संघीय संसदका सभामुख कृष्णबहादुर महराले द्वन्द्वका समयमा मारिएका सबै प्रहरीलाई सहिद घोषणा गर्नुपर्ने बताएका छन्। ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले बिहीबार आयोजना गरेको ६३ औं प्रहरी दिवस समापन समारोहलाई सम्बोधन गर्दै सभामुख महराले त्यस्तो बताएका हुन्।
हिजोको इतिहासमा बलिदान गरेका प्रहरी सबैलाई राज्यले सहित घोषणा गर्नुपर्ने उनको तर्क थियो ।
उनले त्यसका लागि आफू दृढतापूर्वक उभिने बताए। ‘आज उहाँहरुले रचेको इतिहासमा हामीहरु खडा छौं, ती नागरिक हुन कि सुरक्षाकर्मी सबैको सम्मानका लागि सहिद घोषणा गर्नुपर्छ,’ सबैलाई सहिद घोषणा गर्न राज्यले अझैं नसकेको भन्दै उनले सरकारलाई त्यो कुरालाई आग्रह गर्दै आएको महराले भने।
प्रहरी ऐन २०१२ पछि धेरै प्रहरी भइसकेको भन्दै उनले सरकारले छिटो भन्दा छिटो संघीय प्रहरी ऐन ल्याउन जरुरी रहेको बताए।
नविराउ न डराउ भन्ने प्रहरीको मुल मन्त्र हुनुपर्ने भन्दै महराले प्रहरी नै राज्य र जनताको बिचमा पुलको काम गर्ने सबैभन्दा महत्वपूर्ण संस्था भएको बताए। अहिले चुनौतीपूर्ण अवस्था रहे पनि त्यसलाई सामना गर्न सक्ने आँट सरकारसँग भएको महराले दाबी गरे।
कार्यक्रमर्लाइ सम्बोधन गर्दै प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रशाद केसी (सोनाम)ले शान्ति सुरक्षा विना विकास असम्भब हुने भन्दै अगाडि भने, ‘जहाँ सुरक्षा शक्तिशाली हुन्छ त्यो देश र त्यो क्षेत्र मात्रै सम्बृद्धिमा जान्छ अनि जहाँ सुरक्षा अंग कमजोर हुन्छ त्यो मुलुकले पर्गती गरेको देखिदैन, त्यसैले सुरक्षामा प्रदेश सरकार गम्भीर रुपमा प्रस्तुत हुन्छ।’
प्रदेश प्रहरी अस्पतालका निम्ति हेटक्वाटरसँग अन्तिम सहमति गरिसकेको मन्त्री केसीले जानकारी दिए। त्यस्तै उनले प्रदेश प्रहरी तालिम केन्द्रको लागि र प्रदेश विपद प्रतिकार्यका लागि अर्को कार्यालय र द्वन्द्व प्रभावित परिवारका सन्तानका लागि भर्नाका लागि विशेष व्यवस्था ऐनमै गरिने बताए।
५ नं. प्रदेशसँग विदेशी भूमिसँग सीमाना जोडिएको सबैभन्दा लामो दुरी रहेको भन्दै मन्त्री केसीले यसपाली प्रदेश प्रहरी प्रमुखको नेतृत्वमा सीमामा लुटिने दाजुभाईको सुरक्षा व्यवस्था मजवुत बनाएको बताए।
५ नं. प्रदेश तत्कालिन द्वन्द्वको सबैभन्दा धेरै प्रभाव भएको क्षेत्र भएको हुँदा यो वर्ष सबै द्वन्द्व प्रभावित सबैलाई सूचिकृत गरेर आगामी वर्ष ती सबै परिवारको लागि निश्चित बजेट विनोजित भइसकेको हुँदा सबैको जीवनयापनको ग्यारेन्टी सरकारले गर्ने मन्त्री केसीले बताए।
त्यस्तै कार्यक्रमलाई सम्वोधन गर्दै ५ नं. प्रदेश प्रहरी प्रमुख एवम् डिआईजी शेरबहादुर बस्नेतले विशम परिस्थितिमा पनि प्रहरी जहिले पनि नैतिक बल, अदम्मे साहास र आत्मविश्वासका साथ अगाडि बढ्न आग्रह गरे।