तुलसीपुर–अमेलिया सडक खण्ड मंगलवारदेखि वन्द गरिएको छ ।
डिभिजन सडक कार्यालय दाङका सूचना अधिकारी दुर्गा गौतमले सडक विस्तार गर्नको लागि झन्डै एक महिना जति तुलसीपुर–अमेलिया सडक खण्ड वन्द गरिएको जानकारी दिए ।
तर उनले सडक पूर्णरुपमा वन्द भने नहुने बताएका छन्।
सूचना अधिकारी गौतमका अनुसार मंगलवारदेखि अब काम नसकिदा सम्म हरेक दिन विहान ७ बजेदेखि ११ बजेसम्म मध्यान्हः १२ बजेदेखि बेलुका ४ बजेसम्म, बेलुका ६ बजेदेखि ९ बजेसम्म सडक बन्द हुने जानकारी दिए ।
त्यस्तै विहान ११ बजेदेखि १२ बजेसम्म, बेलुका ४ बजेदेखि ६ बजेसम्म र बेलुका ९ बजेदेखि विहान ७ बजेसम्म सडक खुल्ला गरिने सूचना अधिकारी गौतमले सेतोपाटीलाई बताए ।
दाङको लमेलियादेखि दुई किलोमिटर उत्तर तर्फवाट जंगल क्षेत्रको साढे ७ किलोमिटर सडक दुई लेनको बनाउने काम धमाधम भइरहेको हुँदा संभावित दुर्घटना हुन नपावस भनेर सडक वन्द गर्ने निर्णय गरिएको सूचना अधिकारी गौतमले जानकारी दिए ।
२०७६ सालको पुस मसान्तसम्म सडक विस्तार गरि सक्ने गरि केएस कनष्ट्रकसन प्रालिले झन्डै १३ करोडमा कामको जिम्मा लिएको छ । भञ्जायाङसम्मको सडक विस्तार गर्न सम्झौता भएको मितिले डेढ वर्ष समय प्रदान गरिएको सूचना अधिकारी गौतमले जानकारी दिए ।
सडक खण्डमा जाली लगाउने काम गत असार महिनादेखि नै सुरु भएपनि साउन देखि मात्रै मेसिन लगाएर सडक विस्तारको काम सुरु भएको थियो । ‘डोजरले पहाड भत्काउँदै गर्दा दुर्घटना हुन नपावस भन्नको लागि सडक खण्ड वन्द गर्ने निर्णय गरिएको हो ।’ सूचना अधिकारी गौतमले भने ‘केही समय अप्ठेरो अवस्य हुने छ,तर यसमा सबैले सघाउनु पर्छ ।’
यसैबीच साढे सात किलोमिटर जंगल क्षेत्रमा सडक विस्तार झन्डै चारसयको हाराहारीमा बोट विरुवा नष्ट हुने सूचना अधिकारी गौतमले बताएका छन् । ठूला रुखहरु भने धेरै नरहेको उनले जानकारी दिए ।
चाडपर्वमा सडक बन्दगर्दा सर्वसाधारणलाई मर्का
चाड पर्वको मुखमा आएर नेपालगञ्ज जाने छोटो रुट तुलसीपुर–अमेलिया खण्ड वन्द गरिदा सर्वसाधारण यात्रु भने मर्कामा परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलटाकुरा निवासी रमेश मल्लले चाड पर्वको समयमा राप्ती लोकमार्ग बन्द गर्दा त्यसले सर्वसाधारणलाई समस्या हुने बताए ।
पश्चिम दाङ, रोल्पा, सल्यानदेखि रुकुम सम्मका मानिस नुन तेल किनमेलका लागि रुपैडिहा जाने मार्ग त्यही भएको हुँदा बन्दले सर्वसाधारण मर्कामा पर्ने मल्लको धारणा छ ।
‘अब हामी उल्टो बाटो घोराही हुँदै लमही पुगेर अमेलिया जानुपर्ने भयो । जवकी सोझै तुलसीपुर अमेलिया हुँदै पूर्व पश्चिम राजमार्ग भएर नेपालगञ्ज जान सजिलो थियो ’, मल्लले भने ।
तुलसीपुर अमेलिया सडक खण्ड बन्द हुँदा अबदेखि राप्ती लोकमार्ग बाट दाङको तुलसीपुर हँदै सिधै सल्यान, रोल्पा, रुकुम जानुपर्ने यात्रुहरु अब घुमेर लमही बाट घोराही हुँदै तुलसीपुर आउनुपर्ने बाध्यता सृजना भएको छ । जो सिधा बाटो भन्दा झन्डै चार गुणा बढी दुरी पर्छ ।
त्यसले सर्वसाधारणलाई व्ययभारपनि बढी पर्ने देखिएको छ । तर उनले विकास निर्माणको काम चल्दै गर्दा सबैले केही समय कष्ट सहेर भएपनि सघाउनु पर्ने धारणा व्यक्त गरे ।