रियामै नपुगेर मेयर र उपमेयर आपसमा हिलो छ्यापा–छयाप गर्न व्यस्त हुँदा सल्यानको वनगाड कुपिण्डे नगरबासी अन्यौंलमा परेका छन्।
न्याय निसाफ दिने स्थानीय सरकार नै सार्वजनिक रूपमा आरोप प्रत्यारोपमा उत्रिएपछि को सही भन्ने विषयमा सर्वसाधारण दोधारमा परेका हुन्।
बिहिबार बिहान ८ बजे सार्वजनिक चोकमा पत्रकार सम्मेलन गर्दै उपमेयर मञ्जु यरीले मेयर गोविन्दकुमार पुन माथि आर्थिक अनियमितता गरेको, हुकुमी शासन लादेको जस्ता १३ वटा आरोप लगाइन्।
बिहिबार बेलुका ८ बजेनै त्यसको प्रतिरक्षामा मेयर पुनले कार्यालयमा पत्रकार सम्मेलन गर्दै उपमेयरमाथि त्यस्तै जवाफ फर्काए।
उपमेयर यरीले अनुशासनहिन गतिविधि गर्दै आएको, बैठकस्थलमै अपशब्द प्रयोग गरेको, आफूमाथि हातपात गर्न खोजेको, श्रीमानमार्फत भ्रष्टचार गरेको जस्ता आरोप मेयरले लगाए।
आर्थिक अनियमिताको कुरा उछालेर नगरवासीलाई भ्रम सृजना गर्न खोजेको भन्दै मेयरले उपमेयरको व्यवहारले आफू आश्चर्यमा परेको गुनासो गरेका छन्।
यता उपमेयरले यरीले मेयरको आरोप खण्डन गर्दै मेयरले व्यापक रुपमा अनियमितता गर्दै आएको आरोप लगाइन्।
मेयरले किर्ते गरेर भ्रष्टचार गरे – उपमेयरको यरी
वनगाड कुपिण्डे नगरपालिकाकी उपमेयर मञ्जु यरीले आफू अनुगमन संयोजक भए पनि मोटो रकम लगानी भएको स्थानमा मेयर गोविन्दकुमार पुन एक्लै गएर आर्थिक अनियमितता गर्दै आएको आरोप लगाएकी छन्। ‘ठूलो लगानी भएको स्थानमा मेयर एक्लै जानुको पछाडि रहस्य लुकेको छ। उहाँ ठाडो आदेशमा व्यापक अनियमितता गर्दै आउनुभएको छ। त्यसको निष्पक्ष छानविन हुनुपर्छ,’ उपमेयर यरीले सेतोपाटीसँग भनिन्।
उनले मेयरले कार्यपालिकामा छलफल र आफूहरूसँग समन्वय नै नगरी मौखिक आदेशमा काम गराउँदै संस्थागत भ्रष्टचार गरेको आरोप लगाइन्।
उपमेयर यरीले मेयर पुनले किर्ते गर्दै आफू अनुकुलको माइन्यूट गर्दै भ्रष्टाचार गरेको आरोप लगाएकी हुन्।
उनले असार १० गते नै नगरसभा सम्पन्न गरिसक्नुपर्ने भए पनि मेयरकै कारण हुन नसकेको आरोप लगाइन्।
असार २७ गतेदेखि साउन १ गतेसम्म नियमित वैठक बसे पनि मेयरले किर्ते गरेर त्यो मिति असार १० गते नै सम्पन्न गरेको देखाउन दबाव दिइरहेको बताइन्।
‘साउनमा भएको कामलाई असार १० गते भएको हो भनेर किर्ते माईन्यूट गरौं भन्ने मेयर गतिलो मेयर हो,’ उपमेयर यरीले भनिन्।
आफूहरूलाई उपस्थितिमा सही गराएर बलजफती गर्न खोज्दा मैले माइन्यूट खोस्न जाँदा मेयरले हातपातको आरोप लगाएको उनले दाबी गरिन्।
उनले मेयरको यस्तै रवैया कायमै रहे नगरसभाको बहुमतबाट नगरसभा सम्पन्न गरि आफू अगाडि बढ्ने संकेत गरिन्। ‘म जनताको पक्षमा लड्दै आएको व्यक्ति हुँ र अब पनि जनतालाई अन्धकारमा राख्न कदापी दिने छैन,’ यरीले भनिन्।
नगरमा खानेपानीको राम्रो व्यवस्था नभएको, शिक्षाको राम्रो प्रवन्ध नभएको, अस्पतालको राम्रो प्रवन्ध नभएको हुँदा आफू त्यो निर्माणमा अग्रसर बन्नुपर्छ भन्दा मेयर पुनले विलाशिताका कुराहरु रंगशाला, रिङरोड जस्ता कुरा निर्माण गर्न खोजेर अनियमितता गर्न खोजेको यरीले दाबी गरिन्।
हेर्नुहोस् विज्ञप्ति
श्रीमान मार्फत यरीले भ्रष्टचार गर्दै आएको मेयरको आरोप
उपमेयर मञ्जु यरीले मेयर गोविन्दकुमार पुनमाथि भ्रष्टचारको आरोप लगाए लगत्तै मेयर गोविन्दकुमार पुनले पनि उपमेयरमाथिनै भ्रष्टचार गरेको आरोप लगाएका छन् ।
‘उहाँले श्रीमानमार्फत आर्थिक चलखेल गर्दै आउनु भएको छ। डोजर चालकसँग डेढ लाख मागेको र धेरै वडा अध्यक्षसँग पैसा मागेको हल्ला व्याप्त छ,’ मेयर पुनले सेतोपाटीसँग भने।
वडाले सिफारिस गरेका सम्झौता मात्रै भुक्तानी गर्ने प्रावधान रहे पनि त्यसको संयोजकसमेत रहेकी उपमेयर यरीले आर्थिक प्रलोभनमा परेर मनपरी भुक्तानी गर्दै आएको मेयर पुनको दाबी छ।
‘भ्रष्टाचार मैले होइन, उहाँले आफ्ना श्रीमानमार्फत गर्दै आउनु भएको हल्ला व्याप्त छ,’ मेयरले भने।
मेयरले संविधान र कानुनले आफू बिना पनि नगरसभा गर्न मिल्छ भने गरेर देखाउन चुनौति दिए। ‘उहाँले त मलाई पदच्यूत गराएरै छोड्छु भन्दै हिड्नु भएको भन्ने सुनेको छु, यदी उहाँको दम छ भने म उहाँलाई त्यो पनि गरेर देखाउन चुनौती दिन्छु,’ मेयर पुलने भने।
हेर्नुहोस् विज्ञप्ति
के हो विवादको कारण
सल्यानका तीन नगरपालिका मध्ये वनगाड कुपिण्डे नगरमा अहिलेको परिस्थिति फरक भए पनि त्यतिबेला माओवादीको पक्षमा बहुमत प्राप्त छ।
२२ जनाको कार्यापालिका सदस्य मध्ये उपमेयर यरीको पक्षमा १७ जना छन्। तर मेयरको पक्षमा जम्मा ३ सदस्य मात्रै छन्।
मेयरले पनि आफु अल्पमतमा रहेको स्वीकार्दै बहुमतको दण्ड आफूमाथि प्रहार भइरहेको बताएका छन्।
हालको परिस्थिति फरक भए पनि स्थानीय तहको निर्वाचनमा माओवादीले धेरै तह जितेको तथा कार्यपालिकामा पनि माओवादीले नै मनोनित गरेको हुँदा त्यही बहुमतको दण्ड आफूमाथि प्रहार भइरहेको मेयर पुनले सेतोपाटीलाई बताए।
आफू सल्यान जिल्ला नेकपा एमालेको पूर्व पार्टी अध्यक्ष र उपाध्यक्ष पनि भएको हुँदा आफूलाई कही कतैबाट हान्न तथा रोक्न नसक्ने देखेपछि हाल आएर षडयन्त्र भएको मेयरको आरोप छ।
‘उहाँ (उपमेयर यरीजी) गोटी मात्रै हो, खेलाडी अरू नै छ। रिमोट अन्तै छ,’ मेयर पुलने सेतोपाटीसँग गुनासो गरे।
कहि कतै भ्रष्टचार गरेको संकेत मात्रै फेला परेमा पद ल्याग्ने जानकारी दिएका मेयर पुनले नगर प्रमुखलाई भ्रष्टचार गर्ने ठाउँ कही कतै नभएको दाबी गरे।
‘प्रमुखले विल भर्पाईमा चेक पनि गर्दैन, खर्चको बिल कर्मचारीले कार्यपालिका बैठकबाट अनुमोदन गराउँछन्। प्रमुख भ्रष्टाचारमा मुछिने कही ठाउँ नै हुन्न,’ मेयरले भने।
प्रमुखले आशंका भएमा मात्रै विल भर्पाई हेर्ने उनले बताए।
अहिले एउटै पार्टीमा आवद्ध भए पनि उपमेयर यरीले स्थानीय निकायको निर्वाचनमा एकीकृत नेकपा माओवादीबाट जितेकी हुन् भने मेयर पुन नेकपा एमालेबाट निर्वाचित व्यक्ति हुन्।
उपमेयर यरीले भने मेयरले गरेको भ्रष्टचारको निष्पक्ष छानबिन हुनुपर्ने अन्यथा आफूले काम गर्न सक्ने वातावरण नरहेको बताएकी छन्।
नगरपालिकामा समन्वयको अभाव
सबैजनालाई मिलाएर अगाडि बढ्न नसक्नु तथा समन्वयकारी भूमिका निर्वाह गर्न नसक्नु मेयरकै कमजोरी देखिन्छ।
वनगाड कुपिण्डे नगरपालिकामा मेयर र उपमेयर बीचको विवाद छताछुल्ल भइसक्दासमेत त्यो मिलाउन कर्मचारी र नेताहरु कसैले चासो दिएका छैनन्।
खासगरी मेयर तथा उपमेयरको सम्बन्ध सुमधुर बनाउन र नियम तथा कार्यविधिबारे प्रष्टसँग जानकारी गराउन प्रमुख प्रशासकीय अधिकृतलगायतका कर्मचारीको अहम भूमिका रहन्छ। त्यो भूमिकाको अभाव देखिएको एक जना युवाले सेतोपाटीलाई बताए ।
हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेतासमेत रहेका वनगाडका मेयर र उपमेयरबीचको विवाद समाधानमा अग्रज नेताहरु प्रकाश ज्वाला, टेकबहादुर वस्नेत, गुलावजंग शाहले हालसम्म केही गरेका छैनन्। त्यही कारण ३६ हजार बढी वनगाड कुपिण्डेबासी अन्यौंलमा परेको ती युवाले बताए।