आगामी भदौदेखि शनिबारको पनि जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाह गर्ने भएको छ।
प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले व्यस्त दैनिकी भएका नागरिकको सेवालाई मध्यनजर गर्दै भदौदेखि शनिबार पनि सेवा दिन लागेको बताए।
देशका ७७ जिल्ला मध्ये दाङले मात्रै हाललाई शनिबार पनि कार्यालय खोलेर सेवा दिने तयारी गरेको प्रजिअ श्रेष्ठले जानकारी दिए। भदौदेखि हरेक शनिबार विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म कार्यालय सञ्चालन गरेर सम्पुर्ण सेवाहरु प्रदान गर्ने उनले बताए।
काममा व्यस्त हुने नागरिकको सेवालाई मध्यनजर गर्दै शनिवार पनि कार्यालय सञ्चालन गर्ने तयारी गरिएको प्रजिअ श्रेष्ठले जानकारी दिए ।
शनिबार पनि कार्यालय सञ्चालन गर्दै नागरिकलाई सेवा दिने तयारी बारे दाङका दश वटै स्थानीय तहलाई पत्राचार गर्दै सुझाव माग गरिएको प्रजिअ श्रेष्ठले बताए। ‘दाङका दश वटै स्थानीय तहहरुमा पत्राचार गरिएको छ र उनीहरुलाई त्यसवारेमा ७ दिन भित्रै राय सुझावहरु पठाउन आग्रह गरेका छौं,’ प्रजिअ श्रेष्ठले भने।
दुई महिनासम्म निरन्तर शनिबार पनि कार्यालय खोलेर सञ्चालन गर्ने बताएका उनले सेवाग्राही सेवा लिन आएमा सदैभरी शनिबार पनि कार्यालय सञ्चालन गर्ने नियम बनाउने उनले जानकारी दिए। ‘नागरिकको सुविधाको लागि हामीले शनिबार पनि कार्यालय खोलेर सेवा दिने प्रयास गर्दैछौं भने सेवाग्राही आएमा त्यो चलिरहने छ,’ प्रजिअ श्रेष्ठले भने।
यसका लागि स्थानीय तहहरुले पनि साथ दिनुपर्ने उनको धारणा छ।
स्थानीय सबै तहले पनि शनिबारसमेत नागरिकता, पासपोर्ट, भिसाको लागि सिफारिस गरिदिए काम गर्न सहज हुने उनले बताए।