नेता वामदेव गौतमलाई उपनिर्वाचन गराएर पूर्वी रुकुमवाट प्रतिनिधिसभा सदस्यमा चुनाव लडाउने कुरा निराधार हल्ला मात्रै भएको त्यहाँवाट निर्वाचित प्रतिनिधिसभा सदस्य कमला रोकाले बताएकी छन् ।
मंगलवार दाङको तुलसीपुर हुँदै गृह जिल्ला पूर्वी रुकुम तर्फ जाँदै गरेकी प्रतिनिधिसभा सदस्य रोकाले नेपाल कम्युनिष्ट पार्टीका नेता गौतमलाई आफ्नो क्षेत्रवाट चुनाव लडाउने भन्ने कुरा हुनै नसक्ने र फगत हल्ला मात्रै भएको प्रतिक्रिया दिएकी हुन ।
‘यो सबै फेक न्यूज हो । त्यो हुन सक्ने कुरै हैन’, रोकाले सेतोपाटीलाई भनिन् ।
वामदेव गौतमलाई पूर्वी रुकुम बाट चुनाव लडाउने भन्ने विषयमा पार्टी भित्रै कुनै छलफल समेत नभएको भन्दै उनले तथ्य र सत्यको आधारमा भन्दापनि गलत समाचार सम्प्रेशन भएको दाबी गरिन ।
गत मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा आफुलाई त्यहाँका जनताले दुई तिहाई बढी बहुमत दिएर जिताएको स्मरण गर्दै उपनिर्वाचन गराउने र वामदेवलाई उठाउने कुरा जनताले कल्पना समेत नगर्ने उनको भनाइ छ ।
तर, प्रतिनिधिसभा सदस्य रोकाले आफुलाई पूर्वी रुकुमका जनताले फोनमा सोधेर हैरान पारेको जानकारी दिइन ।
‘ तपाँई कुनैपनि हालतमा नमान्नुहोला भन्छन्, तर मैले फेक न्यूज हो भन्दै आएकी छु’, रोकाले भनिन् ।
पूर्व माओवादी वाट निर्वाचित रोकाले नेताहरुले दिमागमा वामदेवलाई आफ्नो क्षेत्रबाट निर्वाचनमा उठाउने कुरा कल्पना मात्रै गरेको भएपनि त्यो गलत सोच भएको तर्क प्रस्तुत गरिन ।
रोकाले त्यसो गरिए दश बर्ष जनयुद्धको र समग्र महिला माथि समेत ठूलो अन्याय हुने धारणा राखिन ।
‘देशभर हाम्रो पार्टी बाट प्रत्यक्ष निर्वाचित हुने ६ जना मात्रै महिला छौं । त्यसैले महिलाको भावना माथि खेलवाड गर्ने खेल हुन्छ भने त्यो स्वीकार्य हुनै सक्दैन ’, रोकाले भनिन् ।
यसअघि नेकपाका नेता गौतमलाई डोल्पाबाट निर्वाचन लडाउने हल्ला व्याप्त बनेपनि पछिल्लो समय त्यो विफल भएको चर्चा संगै पूर्वी रुकुमवाट निर्वाचन लडाउने कुरा सार्वजनिक भएको छ ।