नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले जनताका आकांक्षा पुरा गर्न सरकार र पार्टी ‘सिस्टम’बाट चल्नु पर्ने बताएका छन्।
मंगलबार नेकपाले दाङको घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले जनताका आकांक्षा पुरा गर्न सरकारले नसकेको बताए।
‘यदि जनआकांक्षा पुरा गर्ने हो भने अब नयाँ ढंगबाट काम गर्ने पद्धतिको आवश्यकता पर्छ,’ नेपालले भने, ‘त्यसमा पार्टीभित्र सबैलाई जिम्मेवारी दिनुपर्छ।’
वरिष्ठ नेता नेपालले नीति, पद्धति अनुसार सबैलाई जिम्मेवारी दिएर पार्टीलाई एकताबद्ध गराउन सकेमा मात्रै एकता मजबुत हुने बताए । सरकार,सदन र सडकमा सरकारको आलोचना बढ्नु राम्रो कुरा नभएको उनले बताए।
‘विधि र पद्धतिबाट नेकपाको कमाण्डमा तीनै वटै कुरा चलाउन सकेमा मात्रै पार्टीलाई जीवन्त राख्न सकिन्छ र त्यसका लागि अन्तरविरोध स्वीकार्न सक्नुपर्छ,’ वरिष्ठ नेता नेपालले भने।
नेता नेपालले आफूसँग पुष्पकमल दाहाल (प्रचण्ड) को नाम जोडेर प्रधानमन्त्रीविरूद्ध गतिविधि गरिरहेको भन्ने हल्लामाथि कुनै सत्यता नरहेको भन्दै त्यसको पछाडि नलाग्न नेता कार्यकर्तालाई आग्रह गरे । ‘मैले सरकार ढाल्न लागेको हो भन्ने गलत कुरा हो ,’उनले भने, ‘मैले त सरकारलाई सजग मात्रै गराउने हो, त्यो कसैकाविरूद्ध षडयन्त्र हैन।’
नेपालले बुधबार बस्ने सचिवालय र स्थायी कमिटीका बैठकले पार्टीभित्रका गुनासा समाधान गर्ने आशा व्यक्त गरे।