नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला संग्रौलाले निर्मला पन्तको बलात्कार र हत्यामा सरकारमा बागडोर सम्हालिरहेका व्यक्तिहरूकै मान्छेहरू सामेल रहेको आरोप लगाएकी छन्।
मंगलबार बिहान सल्यानमा आयोजित पत्रकार सम्मेलनमा नेतृ संग्रौलाले प्रधानमन्त्री र गृहमन्त्रीका मान्छेहरूको त्यसमा संलग्नता रहेको दाबी गरेकी हुन्।
‘कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यामा प्रधानमन्त्री र गृहमन्त्री ‘बादल’ कै मान्छेहरूको हात छ,’ नेतृ संग्रौलाले भनिन्, ‘त्यसैले गर्दा सरकार अपराध ढाकछोप गर्न लागि परेका छन्।’
नेपाल महिला संघकी पूर्वअध्यक्ष समेत रहेकी संग्रौलाले त्यही भएर निर्मला पन्तको बलात्कार र हत्यारालाई सरकारले संरक्षण दिँदै आएको दोषारोपन गरिन्।
‘चार महिना बितिसक्दा समेत किन बलात्कारी र हत्यारा पत्ता लाग्न सक्दैनन्,’नेतृ संग्रौलाले भनिन्,‘प्रहरीले प्रमाण नष्ट गर्न लगाउने र अपराधीलाई चोख्याउने काममा सरकारको हात छ।’
उनले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने उनको माग थियो।
‘जबसम्म गृहमन्त्री पदमा रहनेछन् तबसम्म बलात्कारी र हत्यारा पत्ता लाग्ने सम्भावन छैन,’ नेतृ संग्रौलाले भनिन्, ‘ त्यसैले निष्पक्ष छानविनको लागि गृहमन्त्रीले राजीनामा दिनुपर्छ।’
नेतृ संग्रौलाले गृहमन्त्री थापा पीडितलाई न्याय दिने भन्दा पनि अपराधी चोख्याउने काममा लागेको आरोप लगाइन्।
कांग्रेस नेतृ संग्रौलाले सरकार अधिनायकवादतर्फ उन्मुख रहेको दाबी गरिन्।
निर्मला पन्तको न्यायको लागि सडकमा पोस्टर टाँस्दा जबरजस्ती पोस्टर च्यात्ने र धरपकड गर्ने कार्यमा सरकार लाग्नुले त्यसको पुष्टि हुने उनको कथन थियो।
‘जनतालाई न्याय दिन नसक्ने, तर आफ्नो पोस्टर टाँसेर नयाँ युगको सुरूआत भएको घोषणा गर्ने सरकारका गतिविधि विरोधाभासपूर्ण छ,’ संग्रौलाले भनिन्।