अनेरास्ववियु जनता विद्यापिठ र अनेरास्ववियु दाङले आयुर्वेद शिक्षण शुल्कमा चर्को शुल्क वृद्धि गरेको भन्दै त्यसको खारेजीको माग गरेको छ।
शुल्क वृद्धि पुरै अवैज्ञानिक रहेको र शुल्क वृद्धि कुनै पनि हालतमा स्वीकार्य नहुने विद्यार्थी नेताहरूले बताएका छन् ।
विद्यार्थी संगठनहरूसँग छलफल र सरसल्लाह नै नगरी विद्यापिठमा सत प्रतिशत शुल्क वृद्धि गरेको हुँदा त्यो फिर्ता हुनुपर्ने माग गर्दै सोमबार अनेरास्ववियुले ज्ञापनपत्र बुझाएको छ । यसैबीच दश दिनभित्र शुल्क वृद्धि खारेज नगरेमा थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिइएको छ।
अनेरास्ववियु दाङका अध्यक्ष सर्जन परियार र अनेरास्ववियु जनता विद्यापिठका अध्यक्ष दिवश क्षेत्रीद्वारा हस्ताक्षरित विज्ञप्तिमा शुल्क वृद्धि खारेज नगरेमा थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने उल्लेख छ। यद्यपी अनेरास्ववियु दाङको आधिकारिक अध्यक्ष आफू नै भएको बिरवल खड्काले बताउँदै आएका छन् । तर परियारले पनि आफूलाई नै अध्यक्षको दाबी गर्न थालेका छन्।
यसअघि पनि परियारको समूहले खड्कामाथि कुटपिट तथा आक्रमण गरेको कुरा सार्वजनिक भएको थियो । उक्त आक्रमणपछि तत्कालीन नेकपा एमाले दाङको जिल्ला नेतृत्वले परियारलाई अनेरास्ववियुको साधारण सदस्य समेत नरहने गरी निष्कासित गरेको जानकरी दिएको थियो।
परियारको नेतृत्वमा गएको उक्त टोलीले मापदण्ड विपरीत आयुर्वेद शिक्षण कलेजलाई सम्बन्ध दिन नहुने माग राख्दै नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय बेलझुण्डीमा उनीहरूले सोमबार दिनभर जसो धर्ना समेत दिएको थियो।