दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ रजौरा निवासी ४१ वर्षिया उर्मिला न्यौपाने साउन २२ गते तुलसीपुर ११ बेलगनारस्थित जग्गाको कर तिर्न वडा कार्यालय उरहरीमा पुग्दा तिर्नुपर्ने रकम सुनेर तीन छक्क परिन्।
न्यौंपानेका अनुसार १ विगाहा ११ कठ्ठा बाँझो जग्गाको कर कम्यूटरमै एक लाख २० हजार पुगेको वडा सचिव अर्जुन चौधरीले देखाइदिए पछि उनलाई भनभनी रिंगटा लागेको जस्तै भएछ। जीउभरी खलखली पसिना छुटेछ।
चार वर्ष अगाडि २०७१ सालमा उक्त जग्गाको कर जम्मा २ सय ९६ रूपैंयामा मात्रै तिरेकी न्यौंपानेलाई एक लाख २० हजार कर तिर्नुपर्छ भन्ने कुरा सुन्दा एक छिन त केही बोल्न र सोच्न समेत सकिनन्।
चार वर्ष पहिले तिरेको करको तुलना गर्दे केही बढी रकम मात्रै बोकेर वडा कार्यालय गएकी न्यौंपानेलाई त्यतिधेरै कर तिर्नुपर्छ भन्ने कुरा चित्त बुझेन।
‘१ विगाहा ११ कठ्ठा बाँझो खेतको त्यतिधेरै रकम कसरी आयो,’ उनले वडा अध्यक्ष चित्रबहादुर वली कहाँ झोक्किदै पुगिन्।
वडा अध्यक्षलाई पनि त्यो कुरा चित्तबुझ्दो लागेन। त्यसपछि तुलसीपुर उपमहानगपालिकाको कार्यालयमा त्यसबारे गुनासो तत्कालै उनीहरुले पुर्याए। १ लाख २० हजार कर तिर्नुपर्ने कुरा सुनेर छटपटाइरहेकी न्यौंपानेलाई त्यसको दुई घन्टापछि सफ्टवेयरको खरावीले गलत हिसाव आएको भन्दै जम्मा ६ हजार ३० रूपैंया मात्रै कर तिर्न लगाइयो।
यस्तै अर्को घटना बुधवार मात्रै तुलसीपुरमै भयो। बुधवार कर तिर्न भनेर तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ को वडा कार्यालय गएका तुलसीपुर १२ का प्रमोदकुमार गौतम स्वभाविक भन्दा धेरै बढी कर तिनुपर्ने देखिए पछि नतिरेरै घर फर्किए।
गौतमलाई झन्डै २ विगाहा खेतको तिर्नुपर्ने कर २ लाख २६ बढी रूपैँयाको हिसाब वडा सचिव सञ्जय गुप्ताले देखाइदिएपछि उनी कर नतिरि घर फर्किएका छन्।
गौतमले गत आर्थिक वर्षमा एकीकृत सम्पत्तिको कर जम्मा ३ हजार १ सय ५० रुपैया मात्रै तिरेका थिए।
त्यसैलाई आधार मान्दै केही थप रकमका साथ उनी कर तिर्न भनि वडा कार्यालय पुगेका थिए।
‘त्यतिधेरै कर कसरी तिर्नू, त्यो सही होइन भन्ने लागेर म फर्केर आएको हुँ,’ गौतमले भने।
न्यौपाने र गौतम प्रतिनिधि पात्र मात्रै हुन्। अन्य धेरैले पहिलेको तुलनामा सयौं गुणा बढी कर तिर्नुपरेको गुनासो गरेका छन्।
यही कुरा लिएर संवाददाता तुलसीपुर उपमहानगरपालिकाका जिम्मेवार पदाधिकारी कहाँ पुग्दा त्यसबारे एकले अर्कोलाई दोषारोपन मात्रै गरे ।
देशभरका करिब दुई सय स्थानीय निकायमा सफ्टवेयरको सेवा दिँदै आएको सांग्रिला माईक्रो सिष्टमका प्रतिनिधि प्रमोद काफ्लेले अदक्ष जनशक्तिका कारण ठूलो समस्या उत्पन्न हुने गरेको जिकिर गरे।
२ विगाहा क्षेत्रफल उल्लेख गर्नुपर्नेमा अदक्ष वडा सचिवले ९९ विगाहा क्षेत्रफल राखेपछि समस्या उत्पन्न भएको काफ्लेको दाबी छ।
स्वयम्सेवक कर्मचारीले समेत सफ्टवेयर ह्याण्डल गर्दा त्यस्तो समस्या उत्पन्न भएको तथा आफूहरुले ५ दिन तालिम दिए पनि कर्मचारीले त्यो चलाउन नजानेको उनको आरोप छ।
तर सांग्रिला माईक्रो सिष्टमका प्रतिनिधिसँग तुलसीपुर ५ का वडा सचिव संजय गुप्ता भने पटक्कै सहमत देखिएनन्। उनले उल्टै कम्यूटरले जे देखाउँछ त्यही अनुसार आफूले काम गरेको हुँदा सफ्टवेयरकै समस्याका कारण त्यस्तो हुने गरेको जिकिर गरे।
तर यसले जनप्रतिनिधिहरुलाई भने सारै अप्ठेरो भएको छ। कम्यूटरले देखाएको हिसाव माग्नै पर्यो, तर त्यो सुन्दा सर्वसाधारण जनप्रतिनिधिको झाँको झार्न आउँछन्। त्यसैले कर कसरी लिने वा नलिने भन्ने समस्या खडा भएको वडा नं. ५ का वडा अध्यक्ष विरेन्द्र कुमार शाहले बताए।
तर, तुलसीपुर उपमहानगरपालिका प्रमुख प्रशासकिय अधिकृत (उप–सचिव) आनन्द सारूले मानवीय त्रूटीले समस्या उत्पन्न भएको भन्दै बढी कर आएमा नतर्ने र कार्यालयमा गुनासो गर्न आग्रह गरेका छन्।
स्थानीय सरकारका प्रतिनिधि, सफ्टवेयर निर्माता कम्पनी र कर्मचारी संयन्त्र जसले जे जस्तो तर्क गरे पनि हालसम्म थुप्रैले सयौं गुणा कर तुलसीपुर उपमहानगरपालिकालाई बुझाइसकेका छन्।
अत्याधिक धेरै आएपछि मात्रै केहीले नबुझाई फर्केका हुन्। तर अहिलेसम्म पनि बढी कर तिर्नेको कर उपमहानगरले फिर्ता गरेको छैन।