पाँच नम्बर प्रदेश सरकारले दाङको घोराही उपमहानगरपालिका अन्तरगतका दुइटा वडालाई आपसमा गाभ्न मागसहित केन्द्रमा सिफारिस गरेको छ।
मंगलबारको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले स्थानीयको माग बमोजिम घोराहीका वडा नं. ८ र ९ लाई गाभिदिनका लागि संघीय सरकारलाई सिफारिस गर्ने निर्णय पारित गरेको प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।
गत असारमा भएको घोराही उपमहानगरपालिकाको नगरसभाले प्रदेश सरकार समक्ष उक्त माग गरेको थियो ।
घोराही वडा नं. ८ ढिकपुरवासीले वडा नं. ९ मा गाभिन चाहेको हस्ताक्षरसहितको निवेदन वडा हुँदै उपमहानगरपालिकामा बुझाएको हुँदा त्यही आधारमा उक्त पत्र प्रदेश सरकारलाई पठाएको मेयर नरुलाल चौधरीले सेतोपाटीलाई बताए।
वडा नं. ९ को वडा कार्यालय पनि ८ नं. अन्तरगत नै पर्ने हुँदा स्थानीयवासीका साथै दुबै वडाका अध्यक्षहरूको सहमति अनुरुप उक्त निवेदन आएको घोराहीका मेयर चौधरीले बताए। त्यही आधारमा नगर कार्यपालिका बैठकले प्रदेश सरकारलाई उक्त पत्र पठाइएको मेयर चौधरीले जानकारी दिए ।
घोराही उपमहानगर वडा नं. ९ को दक्षिणतर्फ चयनपुर, उत्तरमा बकुलाई, पश्चिममा अस्परी र पूर्वमा लरैना सोता पर्छ भने मध्य भागमा वडा नम्बर ८ को ढिकपुर अवस्थित रहेको छ । झन्डै दुईसय घरधुरीको बसोबास रहेको ढिकपुर गाउँका स्थानीयलाई वडा नं. ८ को कार्यालयबाट सेवा लिन जानुभन्दा वडा नं. ९ को कार्यालयबाट सेवा लिनु सजिलो हुने गर्दछ ।