प्रदेश नम्बर ५ को विशेषाधिकार समितिको सभापतिमा गुल्मीबाट निर्वाचित प्रदेश सभा सदस्य कमलराज श्रेष्ठ चयन भएका छन्।
नेकपाको तर्फबाट प्रतिनिधित्व गर्ने श्रेष्ठलाई सोमबार संसद सचिवालयमा बसेको विशेषाधिकार समितिको बैठकले सभापतिमा चयन गरेको हो।
जेष्ठ सदस्य बाबुराम गौतमको अध्यक्षता एवं सभामुख पूर्णबहादुर घर्ती मगरको प्रमुख आतिथ्यतामा बसेको बैठकले श्रेष्ठलाई सभापतिमा चयन गरेको हो। यसैबीच सोमबार नै श्रेष्ठलाई सभामुख घर्ती मगरले पद तथा गोपनीयताको समथ ग्रहण गराएका छन्। समितिमा ११ जना प्रदेश सभा सदस्यहरूको प्रतिनिधित्व रहेको छ।
प्रदेशको नाम र राजधानी सिफारिसको लागि विशेष समिति गठन
यसअघि दोस्रो अधिवेशन समाप्त गर्दा गत साउन २४ गते तीन महिनाभित्र प्रदेश ५ को स्थायी राजधानी र नामाकरणका लागि सिफारिस गर्न विशेष समिति गठन गरिएको थियो।
बिहिबार बसेको प्रदेशसभा बैठकमा सभामुख पूर्णबहादुर घर्तीले प्रदेशको स्थायी राजधानी र नाम सिफारिसको लागि १५ सदस्यीय विशेष समिति गठन गरिएको जानकारी दिएका थिए।
गठित विशेष समितिले ३ महिना भित्रै प्रदेशको नाम र स्थायी राजधानी सिफारिस गर्नुपर्ने समय सीमा पाएको छ।
प्रदेशसभा सदस्यहरू कल्पना पाण्डे, चेतनारायण आचार्य, तारा जिसी तुल्सी प्रसाद चौधरी, दिनेश पन्थी, दिपेन्द्र कुमार पुन, दिपेश थारु, नारायण प्रसाद आचार्य, निर्मला क्षेत्री, भुवनेश्वर चौधरी, रमा अर्याल, बिर बहादुर राना, विष्णु प्रसाद पन्थी, सरस्वती गौतम र सहर्षराम यादव समितिको सदस्य छन्।
त्यस्तै साउन २४ गते बिहीबारकै बैठकले ११ सदस्यीय विशेषाधिकार समिति पनि गठन गरेको छ। विशेषाधिकार समितिमा अमर बहादुर डाँगी, अष्टभुजा पाठक, कमलराज श्रेष्ठ, कल्पना पाण्डे, तारा जिसी, पार्वती पुन, तेज बहादुर वली, फकरुद्धिन खान, बाबुराम गौतम, सन्तोष कुमार पाण्डे र हरि प्रसाद रिजाल छन्।