दाङ देउखुरी जिल्ला अदालतले नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर बिश्वकर्मा (प्रकाण्ड) लाई आठ दिन थुनामा राखेर अनुसन्धान गर्न समय प्रदान गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङले सररकारी वकिलको कार्यालय मार्फत आइतबार दाङ देउखुरी जिल्ला अदालतमा आठ दिनको म्याद थप गराएको हो। एक साता लामो म्याद थप गरेर अदालतले अनुसन्धान गर्न अनुमती दिएको यो नै पहिलो पटक हो।
दाङमा प्रकाण्डमाथि हालसम्मै सबैभन्दा कडा प्रकृतिको मानिएको कर्तब्य ज्यानसम्बन्धी मुद्दा लगाइएको छ ।
दाङका प्रहरी प्रमुख कृष्णहरी शर्माले अदालतले प्रकाण्डलाई आठ थुनामा राखेर अनुसन्धान गर्न समय प्रदान गरेको सेतोपाटीलाई बताए। बाटोको म्याद समेत जोडेर आठ दिनसम्म थुनामा राखेर थप अनुसन्धान गर्न समय अदालतले दिएको हुँदा अझैं तीन दिन (बुधवार) सम्म प्रकाण्डलाई थुनामा राखेर अनुसन्धान हुने एसपी शर्माले जानकारी दिए।
गत निर्वाचनका क्रममा विभिन्न स्थानमा बम लगाएत विस्फोटक पदार्थ विस्फोट गराएको र एनसेल टावरमा आगजनी गरेको जस्ता आरोपमा मुद्दा खेपिरहेका ‘प्रकाण्ड’ लाई ज्यान मार्ने उद्योग सम्वन्धी मुद्दा चलाइएको हो।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवम् डिएसपी प्रकाश सापकोटाले तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ क्वाङ्गी निवासी २३ वर्षीय म्यादी प्रहरी विनोद चौधरीको हत्या सम्वन्धी मुद्दा प्रकाण्डमाथि लगाइएको जानकारी दिए।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका क्रममा गत मंसिर १२ गते दाङको तुलसीपुरमा आयोजित नेपाली कांग्रेसको चुनावीसभा नजिकै अज्ञात समूहले बम विस्फोट गराउँदा त्यसमा परेर सुरक्षार्थ खटिएका म्यादी प्रहरी चौधरीको मृत्यु भएको थियो।
अरनिको मैदानमा आयोजित चुनावी सभालाई तत्कालिन प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले सम्वोधन गरिरहेकै समयमा उक्त बम विस्फोट गराइएको थियो। त्यसमा ९ जना सर्वसाधारण घाइते भएका थिए।
सरकारले त्यही घटनाको दोष प्रकाण्डलाई लगाउन ज्यान मार्ने उद्योग सम्वन्धी मुद्दा चलाएको डिएसपी सापकोटाले बताए ।
प्रकाण्डको डायरीमा कांग्रेसको चुनावी सभा विथोल्ने र बम विस्फोट गराउने भन्ने जस्ता शब्दवली फेला परेपछि उक्त मुद्दा चलाउनु परेको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ।
प्रकाण्डलाई गत विहीवार (भदौ २१ गते) भोजपुर अदालतले रिहा गरे लगतै पुनः प्रहरीले पक्राउ गरेर दाङ ल्याएको थियो।
आइतवार दिउँसो प्रकाण्डलाई दाङ देउखुरी जिल्ला अदालतमा पुर्याउँदा निकै कडा सुरक्षाका साथ लगिएको थियो ।
प्रकाण्डलाई अधिकारकर्मीले भेटे
जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा रहेका पूर्वमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सँग मानवअधिकार सञ्जाल दाङको टोलीले भेटघाट गरेको छ।
भेटघाटको क्रममा टोलीले प्रकाण्डसँग हिरासत बसाईको अवस्थाको बारेमा सोधपुछ गरेको छ।
त्यसक्रममा प्रकाण्डले राज्यले गैरन्यायिक तरिकाले आफूमाथि मुद्दा चलाईरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। ‘यो सरकारले सर्वौच्चले भनेको पनि टेरेन। न्यायलयको धज्जी उडायो। सरकार तानाशाही बन्यो,’ प्रकाण्डले भनेका थिए।
राज्यले आफूमाथि राजनीतिक प्रतिशोध साँध्न खोजेको प्रकाण्डले दाबी गरे। तर, उनले हिरासत बसाईका क्रममा मानवअधिकार विपरितको व्यवहार भने प्रहरीले नगरेको जानकारी दिए ।
यसैबीच प्रकाण्डसँगको भेट पछि एक विज्ञप्ति प्रकाशित गर्दै मानव अधिकार सञ्जालले प्रकाण्डको सृङखलाबद्ध गिरफ्तारीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
अदालतले पटक/पटक रिहा गर्न आदेश दिँदादिदै पनि बारम्बार प्रकाण्डलाई पक्राउ गर्दा राज्यले आफ्ना नागरिकप्रति प्रत्याभूत गर्नुपर्ने गरि मानवअधिकारको सम्मान गर्न नजानेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
सञ्जालले वार्ताबाट समस्याको समाधान खोज्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।