नेपाल कम्युनिष्ट पार्टीका नेता घनश्याम भुसालले ठूला नेताले आफ्नालाई संरक्षण गर्न विधि र प्रक्रिया मिच्दा एकता प्रक्रिया लम्बिएको बताएका छन्।
विजौरी काण्डका सहिदहरूको सम्झनामा नेकपा दाङ र पूर्व युवा विद्यार्थी समाजले शनिबार तुलसीपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले जिल्ला र स्थानीय तहको एकता प्रक्रिया निकै जटिल र अप्ठेरो मोडमा पुगेको बताए।
उनले आफ्नो पक्षमा बहुमत नपुग्दासम्म पटक/पटक बैठक सार्ने षडयन्त्र भइरहेकोप्रति रोष प्रकट गरे। स्थायी कमिटी सदस्यसमेत रहेका भुसालले षडयन्त्र गर्नेले क्रान्ति गर्न नसक्ने बताउँदै लुकाएर छक्काएर राजनीति गर्नु बदमासी भएको तर्क गरे।
‘मैले विधि र प्रक्रिया अनुसार जाउँ एकै महिनामा सबैतिरको एकता टुङ्गोमा पुग्छ भनेको हुँ, तर केही नेता संकुचित हुँदा त्यसो हुन सकेन,’ भुसालले भने।
यो बीचमा एमाले पक्षधर व्यवस्थापन र पद्धतिको पक्षमा बढ्दा लागेको भए पनि माओवादी पक्षधरहरू भने हिजो द्वन्द्वकालमा जस्तै गरि आफ्नो बस्ने अवस्था र रूप फेर्दै जाँदा बोलीको कुनै ठेगान नभएको दाबी गरे। ‘माओवादीका नेताहरू कतिखेर के भन्छ त्यसका ठेगान छैन, त्यो सबै उसको जीवनको अवस्थाले सिकाएको हो,’ भुसालले भने।
उनले एकता प्रक्रिया लम्बिँदा कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याको कारण पत्ता लाग्न नसकेको दाबी गरे। ‘हाम्रो एकता लम्बिँदा तल्लो तहमा कसले काम गर्छ, कसले जिम्मेवारी लिएर काम गर्न सक्छ,’ उनले भने।
संवृद्धि गीत गाएर आउँछ भन्नु जनता ढाँटनु हो
नेपालमा बहुदलीय जनवादको व्याख्या धेरै भएको बताएका नेता भुसालले गीत मात्रै गरेर र गफले मात्रै सम्वृद्धि नआउने स्पष्ट पारे। जबसम्म सबैले महसुस गर्ने गरी र देखिने काम हुँदैन तबसम्म कसैले त्यो नपत्याउने तथा त्यसले क्रान्तिको समेत बदनाम हुने उनको भनाइ छ।
यो देशको सम्वृद्धिका लागि राजा महेन्द्र, बीपी, विरेन्द्र र कांग्रेसकोसमेत महत्वपूर्ण भूमिका रहेको उनले बताए। राजा महेन्द्रले १९ सालमै सम्वृद्धिका लागि संकलन गरेका सूचना आजसम्म कसैले गर्न नसकेको उनले बताए। ‘राजा महेन्द्रले त्यतिबेला भूमिव्यवस्थापन गर्दा सबै कांग्रेस हुन्छ भन्ने ठानेर गरेनन् यदी उनले त्यो गरेको भए उनी एउटा बडो क्रान्तिकारी राजा हुने थिए,’ भुसालले भने।
वामपन्थी आन्दोलनको रापबाट आएकाले कसरी कमाउन सकिन्छ भन्ने कुरामा ध्यान दिँदा मुलुकमा आशातित विकास हुन नसकेको नेता भुसालको तर्क छ।
उनले समाजवादको नाममा पूँजिवादको बाटोमा नेताहरू अग्रसर हुँदै गएको प्रति चिन्ता व्यक्त गरे। ‘चुनाव लड्दा कसको योगदान छ भन्नेमा होइन, कसले पैसा खर्च गर्न सक्छ भन्ने कुरामा नेतृत्वले ध्यान दिन्छ भने त्यो मार्गबाट कसरी समाजवाद आउँछ,’ उनले प्रतिप्रश्न गरे।
नेता कार्यकर्ता आफ्नो दायित्व भन्दा पनि नेताको चाकडी तर्फ बढी केन्द्रीत हुँदै गएको हुँदा त्यो स्थिति सुधार नगरे कम्यूनिष्ट भन्ने आधार समाप्त हुने उनको कथन थियो।
‘जुन मुलुकमा एउटा प्राध्यापक ३ घन्टासम्म नेतालाई भेट्न लाइनमा लाग्छ त्यस्तो देशको विकास कसरी हुन्छ?’, उनले प्रश्न गरे। उनले सहिदहरूका कारणले अहिलेको परिवर्तन सम्भव भएको हुँदा सहिदलाई भजाउनेहरू अपराधी भएको धारणा राखे। उनले नेतादेखि समाज परिवर्तन गर्न नयाँ प्रोसेसिङको आवश्यकता परेको बताए।
समृद्धिको पहिलो सर्तका रूपमा रहेको अर्थव्यवस्थालाई सृदृढ गर्नु आजको प्रमुख दायित्व भएको भन्दै उनले आयात र निर्यातमा रहेको असन्तुलन घटाउन राज्यले उत्पादन मुलक काममा जोड दिनुपर्ने बताए।
देश विदेशमा युवाले बगाएको खुन पसिनाबाट आउने सम्वृद्धिले चलेको हुँदा त्यो नभए देशको अर्थतन्त्र कोमामा पुग्ने तर्क गरे। ‘प्रधानमन्त्री अस्ति बिरामी हुनुभयो त्यो उनकै पैंशाले उपचार गर्नुभयो, म सांसद उनीहरूकै पसिनाले तलब भर्छु भने देश कसरी उँभो लाग्छ’, भुसालले भने ।
५ र ४ नं. का मुख्य मन्त्रीलाई इञ्चार्ज बनाउनु गलत भयो: चौधरी
कार्यक्रमलाई सम्बोधन नेकपाका केन्द्रीय सदस्य तथा दाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले दोहोरो जिम्मेवारी दिन नहुने पार्टीले गरेको निर्णय विपरित आफ्ना निकटका नेतालाई ल्याउन ५ नं. र ४ नं. का मुख्य मन्त्रीलाई प्रदेश इञ्चार्ज गराउनुले पार्टी एकतामा भाँड भैलो निम्तिएको बताए। ‘दाङको अध्यक्ष टिकाराम खड्का हुनुपर्छ विधि र पद्धती मिचेर शंकर पोखरेलले आफ्ना ज्वाँईलाई अध्यक्ष बनाउन नाम सिफारिस गर्नु सरासर अत्याचार हो,’ चौधरीले भने।
उनले आफ्ना आफन्तलाई पद्धती मिचेर पार्टी एकता हुनै नसक्ने बताए।
‘मुख्यमन्त्री जस्तो पद पाइसकेका शंकर पोख्रेल र पृथ्वीसुब्बा गुरूङलाई प्रदेशको जिम्मेवारी दिन नहुने थियो,’ पार्टी नीति र सिद्धान्तभन्दा पनि चाकडीबाजबाट पार्टी सञ्चालन गर्न खोजिएको भन्दै उनले रोष प्रकट गरेका थिए। चौधरीले नेताको नाम पकेटबाट निकाल्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए।
नेकपाका नेता शोभाराम बस्नेतले इमानको राजनीति गर्नेलाई सधै पछाडि पारिएको र धनको राजनीति गर्नेहरुलाई सधै स्थान दिइएको गुनासो गरेका थिए। ‘जनताको संघर्षबाट आएको पार्टी नवधनाढ्यहरुको पार्टीमा रुपान्तरण हुँदैछ यसलाई जोगाउनु आवश्यक छ,’ बस्नेतले भने।
नेकपा दाङका संस्थापक नेता बस्नेतले एउटै सन्दर्भमा जिल्लामा दुई वटा कार्यक्रम हुनु लज्जाजनक भएको बताएका थिए।