पाँच नम्बर प्रदेशका सांसदहरू तीन महिनादेखि त्यतिकै भौतारिँदै समय व्यतित गर्दै आएका छन्। साउन २४ गते यता संसद बस्न सकेको छैन। त्यसैले प्रदेश सांसदहरू विजनेसविहीन भएका हुन्। तत्कालीन नेकपा एमालेको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं. २ को १ बाट निर्वाचित अमरबहादुर डाँगीले साउन २४ गतेदेखि आफू बेरोजगार भएर बस्दा दिक्क लागेको बताए।
‘साउन २४ गतेदेखि हामी बेरोजगार छौं, घरमै माखा धपाएर बसेका छौं,’ डाँगीले खिन्न हुँदै भने।
सरकार गठन भएको दस महिना बितिसक्दा पनि अन्तर समन्वय समितिको बैठक बस्न नसकेको, वित्तीय आयोग बन्न नसकेको हुँदा आफ्नो क्षेत्रमा कुनै काम गर्न नसकेको प्रदेश सांसद डाँगीले बताए। ‘विकासे योजनाहरूको अहिलेसम्म स्टिमेट भएको छैन,अब समयमै काम हुन्छ कि हुँदैन भन्ने शंका छ,’– डाँगीले थपे, ‘फेरि असारे भेलमै बजेट बगाउने हो भने मलाई काम गर्नु छैन भनेर मुख्यमन्त्रीसँग फोनमा पड्केको छु।’
नेपाली कांग्रेसको तर्फबाट पाल्पाबाट निर्वाचित वीरबहादुर राणाले कुनै काम नहुँदा संघ संस्थाका कार्यक्रमहरूमा गएर समय व्यतित गर्ने गरेको बताए।
‘कुनै काम नहुँदा ट्वाइलेटदेखि जुत्ताको पसल उद्घाटन गर्ने काममा जानु परेको छ। प्रदेश सरकारले हामीलाई कुनै काम दिन सकेन,’ राणाले भने।
प्रदेशलाई अधिकार सम्पन्न गराउन नखोज्ने संघीय सरकारको मानसिकताले गर्दा प्रदेश सरकारको औचित्यमाथि नै प्रश्न उठ्न थालेको राणाले बताए।
‘हामीलाई मतदाता समक्ष जान अप्ठेरो पर्न लागिसक्यो, खै तपाईंहरूले काम गरेको भन्ने प्रश्न उठाउँछन्, लुकेर बस्नुपर्ने दिन आउन थालिसक्यो,’ कांग्रेस पाल्पाको सभापति समेत रहेका राणाले भने ।
काम नपाउँदा धेरै सांसदहरू त्यतिकै भौंतारिँदै समय व्यतित गरेका छन्। धेरैजसोले यो बीचमा काठमाडौंमा आवातजावात गर्ने गरेको बताए । कतिपय भने विदेशमा डुल्ने गरेका छन्।
कांग्रेसको तर्फबाट दाङबाट निर्वाचित एक्ला नेता तथा प्रदेश सांसद डिल्लीबहादुर चौधरीले आइतबार बंगलादेश जानको लागि विमानस्थलमा रहेको प्रतिक्रिया दिए। तीन महिनाको अवधिमा उनी दोस्रो पटक बंगलादेश भ्रमण जाँदै थिए।
लेखा समितिका सभापति समेत रहेका चौधरी यो अवधिमा श्रीलंका, नेदरल्याण्ड, र भारतमा तीन पटक भ्रमण गर्न गएको जानकारी दिए । ‘कुनै काम छैन, घरमा बस्यो कार्यकर्ता घेर्न आउँछन् अनि विदेश नगएर के गर्ने’ चौधरीले भने।
तीन महिनादेखि सदन अवरूद्ध हुँदा गाउँघरमा जनतासँग भेटघाट गर्नेदेखि उनीहरूले निम्त्याउने सानातिना कार्यक्रमहरूमा सहभागी हुने गरेको उनले बताए।
‘कुनै काम नै नगरी तलब मात्रै बुझ्दा मन चिमोट्ने गर्छ, अरु त अरु परिवारकै सदस्यले पनि त्यो प्रश्न गर्दा लाज लाग्ने गर्छ’, अर्घाखाँचीबाट प्रतिनिधित्व गर्ने एक सदस्यले भने।
कपिलवस्तुबाट प्रतिनिधित्व गर्ने अर्की एक जना महिला सदस्यले केन्द्रले प्रदेश सरकारलाई अधिकार दिन आनाकानी गर्दा प्रदेशकै औचित्य तथा संघीयतामाथि प्रश्न उठ्न थालेको बताइन्।
‘हामी हातगोडा बाँधेर लड्न पठाएका सेनाजस्तै बनाइएका छौं,’ उनले थपिन् ‘जनतालाई घर नजिकमा सेवा दिन संघीयता चाहिएको हो, अब पनि केन्द्रकै मुख ताक्नुपर्ने हो भने यसको के अर्थ रह्यो?’
उनले पनि लामो समयदेखि सदन बस्न नसक्दा बेकामे भएको बताइन्। जतिसक्दो छिटो सदन खोल्नुपर्ने उनको तर्क छ ।
५ नं. प्रदेशमा ८७ जनप्रतिनिधि निर्वाचित भएका हुन्।